arrow

वायु प्रदूषण

देशभर वायु प्रदूषणको भयावह अवस्था: धनगढी र काठमाडौँमा जोखिम बढ्दो, सतर्क रहन सुझाव

आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको छैन सम्भावना, तापक्रम अझै बढ्ने सङ्केत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
kathmandu-pollution-82-11-25.jpg

काठमाडौँ । लामो समयदेखि वर्षा नभएका कारण देशभरको वायुमण्डलमा प्रदूषणको तह फेरि चिन्ताजनक बिन्दुमा पुगेको छ। केही समयअघि परेको वर्षाले सुधार ल्याएको हावाको गुणस्तर अचानक खस्केर अहिले ‘धेरै अस्वस्थ’ श्रेणीमा पुगेको हो। 

एयर क्वालिटी इन्डेक्स (एक्युआई) को तथ्याङ्कअनुसार मङ्गलबार ९२ को हाराहारीमा रहेको सूचकाङ्क बुधबार बिहानसम्म बढेर २४७ पुगेको छ । जसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। उपत्यका बाहिर सुदूरपश्चिमको धनगढीमा सबैभन्दा बढी २८८ एक्युआई मापन गरिएको छ भने वीरेन्द्रनगरमा २६०, भक्तपुरमा २२९ र पोखरामा १६६ रहेको छ। काठमाडौँ उपत्यकाभित्र पनि मध्य बानेश्वरमा २७२, बालाजुमा २६७ र गौशालामा २४५ सम्म प्रदूषणको तह पुगेको छ।

एक्युआई मापदण्डअनुसार शून्यदेखि ५० सम्मलाई ‘राम्रो’ मानिन्छ भने २०१ देखि ३०० सम्मको तहलाई ‘धेरै अस्वस्थ’ श्रेणीमा राखिन्छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयको सुक्खा, वन डढेलो र कृषि अवशेष जलाउने जस्ता गतिविधिले गर्दा वायुमण्डलमा धुलो र धुवाँका कणहरू थुप्रिएका छन्। 

वर्षा नहुँदा यी हानिकारक कणहरू जमिनमा बस्न नपाएकाले प्रदूषणको तह उच्च बनेको हो। मौसमविद् बिनु महर्जनले आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्ने सङ्केत देखिएकाले वायुमण्डल तत्काल सफा हुने छाँटकाँट देखिँदैन।

वायु प्रदूषणको प्रत्यक्ष असर विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा मुटु र श्वासप्रश्वासका बिरामीहरूमा बढी पर्ने देखिएको छ। यस्तो जोखिमपूर्ण अवस्थामा स्वास्थ्य विज्ञहरूले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। 

उनीहरूले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनै परेमा गुणस्तरीय मास्कको अनिवार्य प्रयोग गर्न र धुलो-धुवाँबाट जोगिन सुझाव दिएका छन्। प्रदूषणको यो भयावह अवस्थाले जनस्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने भएकाले वातावरणमैत्री उपायहरू अपनाउनु पर्ने आवश्यकता देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ