arrow

वायु प्रदूषणको स्तर चिन्ताजनक भएपछि प्रहरीको छ बुँदे विशेष 'अलर्ट', घरभित्रै बस्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
air-pollution-kathmandu-208.jpg

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले काठमाडौँ लगायत मुलुकका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको भन्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले आज एक सूचना जारी गर्दै वायु प्रदूषणका कारण स्वास्थ्यमा गम्भीर जोखिम बढ्न सक्ने भएकाले नागरिकलाई आफ्नो सुरक्षामा विशेष ध्यान दिन र उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्।

प्रहरीले नागरिकका लागि ६ बुँदे विशेष अनुरोध जारी गर्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र वायु प्रदूषणको स्तर उच्च भएको समयमा बाहिरी गतिविधिहरू नगर्न सुझाव दिएको छ। सवारीसाधनबाट हुने उत्सर्जन कम गर्नका लागि सकेसम्म समूहमा मिलेर यात्रा गर्न वा एकापसलाई ‘लिफ्ट’ दिएर कम सवारीसाधन प्रयोग गर्न प्रहरीले प्रोत्साहन गरेको छ। साथै, आफ्ना वरिपरि आगो लगाएर फोहोर नजलाउन समेत कडा अनुरोध गरिएको छ।

विशेष गरी बालबालिका, वृद्धवृद्धा र पहिलेदेखि नै श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरूलाई थप सावधानी अपनाउन भनिएको छ भने घर बाहिर निस्कँदा नियमित रूपमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ। प्रवक्ता काफ्लेका अनुसार श्वासप्रश्वासमा कुनै पनि प्रकारको समस्या देखिएमा ढिला नगरी तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क राख्न समेत अनुरोध गरिएको छ। मौसममा आएको बदलीसँगै बढेको यो प्रदूषणका बारेमा स्वास्थ्य मन्त्रालयले पनि यसअघि नै नागरिकलाई सचेत गराइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ