नेताप्रतिको अन्ध अनुगमनले लोकतन्त्र कमजोर बन्यो: सीके लाल
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
934
Shares
काठमाडौं। राजनीतिक विश्लेषक सीके लालले नेपाली समाजमा नागरिक चेतनाको अभाव र नेताप्रतिको अन्ध अनुगमनका कारण देशमा लोकतन्त्र कमजोर बन्दै गएको बताएका छन्।
‘देश, मधेस र युवाको अवस्था’ विषयक विचार–विमर्श कार्यक्रममा बोल्दै उनले नेपालका हरेक राजनीतिक दलमा ‘मालिक–नोकर’ प्रवृत्ति हावी भएको टिप्पणी गरे। उनले नेपालमा नेतालाई ‘मालिक’ र कार्यकर्तालाई ‘नोकर’ जस्तै व्यवहारमा सीमित गरिनु चिन्ताको विषय भएको बताए।
लालले नेपाली समाजलाई नागरिक चेतनाका लागि आह्वान गर्दै भने,"हामीले सबैभन्दा पहिले नेताहरूसँग लड्न सिक्नुपर्छ। सत्ताले जहाँ भए पनि चाहे अमेरिकाको ट्रम्प होस् वा नेपालका शासक, प्रजा खोज्छ, नागरिक होइन। नागरिक बन्न त प्रश्न गर्न सक्नुपर्छ।"
उनले नेपालमा नागरिक बन्ने अवधारणा नै नयाँ भएकाले धेरै मानिसले यसको अर्थ बुझ्न नसकेको बताए। उनले युवाहरूमाझ प्रश्न गर्ने संस्कार हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै भने, "बच्चामा ‘यो किन?’ भन्ने बानी हुन्छ, तर उमेरसँगै त्यो हराउँछ। नागरिक बन्नको लागि त्यही प्रश्न गर्ने बानी फर्काउनुपर्छ।"
उनले नागरिक समाजलाई बलियो बनाउनका लागि युवाहरूले सत्ताप्रति निर्भीक भएर प्रश्न गर्नुपर्ने आवश्यकता औंल्याए।