काठमाडौँको वायुको गुणस्तर सुधारोन्मुख श्रेणीमा, विश्वकै प्रदूषित सहरको २६औँ स्थानमा
२४७ बाट घटेर ७९ मा झर्यो एक्युआई
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
279
Shares
काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा उल्लेख्य सुधार आएको छ। सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण पछिल्लो समय भएको वर्षा र हावाहुरीसँगै क्रमशः घट्न थालेको हो।
एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार गत साता वायु गुणस्तर सूचकाङ्क बढेर २४७ सम्म पुगेको थियो, जुन स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए।
आज भने प्रदूषण घटेर एक्युआई ७९ पुगेको छ, जुन ‘मध्यम’ वा सुधारोन्मुख श्रेणीमा पर्दछ।
गत साता काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज भने २६औँ स्थानमा झरेको एक्युआईको तथ्याङ्कले देखाएको छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयसम्म वर्षा नहुँदा धुलो र धुवाँ वायुमण्डलमा थुप्रिने, वन डढेलो बढ्ने र छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले उपत्यकाको वायु गुणस्तरमा नकारात्मक असर पार्ने गरेको थियो।
पछिल्लो समय पर्याप्त वर्षासहित हुरी चलेकाले वायुमण्डल सफा भई प्रदूषण नियन्त्रणमा सहयोग पुगेको उनले बताए। प्रदूषण नियन्त्रणलाई दीर्घकालीन बनाउन सम्बन्धित निकायले दिगो तथा वातावरणमैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा समेत महानिर्देशक सुवेदीले जोड दिए।