अलबिदा, लगनशील, बौद्धिक तथा आफ्नै मौलिक स्वभावका धनी आईडीएसका पूर्व कार्यकारी निर्देशक तथा पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डे। तपाईंको आत्माले बैकुण्ठवास प्राप्त गरोस् । शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।
वि.सं. २०३० को दशकमा निजामती सेवाभित्र आकर्षक र प्रतिभाशाली युवा सचिवका रूपमा परिचित डा. देवेन्द्रराज पाण्डे जनमत संग्रहको समयमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग वैचारिक टक्कर लिएर सरकारी सेवा त्याग्ने साहसी प्रशासकका रूपमा स्थापित भएका थिए । त्यसपछि स्व. कुलशेखर शर्मा, डा. भेषबहादुर थापा र डा. प्रकाशचन्द्र लोहनीले मिलेर स्वदेशमै उच्चस्तरीय परामर्शदातृ सेवा विकास गर्ने उद्देश्यले स्थापना गरिएको आईडीएस (हालको आईआईडीएसको पूर्वरूप) का संस्थापक कार्यकारी निर्देशक भए । स्मरण रहोस् कि के कारणले हो डा. प्रकाशचन्द्र लोहनी आईडीएसबाट अलग भए ।
बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि २०४७ सालमा गठित कृष्णप्रसाद भट्टराई मन्त्रिपरिषदमा डा. पाण्डे अर्थमन्त्री नियुक्त भए । विभिन्न प्रकाशनमार्फत निर्भीक र आफ्नै मौलिक शैलीका बौद्धिक व्यक्तित्वका रूपमा परिचित डा. पाण्डेले विदेशी सहायताले मात्र देश बन्दैन भन्ने गहकिलो सामग्री प्रकाशित गरे। अंग्रेजी भाषामाथिको बलियो पकडका आधारमा वैदेशिक सहायताका विषयमा प्रभावशाली लेखन गरे।
स्वावलम्बन कार्यक्रमको अवधारणा विकास गरी स्वीस सहायतामा पाल्पाको झडेवामा कार्यक्रम सञ्चालन गरे। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका संस्थापक तथा बैंकिङ क्षेत्रमा स्वावलम्बन अभियानका प्रवर्तकमध्येका डा. पाण्डे सामाजिक अभियन्ता पनि बने। आज उनी सधैँका लागि हामीबाट बिदा भएका छन् ।
वि.सं. २०१८–२०१९ मा आई.ए. प्रथम वर्षको विद्यार्थी हुँदा कहिलेकहीँ सिंहदरबारको दोस्रो चोकस्थित शिक्षा मन्त्रालयमा बाबाका साथी भेट्न जाँदा राष्ट्रिय योजना परिषदमा कार्यरत युवा र फुर्तिला अधिकृत देवेन्द्रराज पाण्डेलाई पहिलो पटक देखेको थिएँ । पछि वि.सं. २०२० को दशकमा भारतमा विद्यावारिधि अध्ययन गर्न जाने मेरो अभिलाषा पूरा गरिदिने अर्थ मन्त्रालयमा वैदेशिक कार्यक्रम हेर्ने प्रभावशाली अधिकृतका रूपमा उनलाई चिनेँ ।
२०४० को दशकमा तत्कालीन पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको योजना महाशाखाको प्रमुख हुँदा उनले पाल्पामा सञ्चालन गरेको स्वावलम्बन कार्यक्रमबारे बुझ्ने र केही सहयोग पुर्याउने अवसर पाएँ । त्यसबेला उनी आईडीएसका कार्यकारी निर्देशक थिए । उनको संस्थाले सञ्चालन गरेको एक अध्ययन कार्यक्रममा संलग्न पूर्वसचिव दीर्घराज कोइरालालाई मन्त्रालयको तर्फबाट सहयोग पुर्याउने मौका पनि पाएको थिएँ ।
त्यसरी शुरू भएको चिनजानको प्रतिफलस्वरूप उनी अर्थमन्त्री भएपछि प्रस्तुत भएको बजेटमा स्वावलम्बन कार्यक्रमका लागि एक करोड रुपैयाँ विनियोजन गरिएपछि उनले मलाई कार्यरत मन्त्रालय, अर्थात् पञ्चायत तथा स्थानीय विकास मन्त्रालयमा फोन गरी स्वावलम्बन कार्यक्रम सञ्चालनका लागि कार्यविधिसहित कोषसम्बन्धी अवधारणापत्र तयार गरिदिन आग्रह गरे ।
सोही आग्रहअनुसार म, डा. बालगोपाल वैद्य र नेपाल राष्ट्र बैंकबाट खटिएका वरिष्ठ अधिकृत रामबाबु पन्तले कुनै सुविधा नलिई ‘स्वावलम्बन कोष’ सम्बन्धी प्रस्ताव तयार गरी अर्थमन्त्री डा. पाण्डेलाई बुझायौँ । हाम्रो प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकमार्फत स्वावलम्बन कोष सञ्चालन गर्यो ।
त्यस कोषको सञ्चालक समितिको सदस्य भएर मैले केही वर्ष काम गर्ने अवसर पाएँ । अहिले नेपाल राष्ट्र बैंकमा त्यस कोषको अवस्था के छ, थाहा छैन । पछि डा. पाण्डेले गैरसरकारी क्षेत्रमा ‘स्वावलम्बन केन्द्र’ स्थापना गरी यस क्षेत्रमा काम गरेको पनि थाहा पाएँ ।
स्मरण रहोस्, उनी अर्थमन्त्रीमा नियुक्त भएपछि आईडीएस पूर्णरूपमा नाफा नकमाउने अनुसन्धान केन्द्रमा रूपान्तरित भई नयाँ नाम ‘सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस)’ का रूपमा अघि बढ्यो र आजसम्म सक्रिय छ । मन्त्री पदपछि उनी केन्द्रमा फर्केर आएनन्।
स्व. डा. मीना आचार्य केन्द्र प्रमुख हुँदा केन्द्रका प्रमुख वा अन्य कोही सक्रिय राजनीतिमा लागेपछि पद छोड्नु पर्ने परिपाटी शुरू गरिन् । त्यसै क्रममा डा. आचार्यले केन्द्र प्रमुख पद छोडेपछि कार्यकारी निर्देशक पदका लागि सार्वजनिक आवेदन आह्वान भएपछि निवेदक मध्येबाट छनोट भई यस पंक्तिकारले छ वर्ष कार्यकारी निर्देशक र थप पाँच–छ वर्ष वरिष्ठ अनुसन्धानकर्ताका रूपमा काम गर्ने अवसर पाएको थियो ।
हाम्रै कार्यकालमा केन्द्रलाई डा.पाण्डेले कमलपोखरीबाट बानेश्वरमा सारेको स्थानबाट हाल रहेको मण्डिखाटारस्थित आफ्नै भवनमा सारिएको हो । डा. पाण्डे र डा. मीना आचार्यजस्ता हस्तीले प्रतिष्ठित अनुसन्धान केन्द्रका रूपमा विकसित गरेको आईआईडीएसको गरिमा संस्थापक स्व. कुलशेखर शर्मा, डा. भेषबहादुर थापा र डा. प्रकाशचन्द्र लोहनीले कल्पना गरेअनुरूप जोगाउने प्रयास गरियो । हाल कार्यरत साथीहरूले पनि त्यस परम्परालाई निरन्तरता दिइरहेका होलान् भन्ने विश्वास छ ।
पूर्व अर्थमन्त्री, आईडीएसका पूर्व कार्यकारी निर्देशक, स्वावलम्बन केन्द्र तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका संस्थापक डा. पाण्डेसँगको मेरो अन्तिम पेशागत सम्बन्ध ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सञ्चालन गरेको ‘सदाचार पद्धति विकास’ तथा त्यसलाई भक्तपुर नगरपालिकामा लागू गर्ने क्रममा परामर्श सेवा प्रदान गर्दा कायम भएको थियो ।
वि.सं. २०५५ मा निजामती सेवाबाट बाहिरिएपछि मैले, रज्जु मल्ल ढकाल र कुमार केशर विष्टसँग मिलेर उक्त कार्य सम्पन्न गरेको थिएँ ।
त्यसपछि संयुक्त राज्य अमेरिकाको इण्डियाना विश्वविद्यालयमा आगन्तुक विज्ञका रूपमा जानुअघि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सदस्यताका लागि आवेदन दिएको थिएँ । पछि ‘विदेश जान लागेकालाई के सदस्यता दिने’ भने डा. पाण्डेले भने रे भन्ने कुरा सुनाए, तर त्यो कुरा लगाइएको पनि हुन सक्छ । वास्तवमा संस्थाको सदस्यता संस्थाको निर्णयबाट प्रदान गरिने रहेछ भन्ने थाहा पाएको भए आवेदन नै दिने थिइन ।
निजामती सेवामा रहँदा डा. पाण्डे नारायणहिटी राजदरबार निजी सचिवालय अन्तर्गतको जाँचबुझ केन्द्रमा विशेष अधिकृत भएर लोक सेवा आयोग, राष्ट्रिय योजना आयोग तथा जिल्ला प्रशासन सम्बन्धी विषयमा काम गरेको थाहा थियो । त्यसैले अध्ययन–अनुसन्धानमा संलग्न हुँदा उनले जाँचबुझ केन्द्रमा रहँदा सम्पादन गरेका कार्यहरूमध्ये ‘नयाँ जिल्ला प्रशासन योजना, २०३२’ लगायतका विषयमा उनीसँग टेलिफोनमा छलफल गरेको सम्झना छ ।
स्व. कुलशेखर शर्माको सल्लाह र आईआईडीएसका तत्कालीन कार्यकारी अध्यक्ष डा. मोहनमान सैंजूको सहयोगमा पूर्व प्रशासकहरूको सम्झना संकलन गर्ने क्रममा डा. पाण्डेसँग टेलिफोनमा कुरा गर्दा “म आफैँ लेख्छु” भनेको पनि अहिले सम्झना आउँछ।
अन्त्यमा, समकालीन निजामती कर्मचारीहरू माझ जुझारु तथा खरो प्रशासकका रूपमा परिचित पूर्व अर्थसचिव डा. देवेन्द्रराज पाण्डे निजामती सेवापछि पनि आफ्नै मौलिक शैलीका बौद्धिक व्यक्तित्व र अथक सामाजिक अभियन्ताका रूपमा सक्रिय रहे ।
त्यही पहिचानका साथ अस्ताए । तथापि डा. पाण्डेको आफ्नै खालको स्वभावको कारणबाट उनको सबल पक्षको चर्चा गर्दा पनि दुर्लभ पक्षका रुपमा डा. पाण्डेलाई काम परुन्जेल सम्झने र पछि बिर्सने खालका ब्यक्ति भनेर कसैकसैले भनेको सुनेको छु । सबै ३२ लक्षणले युक्त ब्यक्ति नहुने हुनाले डा. पाण्डेप्रति पनि कसैको यस्तो धारणा हुनु अस्वभाविक होइन ।
नश्वर संसारमा जन्म लिएपछि एक दिन सबैले बिदा लिनुपर्छ । डा. देवेन्द्रराज पाण्डे पनि आज हामीबाट बिदा भएका छन् । उनको आत्माको शान्तिको कामना गर्दछु ।