arrow

सङ्कटोन्मुख नेपालको कृषि पेशा र कृष्णको आशावादी सोच

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०८२ असोज ११ शनिबार
rajendra-panthi-82-6-11y.jpg

कृषि भनेको नेपालको अर्थतन्त्रको मेरुदण्ड नै हो । एक तथ्यांकअनुसार कृषिले देशका करिब ६६ प्रतिशत जनसंख्यालाई रोजगारी दिएको छ भने देशको कूल गार्हस्थ  उत्पादनमा करिब २४ प्रतिशत कृषिको योगदान रहेको छ तर यो दर विगत केही वर्षदेखि उपयुक्त विकल्प बिनालगातार घट्दै गएको छ । नेपालीहरूको प्रमुख रोजगारी बनेको कृषि पेशा अहिले सङ्कटोन्मुख गतितिर लम्केको देखिन्छ ।

नेपालका गाउँहरू रित्तिदै गएका छन् भने जग्गाहरू बाँझिदै गएका छन् । नेपालको अर्थतन्त्र केवल विप्रेषणमा मात्र खुम्चिदै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई कूल १७ खर्ब २३ अर्ब २७ करोड पुगेको थियो । सरकारको लागि विप्रेषण भनेको क्षणिकको लागि सजिलो आम्दानी भए पनि दीर्घकालीन रूपमा यसले उत्पादन क्षेत्र घट्ने, युवा श्रमशक्ति बाहिरिने,आयातमुखी उपभोग बढ्ने,कृषि,उद्योग,व्यापार,पर्यटन आदिजस्ता क्षेत्रहरू सुक्दै जाने समस्या निम्तिन्छन् र देश आत्मनिर्भर नभई परनिर्भर मात्र बन्नसक्छ । अर्थतन्त्रलाई बलियो बनाउने भनेका अन्तत: कृषि, पर्यटन, उद्योग, व्यवसाय, व्यापार आदि नै हुन् ।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमीन छ भने त्यसमध्ये ३० लाख ९१ हजार हेक्टरमा मात्र खेती गरिन्छ यसमा अहिले १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । यो जमीन बाँझो हुने क्रमको दर बढेको बढैछ । यसरी उत्पादनयोग्य जमीन बाँझो हुँदा देशको अर्थतन्त्रमा ठूलो असर परेको छ । सरकारी रेकर्ड अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशले १४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियोे।नेपालले जम्मा १ खर्ब ५२ अर्बको निर्यात गरेको देखिन्छ।

नेपाललाई कृषिप्रधान मुलुक भनिन्छ तरमनसुनमा आधारित, निर्वाहमुखी र परम्परागत कृषि प्रणाली अनि बजारको उचित व्यवस्थापन हुन नसक्दा देश कृषिमा आत्मनिर्भर बन्न सकेको छैन । यतिसम्म कि नेपालको आफ्नै मौलिक खाना गुन्द्रुकसमेत आयात गर्नु परेको छ भनिन्छ । एक तथ्यांक अनुसार २०८०/८१ मा ४५ अर्ब बराबरको खाद्यान्न र करिब १७ अर्ब बराबरको फलफूल, दलहन र तरकारी आयात भएको देखिन्छ।सरकारले साउन १५ गते कोदो दिवस भनेर मनाउँछ तर बिडम्बना २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको १८ हजार ३ सय मेट्रिकटन कोदोजन्य उत्पादन आयात भएको देखिन्छ ।

नेपालको पूँजी पलायन, बसाइँसराइ र नेपालीहरूलाई रोजगारकै लागि विदेश जानबाट रोक्ने प्रमुख उपाय भनेको नेपाली कृषिमा नवीन क्रान्ति नै गर्नुपर्ने देखिन्छ । अब कृषिलाई निर्वाहमुखी पेशा मात्र नबनाएर जतिसक्दो छिटो आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्छ । यसले देशभित्र नै रोजगारीका प्रशस्त सम्भावनाहरू खोलाउन सक्छ । 

देश खाद्यान्न, फलफूल, दलहन, तरकारी मात्रमा स्वनिर्भर हुन सक्ने हो भने अर्बौं रुपैयाँ देशभित्रै रहन्छ। विश्वकै इतिहासलाई हेर्दा पनि अमेरिका, युरोप, चीन, जापान, दक्षिण कोरिया, ताइवान र भारत समेतले कृषिक्रान्तिबाट अर्थतन्त्रमा ठूलो फड्को मारेका छन् । राज्यले यसका लागि कृषकलाई कृषिऋणमा सहुलियत, मलबिउको सहज उपलब्धता,बाली र पशुपंक्षीको बीमाको सुविधा र बजार व्यवस्थापनको सहजीकरण  गरिदिनुपर्छ ।

नेपाली युवा अथवा कृषकहरूलाई देशमा रोक्न र कृषि पेशामा प्रेरित गर्न सरकार  नै मन,वचन,कर्मदेखि नै लाग्नुपर्छ। सरकार नै अभिभावक र जबाफदेही बन्नुपर्छ। राजनीतिक नेतृत्व र दलहरूले राजनीतिलाई पेशा बनाउनु हुँदैन।नेता तथा कार्यकर्ताहरू कुनै न कुनै पेसामा आबद्ध हुनुपर्छ।अब राजनीतिक नेतृत्वले नै निकै गम्भीर भएर हावादारी र बकम्फुस गफमा सत्तामा जाने र टिकाइरहने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ।राजनीतिक नेतृत्व नै राष्ट्र र जनताप्रति उत्तरदायी र जवाफदेही बन्न नसक्दा जनतामा अत्यन्तै निराशा पैदा भएको हो।देशका जिम्मेवार दलहरूले देशको समृद्धिभन्दा पनि आफ्नो स्वार्थपूर्ति गर्नलाई देशलाई निकास नदिई बन्धक बनाइरहेका थिए,जसको परिणामस्वरुप आजको जेन-जीमा विस्फोटको अवस्था आएको हो।राजनीतिक दलले देशलाई एउटा लोकतान्त्रिक लयमा लैजानुपर्छ अनिमात्र जनतामा आशा र विश्वास पैदा हुन सक्छ।

अहिले नेपालमा कृषिपेशा सङ्कटोन्मुख गतितिर लागेको बेलामा गुल्मीमा एउटा आशावादी कृषिदीप बनेका युवा किसान हुन् -कृष्णप्रसाद घिमिरे । घिमिरे गुल्मीको पश्चिम इस्मा गाउँपालिकामा अन्तर्गत चौरासी फाँटमा व्यावसायिक कृषि गरेर प्रेरक र उदाहरणीय कृषकको रुपमा उदाएका छन् । उनको कृषिपेशा लोभलाग्दो,प्रेरणादायी र नमुना नै छ। आज देशमा युवा जनशक्ति रोगगारी खोजी गर्ने भन्दै गाउँ छोडेर शहर अनि विदेश पलायन नै भएको अवस्थामा देशभित्र गाउँमै कृषिपेशाबाट पनि आर्थिक पक्ष सवल र सुदृढ बनाउन सकिन्छ भन्ने दृढ विश्वासका साथ कृष्ण प्रसाद घिमिरे व्यावसायिक कृषि पेशामा आबद्ध र समर्पित नै भएका छन्।

कृष्ण प्रसाद घिमिरेको जन्म धुर्कोट गाउँपालिका अन्तर्गत किमुखर्कमा पिता पुरुषाेत्तम घिमिरे र माता कमला घिमिरेको प्रथम पुत्रका रुपमा २०२९ सालमा भएको थियो।प्रमाणपत्र तहसम्मको अध्ययन गरेका कृष्ण प्रसादले २० वर्ष नेपाल सरकारको स्थायी शिक्षण सेवा गरी अवकाश भएका हुन्।उनले २०५० देखि गुल्मीका च्यानडाँडा प्रा.वि दर्लिङबाट स्थायी सेवा शुरु गरी लामो समयसम्म देविस्थान प्रावि वाग्लामा पढाए भने केही समय सरस्वती निमावि इस्मामा अध्यापन गरी स्वैच्छिक अवकाश लिएका हुन्।

४२ वर्षकै उमेरमा २० वर्ष सेवा गरी स्वैच्छिक अवकाश लिएका कृष्ण प्रसादले शिक्षण पेशामा रहँदादेखि बिहान बेलुका फुर्सदको समयमा व्यावसायिक रुपमा तेलहन र तरकारी खेती गरिरहेका थिए भने अवकाश हुँदा बित्तिकै गुल्मीको पश्चिममा पर्ने चौरासी फाँटमा विशाल सोचका साथ पूर्ण रुपमा व्यावसायिक कृषि पेशामा लागेका छन्। चौरासी फाँट गुल्मीको सदरमुकामदेखि करिब २५ कि.मिको पश्चिम दूरीमा मदन भण्डारी राजमार्गसँग जोडिएको छ्ल्दी खोलामा रहेका ठूला फाँटहरू मध्येको एउटा फाँट हो।

यो फाँट गुल्मीको ऐतिहासिक लेक मदानेको काखमा रहेको छ।मानिसहरू धमाधम गाउँ छोडेर शहरतिर लागेको समयमा कृष्णप्रसादले आफ्नो निजी खेत बाहेक अरुका खेतहरू भाडामा लिएर धान,मकै,गहुँ जस्ता खाद्यान्न बालीका साथै तरकारीहरू उत्पादन शुरु गरेका छन्।अहिले कृष्णले वार्षिक ३५ देखि ४० हजारमा ७० रोपनी खेत भाडामा लिएर आफ्नो ६ रोपनीसहितमा ७६ रोपनी खेतमा खेतीपाती गरिरहेका छन्।

कृष्ण प्रसादले नेपाल सरकारमा आफ्नै घिमिरे कृषि तथा पशुपक्षी फर्म दर्ता गरी व्यवसाय गरेका छन्।कृष्णले खाद्यान्न बाली बाहेक उच्चजातका गाई र भैंसीहरू पनि पालेका छन्।उनले ४ गाई र ४ भैंसीबाट दैनिक रुपमा ४० देखि ५० लिटरसम्म दूध बिक्री गर्दछ्न्।उनले घरका परिवार बाहेक दैनिक औषतमा ५ जनालाई रोजगार दिएका छन्।उनले धान,गहुँ र मकै बाली लगाउने,गोडमेल र स्याहार्ने बेलामा दैनिक २०/३० जनासम्मलाई रोजगार दिन्छन्।कृष्णले अहिले खासगरी धान,मकै र गहुँको बिउ उत्पादन गरेका छन्।उनी गुल्मी जिल्लाका बिउ उत्पादक संघका अध्यक्षसमेत हुन्।कृष्णले उत्पादन गरेका बिउहरू गुल्मी,अर्घाखाँची,कास्की,रुपन्देही, चितवन,दाङ,कैलाली आदि जिल्लामा बिक्री हुँदै आएका छन्।कृष्णसँग आफ्नै खेत जोत्ने ट्याक्टर,धान र गहुँ झाट्ने थ्रेसर छ भने बिउ सुरक्षित गर्ने स्टोरेज पनि रहेको छ।कृष्णले आफ्नो वार्षिक खुद मुनाफा नै ६/७ लाख रहेको बताएका बताउँछन्।

यसरी देशमा कृषिपेशा सङ्कटोन्मुख  परिरहेको अवस्थामा कृष्णलाई एक प्रेरक कृषकका रुपमा लिन सकिन्छ।कृषि पेशालाई परम्परित रुपमा मात्र नहेरेर व्यावसायिक र आधुनिकीकरण गर्न सक्ने हो भने देशको अर्थतन्त्रको एउटा बलियो र महत्त्वपूर्ण दिगो खम्बा बन्न सक्छ भन्ने आत्मविश्वास कृष्णमा देखिन्छ। आज रोजगारको खोजी गर्दै घरमा ताल्चा लगाएर जग्गाजमिन बाँझा बनाएर देश छोड्नेको लागि स्वदेशमै र गाउँमा केही गर्न सकिन्छ भन्ने कृष्ण एउटा उदाहरणीय किसान बनेका छन्।कृष्ण आफ्नो पेशाप्रति सन्तुष्ट र खुशी छन्।उनी आफ्नो पेसामा मात्र नभएर सामाजिक सेवामा पनि सक्रिय छन्।

कृषिपेशामा जीवन निर्वाह मात्र नभएर राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने देख्दादेख्दै अहिले नेपालीहरू किन यसरी गाउँ र देश छोडेका होलान् भन्ने एक प्रश्नमा कृष्णले व्यक्तिमा देशप्रतिको माया,राष्ट्रियताको भावना र दायित्व बोध हुन नसक्नु,विदेशमा रोजगारको लागि के कस्ता समस्या छन् नभनी अरुको लहडमा विदेशिनु र एउटा घरको सक्षम र जिम्मेवार व्यक्ति देश बाहिरिँदा घरका वृद्ध बुबाआमा र परिवारहरू सहारा बिहीन हुनुपर्ने एउटा संवेदनशील अवस्थालाई गहिरिएर बुझ्न नसक्नु, विद्यालयदेखि विश्वविद्यालयहरूमा व्यवसायिक कृषि शिक्षालाई प्राथमिकता नदिनु, उद्योग र कलकारखानाको विकास हुन नसक्नु, देशमा लामो समयसम्म राजनीतिक अस्थिरता रहनु,देश भ्रष्टाचार र कुशासनको दलदलमा फस्नु,राजनीतिक नेतृत्वमा इमान्दारिता र जनविश्वास गुम्नु नै मुख्य पक्ष हुन् भनी बताउँछन् । 

आज देशका युवाहरूमा रहेको निराशा,वितृष्णालाई चिर्नका लागि कृष्ण प्रसादको आत्मविश्वास,राष्ट्रियताको भावना, कृषिपेशाप्रतिको समर्पण,आशावादी सोच निकै प्रेरक बन्न सक्छन्। कृष्णप्रसाद घिमिरेको कृषिपेशाप्रतिको समर्पण र योगदानलाई हामी सबैले सम्मान गर्नुपर्छ।राज्यले यस्ता व्यावसायिक कर्मठ किसानलाई कृषि अनि पशुपंक्षी बीमादेखि लिएर सहुलियत ऋण अनि आधुनिक प्रविधिको लागि अनुदानको व्यवस्था गरिदिनुपर्छ।वास्तवमा कृषिपेशा भनेको हामी नेपाली परम्परित रोजगारीको प्रमुख श्रोत भएको हुनाले नेपालका हरेक घरहरूमा जन्मजात नै कृषकहरू छन्।

नेपालका आफ्नै रैथाने बालीहरू पनि छन्।आज रैथाने बालीहरू लोप हुँदैछन्,यिनलाई जोगाउनु पर्छ।गाउँमा जन्मेको र हुर्केको प्रायःनेपालीहरूहरूलाई सामान्यत बाली,तरकारी र फलफूल हरू कसरी लगाउने,स्याहार्ने अनि भण्डारण गर्ने भन्ने ज्ञान पनि छ।यसैमा अलिकति आधुनिक प्रविधि र व्यावसायिक तरिकाले खेती गर्ने हो भने कृषि पेशा आम्दानीको महत्त्वपूर्ण र स्थायी  श्रोत बन्न सक्छ। (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ