वायु प्रदूषण घटाउन विश्व बैंकको सात अर्ब बढी ऋण अनुमोदन
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
680
Shares
काठमाडौँ । विश्व बैंकले नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण र वायुको गुणस्तर सुधारका लागि सात अर्ब सात करोड २० लाख रुपैयाँ (करिब ५३ मिलियन डलर) ऋण सहायता अनुमोदन गरेको छ। वाशिङ्टनडिसीस्थित विश्व बैंकको मुख्यालयले नेपालको वातावरणीय चुनौतीलाई सम्बोधन गर्न यो रकम स्वीकृत गरेको हो।
वायु प्रदूषणको उच्च जोखिममा रहेको काठमाडौँ उपत्यका र तराईका केही क्षेत्रलाई लक्षित गरी ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालन गर्न उक्त ऋण उपलब्ध गराइएको हो। यस परियोजनाको मुख्य लक्ष्य औद्योगिक र व्यावसायिक क्षेत्रबाट हुने उत्सर्जनलाई कम गर्नु रहेको छ।
बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यो परियोजना अन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूलाई धुँवारहित (प्रदूषणमुक्त) बनाउने योजना छ। यसले नेपालको दीर्घकालीन हरित विकास र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
यो महत्त्वाकाङ्क्षी परियोजना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभाग र वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागमार्फत संयुक्त रूपमा कार्यान्वयन गरिनेछ।