बेलायतमा 'वर्क परमिट' को नाममा नेपालीबाटै ठगिने क्रम बढ्यो, सचेत रहन दूतावासको आग्रह
लण्डनस्थित नेपाली दूतावासले सार्वजनिक गर्यो हटलाइन नम्बर
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
732
Shares
काठमाडौँ । बेलायतमा कामका लागि अनुमति (वर्क परमिट) दिलाइदिने बहानामा नेपालीहरू ठगीमा पर्ने क्रम बढेपछि लण्डनस्थित नेपाली दूतावासले गम्भीर चासो व्यक्त गर्दै सचेत रहन आग्रह गरेको छ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक (स्पोन्सर) खोजिदिने प्रलोभनमा पारेर ठूलो रकम असुल गर्ने गिरोह सक्रिय रहेको र यसबाट बच्न सम्पूर्ण नेपाली समुदायलाई सजग गराएको हो। ठगीमा परेको गुनासो गर्नेहरूमा नेपालबाट बेलायत आउन चाहनेहरूको सङ्ख्या धेरै देखिएको छ भने बेलायतमै रहेर कामको खोजीमा रहेका नेपालीसमेत ठगीको चपेटामा परिरहेको दूतावासले जनाएको छ।
विज्ञप्तिअनुसार ठगी गर्ने कार्यमा कतिपय नेपाली मूलका व्यक्तिहरू नै संलग्न रहेको बुझिएको छ भने कतिपय अवस्थामा चिनेजानेकै नेपालीहरूमार्फत तेस्रो मुलुकका व्यक्तिहरूसँग सम्पर्कमा पुगी ठगीमा परेका गुनासोहरू पनि प्राप्त भएका छन्।
यस्ता आपराधिक क्रियाकलापहरू नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने भएकाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरूका साथै बेलायतको स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न दूतावासले सुझाव दिएको छ।
बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितहरूको न्यायका लागि दूतावासले आवश्यक सहजीकरण गर्ने बताएका छन्। उनले कुनै पनि प्रलोभनमा परेर मोटो रकम नबुझाउन र कानुनी प्रक्रियाबारे स्पष्ट भएर मात्र अघि बढ्न अपिल गरेका छन्। समस्यामा परेका वा ठगीको आशङ्का लागेका नेपालीहरूलाई दूतावासको आधिकारिक इमेल वा सम्पर्क नम्बर +४४–७४०४९३९२७४ मा सिधै सम्पर्क गरी जानकारी लिन समेत दूतावासले अनुरोध गरेको छ।