यी परिकारहरूले पेटको भोक मेटाउन नसके पनि मनको भोक मेटाउन निकै सहयोग गरेका छन् र आफ्नो जन्मभूमिलाई अन्तर्मनमा राखिराख्न निकै मद्धत गरेका छन्
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ पुष ५ शनिबार
1.4k
Shares
भोकले पेटका आन्द्रा जतिसुकै बटारिए पनि र थकाइले मुखबाट जतिसुकै सुस्केरा निस्के पनि भित्ताको घडीले सुन्दैन । म जति थाके पनि ऊ थाक्दैन । त्यो भित्तेघडी न छिटोछिटो घुम्छ न एकैछिन आराम नै गर्छ । त्यो न बोल्छ, न केही भन्छ तर पनि सबैलाई नियन्त्रणमा राखिरहेको छ ।
कुनै दिन घडी अनुसार म चल्दिनँ भनेर अटेर गरेँ भने त्यस दिनदेखि हातमुख नै बन्द गर्नुपर्ने हुन्छ । मलाई आठ घण्टाको कम्पनीको काममा क्यान्टिनमा जानको लागि जहिले नि साढे ४ चाँडै नै बजिदिए हुन्थ्यो जस्तो लाग्छ ।
मैले काम गर्ने त्यो कम्पनीको क्यान्टिनको एउटा महत्त्वपूर्ण विशेषता भनेको त्यहाँ रहेका धेरै टेबलमध्ये कुनै एक टेबलमा हप्ताको पाँच दिन भौतिक रुपमा खास धेरै नेपाली परिकारहरू नपस्किए पनि भावनात्मक रूपले थुप्रै किसिमका नेपाली परिकारका स्वादहरू पाइनु हो ।
क्यान्टिनको त्यस टेबलमा मेरा सहकर्मी मित्रहरू आफ्ना भिन्नभिन्न नेपाली स्वादका परिकारहरू पस्किनुहुन्छ । प्रायः त्यहाँ नयाँ नयाँ नेपाली स्वाद चाख्न पाइन्छ । आधा घण्टाको समयमा सबैका परिकारहरूको स्वादमात्र लिन नपाउँदै घडीको सुइले ५ बजाइहाल्छ ।
यो क्यान्टिनमा नेपाली स्वाद लिन थालेको करिब पाँच वर्षमा अहिलेसम्म यो परिकार अस्वादिलो र नमिठो भयो भन्ने कुनै दिन छैन । यी परिकारहरूले पेटको भोक मेटाउन नसके पनि मनको भोक मेटाउन निकै सहयोग गरेका छन् र आफ्नो जन्मभूमिलाई अन्तर्मनमा राखिराख्न निकै मद्धत गरेका छन् ।
सयौँ टेबलमध्ये त्यो नेपाली स्वादको टेबलमा प्रायः सबैको हातमा तातो चिया र कफी हुन्छ । अमेरिकन चिया र कफीमा इलामको चिया र गुल्मीको कफी सम्झना गरी भावनात्मक स्वाद मिसाएर खाँदा असाध्यै स्वादिलो हुन्छ ।
फलफूलहरू पनि स्याउ, सुन्तला, केरा, आँप, अङ्गुर आदि खाँदा मुस्ताङ, मनाङ, हुम्ला, स्याङ्जा, लमजुङ, गोरखा, चितवन, नवलपरासी, काभ्रे, सप्तरी, सिराहा, धनुषा आदिको झल्को आउँछ ।
हामीहरू योजनागत रुपमा आज यो विषय पस्कने भनेर कुनै खास विषय पस्केका त हुँदैनौँ।सबै साथीहरू भेट हुँदा बित्तिकै अनायासै केही विषयहरू फुत्त निस्कन्छन् र ती विषयहरू प्रायः नेपाली आकाश र धर्तीसँग सम्बन्धित नै हुन्छन्।सहकर्मी मित्रहरूबाट पस्कने परिकार भनेका प्रायः नेपालका सोलुखुम्बु, झापा, रौतहट, चितवन, कास्की, बागलुङ, गुल्मी, दाङ, सल्यान, मुगु, कैलाली, कंचनपुर आदिका गाउँशहरका सेरोफेरोकै हुन्छन् ।
त्यो भोकाएको पेट र थकाइलाई मेटाउन बाध्यात्मक रुपले पिजा,बर्गर र स्यानड्विज खाइरहँदा नेपाली गाउँ सहरहरूका मौलिक मुख्य खानाहरू दाल, भात, तरकारी, अचार, टिमुरको चटनी, तामा र गुन्द्रुकको तरकारी, कोदो, मकै, फापरको रोटी र ढिडो, मोही र भुटेका मकै, म:म, चाउमिन, छोले र समोसा, योमरी, क्वाँटी, छोइला, कचिला, चटामरी, गोरमरी, लाखामारी, बारा, सान्या, घोँगी, गेंटा, ढिक्री, बरिया, खरिया, सुखाइल, डेरुवा, भक्का आदि विभिन्न स्वादिष्ट परिकारहरूलाई बिर्सिन सकिन्न ।
हामीले क्यान्टिनमा बसेर खाजा खाँदा नेपाली खास परिकार चाख्न र खान नै नपाए पनि तिनलाई विभिन्न प्रसङ्गमा सम्झिँदा हाम्रो जिब्रो रसाउँछ र खाँदै गरेका खानाहरू अझै स्वादिला र मीठा बन्छन् । पेट र मन भोकाएको बेला पाल्पाको चुकौनी, जुम्लीको मार्सी भात, वीरगन्जको भर्ता, नेपालगन्जको दूधबरी,पोखराको लट्टे, रौतहटको कटिया आदिको सम्झनाले त त्यो जिब्रो यति स्वादिलो हुन्छ कि यहाँ कुनै शब्दद्वारा वर्णन गर्न सकिन्न ।
नेपाली भूगोल र परिकार बाहेक सहकर्मीहरूबीच आफूले जानेका, सुनेका र भोगेका विविध नेपाली विषयका निकै स्वादपूर्ण मीठामीठा र खास क्षेत्रका मौलिक परिकारहरू पस्किन्छौँ । नेपाली भूगोल, रहनसहन, संस्कृति, राजनीति,साहित्य, भाषा, कला, चाडपर्व आदिका कुराहरू सुन्छौँ र सुनाउँछौँ ।
हामी झापाको केचनाकवल, इलामको कन्याम, सुनसरीको भेडेटार, मकवानपुरको चित्लाङ, चितवनको सौराहा, कास्कीको फेवाताल, पाल्पाको रानीमहल, तनहुँको बन्दिपुर, लमजुङको घलेगाउँ, सोलुखुम्बुको नाम्चेबजार, मुस्ताङको जोमसोम, रुपन्देहीको लुम्बिनी, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली, गुल्मीको रिडी, मुगुको रारा, बझाङ, बाजुरा, डोटी र अछामको खप्तड क्षेत्र, डडेल्धुराको घटालस्थान आदि जस्ता धार्मिक र पर्यटकीय स्थलहरूको महत्त्व र इतिहासका बारेमा सबैको लागि पस्कन्छौँ, सम्झना गर्छौँ, भावनात्मक रुपमा पुग्छौँ र आनन्दानुभूति गर्छौं ।
साँच्चै नै अहिलेसम्म त्यहाँ हजारौँ नेपाली स्वादका अमूर्त परिकारहरू पस्किएका होलान् । वास्तवमा नेपालमा यति धेरै विविधताका परिकारहरू छन् गणना गरेरै साध्य छैन । त्यहाँ नेपालका मौलिक लोकगीतहरू देउडा, रोइला, होरी, तीज, मालश्री,सालैजो, झ्याउरे, भजन, कौराहा, सोरठी, साकेला, बालुन, पालाम, चासोक आदि गीतका विशेषता र लयहरूका कुराहरू पस्कन्छौँ ।
नेपाली, नेवारी, मैथिली, भोजपुरी कला र साहित्यका मौलिकता विशेषता, भाव, रस र सन्देशका विभिन्न पक्षहरूलाई पस्किएका हुन्छौँ । देश बाहिर हुँदा पनि यस्ता नेपाली स्वादका परिकारहरू पस्किँदा हामीलाई दैनिकजसो नेपाल पुगेको अनुभव गराएको हुन्छ ।
अनेक कारणले आफ्नो जन्मभूमिबाट टाढा भएका हामी परदेशीहरूलाई यस क्यान्टिनको आधा घण्टाको बसाइले भौतिक रुपमा नेपालसित छोइन नपाए पनि आत्मिक र भावनात्मक रुपले जोडिन निकै मद्धत गरेको छ । यस नेपाली स्वादको टेबलले हामीलाई थकाइ र तनावबाट मुक्त बनाएको हुन्छ ।
जे होस् आधा घण्टाको समय भए पनि नेपाली जाति र भाषीका बीचमा दिल खोलेर बोल्न पाइन्छ । यो क्यान्टिनको बसाइले हामी सबैको शरीर, मन र मस्तिष्कलाई फुरुङ्ग बनाएको हुन्छ र थप काम गर्नको लागि ऊर्जा पैदा गर्छ र थकान पनि मेटाउँछ । नेपाल र नेपालीका कुरा गर्दागर्दै भूपी शेरचनको मेरो देश भन्ने कविताको यो अन्तिम श्लोक पनि याद आउँछ।
जहाँ,
हरिया हरिया पहाडका फरिया
अलि तल सारेर
निर्मल,स्वच्छ र न्यानो घाममा
हिमालले सधैँ ढाड सेकेको हुन्छ
म जति टाढा भए पनि त्यो मेरो देश
सधैँ मेरो मनले सपनामा पाइला टेकेको हुन्छ।
(सङगम,२०१७)
हामीले काम गर्ने त्यस कम्पनीमा अमेरिकन मूलबासी मात्र नभएर संसारका धेरै देशका हजारौँ आप्रवासीले रोजगारी पाएका छन् । हामीले हाम्रा मूर्त अमूर्त परिकारहरू पस्कँदा त्यहाँ अन्य मुलुकका खानाका परिकारहरू पनि पस्किएका हुन्छन् ।
ती परिकारहरू मुखबाट स्वाद चाख्न र खानै नपाए पनि नाकमा विभिन्न स्वादिला गन्धहरू ठोक्किएका हुन्छन् । त्यहाँ हजारौँ कर्मचारीहरूको एकापसमा चल्ने सम्पर्क भाषा भनेको अङ्ग्रेजी नै हो । त्यसमा पनि सबैभन्दा प्रयोग हुने पद र पदावली भनेका त हेलो, हाइ, हाउ आर यु, आई एम फाइन,ओके,थ्यान्क यु, बाइ, सी यु आदि नै हुन् ।
तर त्यहाँ एउटै देशका मूलबासी र एउटै मातृभाषी भेट हुँदा चाहिँ नसामा कतै अल्मलिएर रोकिएको रगत एक्कासी शरीरभरि सञ्चार भएजस्तो हुन्छ । शरीरको हाउभाउ, क्रिया र प्रतिक्रिया र मुहार हँसिला देखिन्छन् ।
अङ्ग्रेजी भाषा केवल कार्यालयीय र औपचारिक भाषा भएको हुनाले मानिस आफ्नो मातृभाषामा बोल्न पाउँदा बन्द भएका शरीरका ढोका, मन र रगतका नसा नै खुलेजस्तो लाग्छ । मानिसले जतिसुकै दोस्रो वा तेस्रो भाषामा बोल्न अब्बल छु भने पनि मनका अनेक भावहरूलाई मातृभाषामा अभिव्यक्ति गर्न पाउनुको मजा नै छुट्टै हुन्छ।
कहिलेकहीँ त त्यस टेबलमा नेपालदेखि अमेरिका मात्र होइन विश्वका विभिन्न मुलुकका विगतदेखि वर्तमान समयसम्मका इतिहास, विकास, सञ्चार र प्रविधिका अनौठा र आश्चर्यलाग्दा कुराहरू सुन्न र सुनाउन पाइन्छ ।
आजभन्दा करिब ४० वर्ष पहिले सल्यानको कुनै गाउँकी एक महिलाले गाईवस्तु चराउन वन गएको बेला आफ्नो नवौं सन्तान जन्माएको घटनादेखि अहिले उमेरले परिपक्व भएका पोखराको एक जोडीले आफ्नो करियर बनाउन भन्दै विवाह गरेको सात वर्षसम्म सन्तान जन्माउन आँट गर्न नसकेको घटना पनि निकै मर्मस्पर्शी र सन्देशपूर्ण नै छन् ।
बेलाबेलामा विदेशीको मुखबाट नेपाल इज ब्युटिफुल बट करप्ट कन्ट्रि भन्दा एस वा नो नभनी खिस्स दाँतमात्र देखाएर बट पछिको शब्दका बारेमा उत्तरबाट भाग्नु पर्दा मन चसक्क बिझ्छ ।
त्यस टेबलमा हामी कहिलेकहीँ आफ्ना बाल्यकालीन स्मरणीय घटना सुनाउँछौँ । गाईबाख्रा चराउन जाँदा वन नै थर्काउनै गरी दोहोरी गीत गाएको, मेलापर्वको बेला कोट वा डाँडामा जाँदा लाहुरेदाइको छ ओटा ब्याट्रीवाला पानासोनिक ठूलो टेपरेकर्डरबाट पानको पात भन्ने गीत सुनेको, विद्यालय जाँदा सेउला वा चकटी र पाटी बोकेको, अँगेनाको वरिपरि सबै परिवार बसेर भुटेका मकै, भट्ट अनि मोही खाएको,रात ८ बजे ठूलारेका घरमा टोलभरिका मानिसहरू जम्मा भई रेडियोमा चौतारी कार्यक्रम सुनेको आदि जस्ता थुप्रै बाल्यकालीन घटनाहरू एकापसमा शेयर गर्दा साँच्चिकै आफूलाई सारा जिम्मेवारीबाट मुक्त भएर बाल्यावस्थामा पुगेको अनुभूति पनि हुन्छ ।
अस्पताल नै नदेखेका तर ८०/९० वर्षसम्म बाँचेका हजुरबुबा/आमाका पुस्तादेखि र अस्पतालमै चिकित्सकको सल्लाह अनुसार वीर्य प्राप्त गरी अस्पतालमै जन्मिएका खानेकुरा भन्दा औषधि धेरै सेवन गर्नुपर्ने अहिलेका नवपुस्ताका दैनिकी,जीवनचर्या र उनीहरूका व्यवहारको बारेमा पनि तुलना गरिन्छ ।
अहिलेको यो विकास भन्नेले के अझै के के गर्दै जानेहोला भन्ने कुराले हामीलाई गम्भीर र सशङ्कित बनाउँछ । आजको समयलाई विश्वव्यापीकरण र एआईको युग भनिएको छ । यसरी विज्ञान र प्रविधिको चरम विकासले मान्छेले कतै आफ्नो मस्तिष्कले काम गर्न नसकेर कुनै दिन चिप्स लगाउनु पर्ने परिस्थिति त आउने त होइन भन्नेसम्मका चिन्तन र चिन्ता त्यस टेबुलमा गरिन्छ्न् ।
अहिलेको प्रविधि र सामाजिक सन्जालको विकास र विस्तारलाई खास रूपमा सदुपयोग नगरी कतै अलि बढी नै दुरूपयोग गर्दा मानिसलाई असामाजिक र एकोहोरो बनाएको होकि भन्ने कुराले हामी चिन्तित भएका पनि हुन्छौँ ।
आज हजारौँ मान्छे समूहमा छन् तर हरेक मान्छे एक्लो हुँदै गएको देखिन्छ । आज मानिसको सबैभन्दा नजिकको साथी कुनै मानिस नभई डिभाइस बनेको छ । मानवीय सम्बन्ध र संवेदनाहरू खस्किएका छन् । मान्छे अहिले छिटोछिटो हतार हतारमा दौडिरहेको छ तर त्यो दौडाइले के के कुराहरू गुमाइएका छन् भन्ने कुरालाई ध्यान नदिएकोप्रति हामी कहिलेकहीँ अलि बढी सोचमग्न हुन्छौँ ।
हुम्लाको मुचु र लिमीदेखि अमेरिकाको क्यालिफोर्निया र जापानको टोकियोसम्मका भौगोलिक,सामाजिक,आर्थिक आदि विभिन्न पक्षका कुरा गर्दा सपना हो कि विपना हो जस्तो पनि लाग्छ । मानव सभ्यताको विकास भइरहेको छ कि मानवको अस्तित्व नै विनाश हुन लागेको हो भन्नेमा सशङ्कित हुनुपर्ने पनि देखिन्छ ।
कतै विकासका नाममा विनाश त हुने होइन भन्ने लाग्छ । सवारी साधन नै नदेखेका मानिसदेखि मानिस बिना पनि चल्ने सवारी साधन र प्रविधिको विकासको प्रसङ्गले मानिस मानिसबीचको यो दूरी र विषमतालाई कसरी हटाउन सकिन्छ भन्ने कुराले चिन्तित बनाउँछ ।
मानिसले सुख खोज्ने नाममा कतै आफ्नो खुशी गुमाइरहेको त छैन भन्ने कुराले हामी आफैँलाई नराम्ररी झड्का दिएजस्तो पनि लाग्छ । कहिलेकहीँ देश बाहिर रहेर देशलाई माया गर्दा र सम्झदै गर्दा कसैले गोहीका आँसु र भगौडा भनेर आरोप लगाउँदा मन अलि खिन्न भएर आउँछ ।
जे होस् जोसुकैले जेसुकै भनुन् म आफ्नो जन्मभूमिलाई बिर्सिन सक्दिन । यस्ता नेपाली स्वादका परिकारहरू सुन्न र सुनाउन पनि छोड्दिन । भूपी शेचनले भनेजस्तै विपनीमा म जतिसुकै टाढा भए नि सपनीमा भने सधैँभरि म मेरै देशमा हुन्छु। (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)