arrow

बुडापेस्टमा पुटिन र ट्रम्प भेट्ने सम्भावना: जेलेन्स्कीद्वारा असन्तुष्टि व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
putin-trump.jpg

काठमाडौँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हङ्गेरीमा हुन लागेको बुडापेस्ट शिखर सम्मेलनमा सहभागी हुन सक्ने सम्भावना रहेको बताएका छन्। राष्ट्रपति ट्रम्पले सन् २०२२ मा सुरु भएको युक्रेन–रूस युद्धको साढे तीन वर्ष लामो द्वन्द्वलाई अन्त्य गर्न शान्ति सम्झौताको पहल गर्दै मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्।

राष्ट्रपति जेलेन्स्कीले सोमबार पत्रकारहरूसँग कुरा गर्दै भने, “यदि मलाई बुडापेस्टमा निमन्त्रणा गरिन्छ भने—चाहे त्यो हामी तीनै राष्ट्रपतिबीचको प्रत्यक्ष भेट होस् वा शटल कूटनीतिमार्फत ट्रम्पले पुटिन र मलाई छुट्टाछुट्टै भेटून्—कुनै न कुनै स्वरूपमा सहमति खोजिनेछ।”

जेलेन्स्कीले शिखर सम्मेलनको स्थलका रूपमा हङ्गेरीलाई छनोट गरिएको विषयमा भने असन्तुष्टि जनाएका छन्। उनले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानप्रति सङ्केत गर्दै भने, “युक्रेनलाई हरेक तहमा अवरोध गर्ने प्रधानमन्त्रीले युक्रेनी जनताको हितका लागि सकारात्मक कदम चाल्ने वा सन्तुलित योगदान दिने विश्वास म गर्न सक्दिनँ।” किएभ सरकारले यो वार्ता बुडापेस्टका साथै टर्की, स्विट्जरल्याण्ड वा भ्याटिकनजस्ता तटस्थ मुलुकहरूमा पनि आयोजना गर्न सकिने बताएको छ।

जेलेन्स्कीले सन् १९९४ मा रूसले बुडापेस्टमै युक्रेन, बेलारुस र कजाकिस्तानसँग गरेको सम्झौता (बुडापेस्ट ज्ञापनपत्र) को नकारात्मक सन्दर्भलाई पनि जोडेका छन्। उक्त सम्झौतामा आणविक हतियार त्याग्ने सर्तमा ती देशहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको थियो। जेलेन्स्कीले टिप्पणी गर्दै भने, “अर्को ‘बुडापेस्ट’ परिदृश्य पनि युक्रेनका लागि सकारात्मक नहुने देखिन्छ।”

यसैबीच, राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पुनः प्रवेश गरेपछि युक्रेन–रूसबीचको दीर्घकालीन द्वन्द्वलाई छिटो समाधान गर्ने आफ्नो प्राथमिक लक्ष्य बनाएका छन्। यद्यपि, रुसी अधिकारीहरूसँग प्रत्यक्ष वार्ता सुरु गर्न दबाब दिने ट्रम्पको कूटनीतिक पहलहरू अहिलेसम्म ठोस सफलतामा परिणत भएका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ