काठमाडौं उपत्यकामा धुवाँ फाल्ने ३७ सवारीसाधन नियन्त्रणमा
वायु प्रदूषण र दुर्घटना जोखिम घटाउन ट्राफिक प्रहरी सक्रिय
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
908
Shares
काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फालेर वातावरण फोहर पार्ने र जाँचपास नभएका सवारीसाधनविरुद्धको अभियानलाई तीव्र पारेको छ। सोमबार उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङका क्रममा ट्राफिक प्रहरीले ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।
नियन्त्रणमा लिइएका सवारीसाधनहरूमा १६ वटा भाडाका बस, १४ पिकअप भ्यान, चार स्कुल बस, दुई व्यक्तिगत कार र एक भाडाको कार समावेश छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, नियन्त्रणमा लिइएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अवस्था ठीक नभएको कसुरमा कारबाही गरिनेछ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वायु प्रदूषण नियन्त्रण गर्न र सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न पछिल्ला दिनमा कडाइका साथ अनुगमन अभियान सञ्चालन गरिएको बताए। उनले अत्यधिक धुवाँले सर्वसाधारणको स्वास्थ्यमा असर गर्ने र मर्मत नभएका सवारीसाधनले दुर्घटनाको जोखिम बढाउने भएकाले सवारी चालक तथा मालिकलाई दुरुस्त अवस्थामा मात्रै सवारी चलाउन आग्रह गरेका छन्।
ट्राफिक प्रहरीले सवारी चालकलाई सवारीको प्राविधिक अवस्था समयसमयमा परीक्षण गर्न र जाँचपास अवधि समाप्त हुन नदिन आग्रह गरेको छ। नियन्त्रणमा लिइएका सवारीसाधनहरूलाई आवश्यक मर्मत कार्य सम्पन्न गरी तोकिएको जरिवाना तिरेपछि मात्रै कागजपत्र फिर्ता गरिने ट्राफिक प्रहरीले जनाएको छ।
वातावरणविद्हरूका अनुसार, उपत्यकामा वायु प्रदूषणका प्रमुख कारण नै अत्यधिक धुवाँ फाल्ने पुराना सवारीसाधनहरू हुन्, जसले खासगरी बालबालिका र दमका रोगीमा स्वास्थ्य समस्या बढाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी धुवाँ परीक्षणलाई अझ प्रभावकारी बनाउन मोबाइल इमिसन टेस्ट युनिट थप गर्ने तयारी गरेको र आगामी दिनमा पनि यस्ता चेकिङ अभियानलाई निरन्तरता दिइने जनाएको छ।