arrow

वायु प्रदूषण

प्रदूषणको रापमा वर्षाको राहत: काठमाडौँको वायु अझै 'अस्वस्थ'

काठमाडौँको वायुको गुणस्तरमा सुधार: २८७ बाट १४१ मा झर्‍यो एक्युआई

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
kathmandu-pollution-82-11-25.jpg

काठमाडौँ ।  गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा वर्षा शुरू भएसँगै क्रमशः सुधार आउन थालेको छ। सुक्खा मौसम र विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुको गुणस्तर निकै खस्किएकोमा पछिल्ला दिनका वर्षाले यसलाई सुधारोन्मुख बनाएको हो। 

एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार गत मङ्गलबार करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क बिहीबार बढेर २४७ सम्म पुगेको थियो। यो स्तर 'धेरै अस्वस्थ' श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए। तर, हाल प्रदूषण घट्दै आज एक्युआई १४१ मा झरेको छ, जसलाई 'अस्वस्थ' श्रेणीमा राखिन्छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वायु प्रदूषण नियन्त्रणमा वर्षाको भूमिका महत्त्वपूर्ण हुने बताए। लामो समयसम्म वर्षा नहुँदा धुलो र धुवाँ वायुमण्डलमा थुप्रिने, वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा जम्ने अवस्थाले प्रदूषण उच्च हुने उनको भनाइ छ। 

यसका साथै छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौँको वायु गुणस्तरमा प्रत्यक्ष असर पार्ने गरेको उनले उल्लेख गरे। प्रदूषणको स्थायी नियन्त्रणका लागि सम्बन्धित निकायहरूले दिगो तथा वातावरणमैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले विशेष जोड दिए।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले आगामी बुधबारदेखि वर्षाको थप राम्रो सम्भावना रहेको जानकारी दिएकी छन्। यसले वायुमा रहेका हानिकारक धुलोका कणहरूलाई नियन्त्रण गर्दै प्रदूषण थप घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। 

एक्युआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्मको स्तरलाई 'राम्रो' मानिन्छ भने ३०० भन्दा माथिको स्तरलाई 'अत्यन्त खतरनाक' मान्ने गरिन्छ। हालको सुधारले उपत्यकावासीलाई केही राहत महसुस गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ