रुसको ‘हाइब्रिड युद्ध’ विरुद्ध जवाफ दिने ईयूको तयारी
पोल्यान्ड, इस्टोनिया र रोमानियामा रुसका हवाई आक्रमणहरू हुनुका साथै डेनमार्क, जर्मनी र बेल्जियममा अज्ञात ड्रोनहरू देखिएको सन्दर्भमा यस्तो चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
2.4k
Shares
काठमाडौँ। युरोपेली सङ्घ (ईयू) की अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसको ‘हाइब्रिड वारफेयर’ (मिश्रित युद्ध) को रणनीति लाई रोक्नका लागि युरोपले आफ्नो सुरक्षा प्रणाली बलियो बनाउनुपर्ने र 'निर्णायक जवाफ' दिनुपर्नेमा जोड दिएकी छन्।
युरोपेली संसद्मा सम्बोधन गर्दै अध्यक्ष भोन डेर लेयनले हाल युरोपमा भएका घटनाहरूलाई रुसले युरोपविरुद्ध चलाएको 'नियोजित र लक्षित' अभियान भएको बताएकी छन्।
उनले भनिन्, "दुईवटा घटना संयोग हुन सक्छन्, तर जब त्यस्ता पाँच वा १० घटनाहरू हुन्छन्, त्यो स्पष्ट रूपमा युरोपविरुद्धको 'ग्रे जोन' (खतरा क्षेत्र) अभियान हो। त्यसैले युरोपले अब निर्णायक जवाफ दिनैपर्छ।"
पोल्यान्ड, इस्टोनिया र रोमानियामा रुसका हवाई आक्रमणहरू हुनुका साथै डेनमार्क, जर्मनी र बेल्जियममा अज्ञात ड्रोनहरू देखिएको सन्दर्भमा उनले यस्तो चेतावनी दिएकी हुन्।
अध्यक्ष भोन डेर लेयनले अब ईयूले प्रतिक्रिया मात्र दिने नभई अग्रिम रोकथाम पनि गर्नुपर्ने आवश्यकता रहेको बताइन्। उनले "यदि हामी ढिलाइ गर्छौं भने 'ग्रे जोन' झन् फैलिँदै जानेछ" भन्ने चेतावनी दिइन्।
ईयू अहिले २७ सदस्य राष्ट्रबीच संयुक्त सुरक्षा परियोजनाहरूको योजना बनाइरहेको छ, जसमा ड्रोनविरोधी प्रतिरक्षा प्रणालीको 'सुरक्षात्मक पर्खाल' निर्माणको प्रस्ताव पनि समावेश छ।
रोडम्यापको तयारी: यसै महिनाको अन्त्यमा हुने ईयू शिखर सम्मेलनमा युरोपेली नेताहरूले सन् २०३० सम्मका लागि रुसबाट हुने सम्भावित खतराहरूका विरुद्ध तयारी गर्ने 'सुरक्षा रोडम्याप' मा सहमति गर्ने प्रयास गर्नेछन्।
नयाँ सोच: उनले रुसको 'हाइब्रिड युद्ध' लाई सामना गर्न युरोपेली मुलुकहरूले 'पूर्ण रूपमा नयाँ सोच र दृष्टिकोण' अपनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिइन्।
अन्तमा, भोन डेर लेयनले युरोपसँग स्पष्ट विकल्प रहेको बताइन्: या त रुसी खतराको विस्तार हेरेर बस्ने, वा "एकता, दृढता र सङ्कल्पका साथ तिनको सामना गर्ने।"