काठमाडौँ । चारदिने औपचारिक भ्रमणका क्रममा जापानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका अवसरहरू खोज्न आह्वान गरेका छन्।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजित अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग गर्न सरकार कटिबद्ध रहेको विश्वास दिलाए। नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न इच्छुक रहेको बताउँदै उनले वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रपति पौडेलले नेपालमा लगानीका लागि स्थिर समष्टिगत आर्थिक वातावरण तयार पारिएको र नाफा फिर्ता लैजाने प्रक्रियालाई सहज बनाइएको उल्लेख गरे। गौतम बुद्धको दर्शन र नेपाल-जापानबीचको प्राचीन सांस्कृतिक सम्बन्धको चर्चा गर्दै उनले कृषि, जलस्रोत र पर्यटन जस्ता क्षेत्रमा निर्धक्कसँग लगानी गर्न आग्रह गरे। उनले भने, "नेपालमा लगानी गरे धन पनि हुन्छ, धर्म पनि हुन्छ।" दुई मुलुकबीचको सम्बन्ध सरकारी स्तरमा मात्र नभई जनस्तरमा पनि प्रगाढ हुँदै गएको भन्दै उनले नेपालको विकासमा जापानले पुर्याएको सहयोगको प्रशंसा गरे।
नेपाल यसै वर्षको अन्त्यसम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा रहेको उनले बताए। यस्तो महत्त्वाकाङ्क्षी लक्ष्य प्राप्तिका लागि ठूलो स्रोतसाधन र वैदेशिक लगानीको आवश्यकता पर्ने उनको भनाइ थियो। उनले नेपालले उत्पादन, जलविद्युत्, सूचना प्रविधि र खानी जस्ता लगभग सबै क्षेत्रलाई विदेशी लगानीका लागि खुला गरेको जानकारी दिए। लगानी बोर्डमार्फत ठूला लगानीकर्तालाई एकद्वार सेवा प्रदान गरिने र नेपाल दक्षिण एसियामै व्यावसायिक वातावरणका हिसाबले अनुकूल रहेको उनले दाबी गरे।
विश्वका दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेको नेपालको भौगोलिक अवस्थितिले लगानीकर्ताहरूलाई बृहत्तर फाइदा पुग्ने उनले विश्वास व्यक्त गरे। कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुति दिएका थिए। जापानी व्यापारिक समुदायका सदस्यहरूले नेपालमा लगानीका यति धेरै अवसर रहेको थाहा पाउँदा खुसी लागेको र यसले आगामी दिनमा लगानीको ढोका खोल्न मद्दत पुग्ने प्रतिक्रिया दिए।