अहिले मुलुकमा एउटा अनौठो लहर चलेको छ— “देश गरिब र अविकसित भो।” सामाजिक सञ्जालदेखि चिया पसलसम्म एउटै अलाप सुनिन्छ, "देश खत्तम भयो, केही भएन।" के वास्तविकता त्यही हो त ? के हामीले बितेका दुई-अढाई दशकमा केही पनि हासिल गरेनौँ ?
पछाडि फर्किएर हेरौँ, अहिलेभन्दा २५ वर्ष पहिले हाम्रो गाउँमा मोटर बाटा थिएनन्, खच्चड पनि मुस्किलले पुग्थे। आमाहरू दिनभरि हिँडेर नुन, चिनी र तेल किन्न बजार झर्नुहुन्थ्यो। गाउँमा बिजुलीको नामनिसान थिएन । हामीले औषधीको रित्तो सिसीमा मट्टितेल भरेर बनाएको 'टुकी' को उज्यालोमा अक्षर चिनेका हौँ। २०६२ सालमा एसएलसी दिने बेलासम्म पनि हाम्रो सारथी त्यही धुवाँ फाल्ने टुकी नै थियो।
आज समय बदलिएको छ। गाउँमा बाटो पुग्यो, बिजुली पुग्यो। हिजोको त्यो सानो स्कुल आज पक्की भवन सहितको क्याम्पस भएको छ। एउटा सामान्य आयुर्वेदिक औषधालय भएको ठाउँमा आज अस्पताल ठडिएको छ। खरका छाना भएका कच्ची घरहरू पक्की ढलानमा परिणत भएका छन्। हिजो खोला-खाल्सामा शौच गर्न जाने हामी, आज घरभित्रै 'अट्याच बाथरुम' को सुबिधा भोगिरहेका छौं। अहिले तिनै बा-आमा ५५ इन्चको स्मार्ट टिभी हेर्दै हातमा आइफोन बोकेर विदेशमा रहेका नाति-नातिनीसँग 'फेसटाइम' मा कुरा गर्छन्।
मेरो गाउँ पर्वत जिल्लाको सिमानामा पर्छ। पर्वतको उदाहरण हेरौं। बहुदल आउनुअघि त्यहाँ कच्ची बाटो समेत थिएन। हामी सानो हुँदा गाउँका शिक्षकहरू 'दुर्गम भत्ता' पाइन्छ भनेर पर्वतमा जागिर खान मरिहत्ते गरेको सम्झना छ। तर आज पर्वतका करिब सबै वडामा पक्की बाटो पुगेको छ, घर-घरमा बिजुली छ, स्कूल र कलेजहरू छन् ।
हिजोको 'दुर्गम' आज नमुना विकासको केन्द्र बनेको छ। गणतन्त्रपछि सबैभन्दा धेरै विकास भएको जिल्ला पर्वत हो। १५ वर्षको छोटो अवधिमा हुने विकासको गति आखिर कति हुन्छ? तर जनता अझै गुनासो गर्दै केही नेताको सस्तो 'स्टन्ट' को पछि कुदिरहेका छन्।
निश्चय नै, विकास र समयको यो यात्रा सहज थिएन। माओवादीको दश वर्षे द्वन्द्वले देशको संरचना सखाप पार्यो। गणतन्त्रपछिको राजनीतिक अस्थिरताले सोचेजस्तो विकास हुन दिएन। विनाशकारी भूकम्पले देशलाई थिलथिलो बनायो। हामीले जानेदेखि अहिलेसम्म देशमा एउटै सरकारले ५ वर्षको कार्यकाल पुरा गर्न पाएको छैन। नेताहरू लोभी-पापी भए, भ्रष्टाचारले सीमा नाघ्यो। यी सबै सत्य हुन्। तर, भ्रष्टाचार भयो भन्दैमा त्यो भ्रष्टाचार हटाउने थलो सिंहदरबार, संसद् भवन र न्याय दिने सर्वोच्च अदालत नै जलाउनु पर्ने त थिएन नि ! हामी संस्था सुधार्ने भन्दा पनि संरचना नै भत्काउने उग्र सोचमा बढी केन्द्रित भयौँ ।
नेपालमा भौतिक विकास नभएको होइन, यदि विकास नभएको हुन्थ्यो भने, पूर्वदेखि पश्चिमसम्म प्रधानमन्त्रीका उम्मेदवारहरू ९ करोडको चिल्लो गाडी चढेर भोट माग्न कसरी गाउँ-गाउँ पुग्न सक्थे ? बहुदल आउनुपूर्व ३० प्रतिशतको हाराहारीमा रहेको साक्षरता दर अहिले करिब ८० प्रतिशत पुग्नु, मानिसको औसत आयु बढ्नु, शिशु र मातृ मृत्युदरमा उल्लेख्य गिरावट आउनु के विकास होइनन् ? बरु, हामीले विकासलाई गर्वका साथ स्वीकार्न सक्ने गरी हाम्रो दिमाग अझै विकसित भइसकेको छैन ।
भर्खर भर्खर विकासमा बामे सर्दै गरेको देशलाई १०० वर्ष पहिले विकास भएको अमेरिकासँग तुलना गरेर हामी देशलाई धिक्कार्छौं। हातमा महँगो मोबाइल बोके पनि धेरैको नशा-नशामा सम्पन्नता होइन, दरिद्रता बगिरहेको छ। सुखद समाचारभन्दा दुःखद समाचारमा रमाउने हाम्रो वंशाणुगत गुण जस्तै बनेको छ। चन्द्रागिरि केबलकारमा समस्या आउँदा खुसी हुने र कतै राम्रो टावर ठडिँदा दुःखी हुने मानसिकताले हामीलाई गाँजेको छ।
हिजोआज एउटा गलत भाष्य बनाइएको छ– "नेपालमा बस्ने स्थिति नै छैन।" हो, मान्छेहरू विदेश गएका छन्, तर धेरैजसो बढी पैसाको लोभ र रहरले गएका छन्। नेपालमा ३० हजारको जागिर खाइरहेको मान्छेले कतारमा ५० हजार पाउने भयो भने ऊ अवसरको खोजीमा उड्छ। यसलाई देश बिग्रिएको भन्न मिल्दैन।
देशमा अवसरै अवसर छन्। विडम्बना के छ भने जसले यहाँ सम्भावना र अवसर देखाउँछ, हामी उसैलाई गाली गर्छौं । जसले "केही छैन, यहाँ खत्तम छ" भनेर नकारात्मकता फैलाउँछ र भोटको खेती गर्छ, उसैलाई हामी 'वाह-वाह' गर्छौं। हामी आफूले गर्नुपर्ने खास काम बाहेक अरू सबै कुरामा जान्ने छौँ । हाम्रो मानसिकता कस्तो छ भने, भीडमा हिँड्दा आफू पछि फर्किँदा कसैको खुट्टामा कुल्चियो भने पनि उल्टै उसैलाई गाली गर्छौं ।
देश सुधारिन सबैभन्दा पहिला हामी आफैँ सुधारिनु पर्छ। विकास भनेको बाटो र पुल मात्र होइन, हाम्रो सोचमा आउने परिवर्तन पनि हो। हिजो खल्तीमा दुई सय रुपैयाँ नहुनेहरू आज क्यूआर कोडमा लाखौँ बोकेर हिँड्छन्, तर सोच अझै त्यही 'टुकी युग' को अँध्यारोमा छ। अब गाली होइन, भएको विकासको स्वामित्व लिने र बाँकी काममा सहकार्य गर्ने बेला आएको छ। देश बिग्रिएको छैन, हामीले हेर्ने नजरमात्र बिग्रिएको हो। (लेखक विनोद सफ्टअप कम्पनीका संस्थापक तथा सीईओ हुन्)