arrow

मतदाताप्रति प्रवासीको अनुरोध; देश फर्कन पाइयोस् 

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ फागुन १८ सोमबार
rajendra-pathi-18-11-082.jpg.jpeg

लोकतन्त्रको आत्मा भनेको निर्वाचन हो भने मेरुदण्ड भनेको संसद हो । आवधिक रूपमा ०८४ सालमा हुनुपर्ने प्रतिनिधि सभाको निर्वाचन विशेष परिस्थितिले यही २१ फागुनमा हुँदैछ । प्रतिनिधि सभाको यो निर्वाचनको लागि अब केही दिनमात्र बाँकी छ । निर्वाचन आयोगले पनि आफ्नो सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको देखिन्छ । अब विभिन्न दल,दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरू मतदाताद्वारा जाँचिन तयार भएर बसेका छन् । मतदाताले पनि आफूलाई मन परेको उम्मेदवारलाई रोज्न २१ गतेको दिन कुरेर बसेका छन् । 

२०४८ सालदेखि अहिलेसम्मका निर्वाचनलाई सरसर्ती हेर्दा मतदाताहरूमा राजनीतिक चेतना निकै नै जागृत भएको देखिन्छ । अहिलेका मतदाताहरूको राजनीतिक चेतनाको स्तर अनि प्रविधिको विकास र विस्तारले गाउँ सहरमा निर्वाचनलाई उत्सवकै रूपमै लिइएको देखिन्छ । यद्यपि देशका केही निर्वाचन क्षेत्रमा केही उम्मेदवारहरूले प्रचारप्रसारको क्रममा संसदको गरिमालाई  भद्दामजाक,उट्पट्याङ् पनि बनाए ।

अब यो मतदानको लागि अन्तिम क्षणमा आउँदा अझै पनि अधिकांश मतदाताहरूमा अब कसलाई मत दिने भन्ने कुरामा अन्योल नै पनि हुनसक्छ।धेरै उम्मेदवारहरू मध्येबाट एउटालाई रोज्नुपर्दा को उपयुक्त छ भन्ने कुरा गणितीय तरिकाले जाँच्न नसकिने हुँदा रोज्ने भन्ने कुरा जटिल नै पनि हो । तैपनि उम्मेदवारको विगतको पृष्ठभूमि,उसको इमान्दारिता,समाजमा उसको सम्बन्ध र व्यवहार, उम्मेदवारको राजनीतिक आस्था र एजेन्डा नै छनोटका मुख्य आधार हुन् । निर्वाचनमा युवायुवतीदेखि जेष्ठ नागरिकसम्म निकै सकारात्मक र उत्साहित देखिन्छन् । 

यसपालिको प्रचार प्रसारमा मतदाताहरूले उम्मेदवार सामु विगतका जनप्रतिनिधिका गलत र झुटा आश्वासनहरूका बारेमा राम्रै प्रश्नहरू गरेका पनि छन्। उम्मेदवारहरूले पनि जनताको निराशा र आक्रोशप्रति सचेत हुँदै धेरै सपना र आश्वासनका पोकाहरू फालेका देखिएनन् । विगतमा जस्तो मतदाताहरूमा पैसा र मासुमा बिक्री हुने कुरा यसपालि कम हुने देखिन्छ ।

तापनि किनबेच हुने शंका भने यथावत् रहेको छ । मतदाताहरूमा उम्मेदवार र दलहरू  तुलनात्मक रुपमा यो यति ठीक र बेठीक भनेर चिन्ने सामर्थ्य  भने पैदा भएको देखिन्छ । यसपालि मतदाताहरूमा विकसित भएको राजनीतिक र आलोचनात्मक चेत,आशा,उत्साह,उमङ्गलाई हेर्दा अबको संसदमा नयाँ अनुहार आउने सम्भावना देखिन्छ । सायद यसपालिदेखि पुराना र थोत्रा पात्र र प्रवृत्तिहरू बढारिने देखिन्छ । 

अबको संसदलाई पनि फरक र नयाँ बनाउने कि नबनाउने भन्ने मुख्य हात भनेको मतदाताकै हो । निर्वाचनमा एउटा मतको निकै नै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ।कुनै उम्मेदवारले हजारौँ मत पाउँदा पनि एउटा मतले पराजय भोग्नुपर्ने हुन्छ । आम मतदाताहरू निर्वाचनको बेला मेरो त एउटा मत त हो नि भनेर मतदान प्रक्रियाबाट अलग हुनुहुँदैन । मतदाताको एउटा मतले असल उम्मेदवार पराजय हुने र खराब उम्मेदवार विजय हुन सक्छ । 

प्रतिनिधि सभाको निर्वाचन भनेको देशको भविष्य निर्माण गर्ने एउटा जिम्मेवार,असल, इमान्दार, सक्षम जनप्रतिनिधि र नेतृत्व चयन गरिनु हो। यसबाट देशको नीति र नेतृत्व बनाउने प्रतिनिधि चयन गरिन्छ । यस निर्वाचनमा पनि विगतमा जस्तै विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूले आआफ्ना एजेन्डा र प्रतिबद्धताहरू जनताका अगाडि प्रस्तुत गरिसकेका छन् । ती सबै उम्मेदवारहरू मध्येबाट एउटा कुशल र सक्षम उम्मेदवार चयन गर्ने भनेका मतदाता नै हुन् । लोकतन्त्रमा निर्णयको सम्पूर्ण अधिकार मतदातामै हुन्छ। त्यसैले पनि लोकतन्त्रमा जनतालाई जनार्दन भनिएको हो।

अहिलेको निर्वाचन देशको भिन्न परिस्थितिमा हुन लागेको हो। अहिले देश संवैधानिक,राजनीति,आर्थिक लगायतका दृष्टिकोणले जटिल,तरल,अस्थिर र सङ्कट अवस्थामा छ। राज्य संयन्त्रका सम्पूर्ण अवयवहरू निकै कमजोर छन्। जनसमुदायमा सामाजिक सम्बन्ध र विश्वास टुटेको अवस्था छ। राज्यका कुनै पनि अङ्गप्रति जनविश्वास छैन। जनताहरूले आशा,विश्वास र भरोसा खोजेका छन्। देशलाई विश्वासिलो,बलियो र स्थिर बनाउने भनेको समयानुकूलको नीति र कुशल नेतृत्वले नै हो। देशले असल र सक्षम नेतृत्व नपाउँदा कुशासन र भ्रष्टाचारले जरा गाडेको हो।देशमा व्यवस्था परिवर्तन त भयो तर अवस्था परिवर्तन हुन सकेन। अब देशको अवस्था परिवर्तनको लागि योग्य र सक्षम जनप्रतिनिधि रोज्नु नै अहिलेको प्रमुख काम हो। 

नेपाली चलनचल्ती भाषामा अति भएपछि खति हुन्छ भनिन्छ त्यसैगरी जनताको आक्रोश थामिनसक्नु हुनाले नै गत भदौ २३ र २४ गते जेनजी प्रदर्शन/आन्दोलन/विध्वंशको भएको हो। यही कारणले संसद विघटन भएर नियमित रुपमा ८४ सालमा हुनुपर्ने निर्वाचन अहिले हुन लागेको हो। आम मतदाताले २१ फागुनको मतदानमा सहभागी हुँदै गर्दा भदौको जेन-जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको र अर्बौंको क्षति भएको घटनालाई निकै संवेदनशील भएर सोच्नुपर्छ। त्यसैले पनि यो निर्वाचन आवधिक र नियमित नभई विशेष निर्वाचन हो । 

अब देशको अवस्था परिवर्तनको लागि त्यही पुराना विचार र प्रवृत्तिलाई मत दिएर शहादत प्राप्त जेन-जीको सपना पूरा हुँदैन। लोकतन्त्रमा निर्वाचन भनेको दण्ड र पुरस्कारको हतियार पनि हो। ३५ वर्षसम्म देशमा अस्थिरता सिर्जना गरी बारम्बार सत्ताको रजगज गर्नेहरूलाई निर्वाचन प्रक्रियाबाट अब दण्ड दिनुपर्छ। अब देश बनाउन धेरै ढिला भएको छ। देशमा खास कुनै व्यक्तिहरूले राज्य र दललाई व्यक्तिगत कम्पनीजस्तो बनाउँदा देशमा कुशासन,भ्रष्टाचार,नातावाद र कृपावादले नराम्ररी जरा गाडेको हो। 

यो जरालाई उखेल्ने महत्त्वपूर्ण बिन्दु भनेको यही निर्वाचन नै हो। अब मतदाताहरूले विचारविहीन पुराना र थोत्रा अनुहारलाई बिदा गर्नैपर्छ। जेन-जी विद्रोहलाई नजरअन्दाज गर्दै अहिलेको निर्वाचनमा पनि केही काला अनुहारहरू बकम्फुस गफ र दिवा सपना बाँडेर अहंकारकै शैलीमा देखा परेका छन् । मतदाताहरूले आगामी फागुन २१ गते विगत ३५ वर्षको इतिहास र जेन-जी विद्रोहलाई स्मरण गर्दै निकै संवेदनशील र सचेत भएर काला दागीहरूलाई दण्ड दिएर बिदा गर्नुपर्छ। नयाँ भन्दैमा राम्रा पनि नहुन सक्छन् । यसमा पनि सोचविचार गरौँ ।

अहिले देशको करिब एक तिहाई जनसंख्या देशबाहिर छ । अहिले चुनावी प्रचारका क्रममा पुराना दलका जिम्मेवार शीर्षस्थ नेतृत्व र नेताहरूबाट प्रवासीहरूलाई निकै अपमान गरेको पनि सुनियो । देशमा केही भएको छैन भनेर हल्ला मच्चाउने प्रवासीहरू हुन् भनिएको छ। प्रवासीले विदेशमा बसेर त्यहाँको विकाससित नेपाललाई दाँजेर र आफू परिवारसित बस्न नपाउँदाको पीडाले दल र नेतालाई गाली गरेका हुन् पनि भनिएको छ । 

प्रवासीहरूमा रोजगारीकै लागि आफ्नो परिवारसित सँगै बस्न नपाई  देशबाहिर हुँदा पीडा र दर्द हुनु स्वभाविकै हो। उनीहरूले आम्दानीको श्रोत बिना देशको सम्पत्ति ब्रह्मलुट गरेर अतिउच्च किसिमको जीवनस्तर बिताउने राजनीतिक नेतालाई लक्षित गर्दै आक्रोश पोखेका हुन् । हिजो चप्पल पड्काउदै राजधानी छिरेकाहरूलाई अहिले यी आलिसान महल कसरी बने भनेर प्रश्न गर्दा प्रवासीलाई अपमान गरिएको हो। प्रवासीले निरपेक्ष रुपमा कसैलाई आरोप र गाली गरेका हैनन् । प्रवासीहरूलाई पनि देशको माया छ। भौगोलिक रुपमा जतिसुकै टाढा भएपनि देशको सुशासन र समृद्धिको लागि बोल्न र लेख्न पाउनु उनीहरूको पनि नैसर्गिक अधिकार हो।

देशमा सुशासन र रोजगारी नहुँदा लोकतन्त्रको उत्सव मानिने निर्वाचनबाट आज यति ठूलो जनसंख्या बन्चित हुनुपरेको हो।अब पनि नेपाली बाबुआमाले आफ्ना छोराछोरीलाई देश बाहिर पठाएर अनि आफ्ना घर,गाउँ वा सहर रित्ता बनाएर यी बकम्फुसहरूलाई देशको शासनसत्ता चलाइरहन दिनुहुँदैन । आज देशका युवा जनशक्ति खोज्न परदेश जानुपर्ने अवस्था छ।देशलाई रेमिट्यान्सबाट कहिलेसम्म धानिरहने हो र ? बाबुआमाहरू छोराछोरी भेट्न विदेश जाने परिस्थितिलाई रोक्नुपर्छ। बाबुआमा,छोराबुहारी र नातिनातिना नेपालमै बस्ने वातावरण सिर्जना गर्नुपर्नेछ,यसको लागि देशको नीति र नेतृत्व फेर्नुपर्ने हुनाले नयाँ अनुहारलाई विजयी बनाउनु अहिलेको महत्त्वपूर्ण आवश्यकता हो। 

यद्यपि यहाँ मैले खास कुनै उमेर समूहलाई मात्र नयाँ अनुहार नभनेर विचार र मुद्दा नयाँ भएकोलाई पनि नयाँ भनेको हुँ।३५ वर्षसम्म खास गुणात्मक रुपमा केही काम गर्न नसक्नेले अब छैटौं वा सातौँ पटक विजयी हुँदा केही गर्न सक्दैनन्,यिनीहरू बारम्बार असक्षम प्रमाणित भएका छन् भन्ने कुरालाई आम मतदाताले बुझ्नुपर्नेछ। यहाँ पुरानो भनेर सबै पुरानो पिढीँलाई अपमान गर्न खोजेको भने होइन। प्रजातन्त्रको पुन:बहालीदेखि निरन्तर सत्तामा बसेर देशलाई सदा अस्थिर बनाई भ्रष्टाचारमा डुबुल्की मारेका पात्रहरूलाई पुराना भनिएको हो । 

राजनीतिलाई पेसा बनाई अनेक बहाना बनाई सत्ता कब्जा गरी म्याजिक नम्बरमा खेल्नेलाई पुराना भनिएको हो। मतदाताले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के छ भने नयाँ भन्दैमा हावा,उटपट्याङ्,तमासाबाजि गर्ने,जादुगरी र अपरिपक्वप्रति भने निकै सचेत हुनुपर्ने पनि छ।केही अतिवादीहरूले यतिबेला नयाँ र पुरानोको भाष्य निर्माण गरेर चुनावी मसला पनि बनाएका छन्।नयाँ भनेका खासगरी अनुहार,विचार,एजेन्डा आदि नै हुन् । 

देशको अहिलेको जटिल र विषम परिस्थितिलाई सम्हाल्न सक्ने,सुशासन र समृद्धिको स्पष्ट विचार र एजेन्डा भएको दल वा उम्मेदवारलाई चिनेर मात्र मतदान गर्नुपर्छ।निर्वाचनको प्रचारप्रसारमा देखिएका कतिपय लोकरिझ्याईँ,लोकप्रियता,हावा,भिड,बकम्फुस गफ,आश्वासनले क्षणिक परिवर्तन होला तर त्यसबाट दीर्घकालीन र गुणात्मक परिवर्तन हुन सक्दैन। देशका समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न स्पष्ट विचार, एजेन्डा र योजना सहितको असल,सक्षम,इमान्दार, परिपक्व,जवाफदेही जनप्रतिनिधिलाई रोज्नुपर्छ।

अहिलेका देशका प्रमुख समस्या भनेका कुशासन र बेरोजगारी नै हुन्।देशमा एउटा असल नेतृत्व आएर नीति बनाउने हो भने लाखौं नेपाली देश फर्कने वातावरण बन्न सक्छ। आज विकासका पूर्वाधार गाउँमा पुगे तर गाउँमा मानिसहरू छैनन् । पर्यटन बिनाका भ्युटावर बने तर तिनको केही उपयोगिता नै छैन। देशको आवश्यकता भन्दा पनि नेतृत्वको सनकका आधारमा कतिपय पूर्वाधार बनेका छन् । 

गाउँ मा कृषि र रोजगारीलाई महत्त्व नदिँदा युवाहरू बाध्यताले देश छोड्ने अवस्था आएको हो।अब यस्ता सनकी, गफाडी र भ्रष्टाचारीलाई फाल्नै पर्छ । अब पनि परम्परित चिन्तन, लम्बेतान भाषण,चिल्ला र मीठा कुरा,दम्भ र अहंकारी शैली, बकम्फुस गफ र उखान टुक्काको प्रयोग गर्ने नेतृत्वका पछाडि लागेर र तिनैका कुरा पत्याएर अनि तिनैलाई भोट दिएर देश बन्दैन । 

देश बनाउन त कुशल,सक्षम,आत्मविश्वासी,इमान्दार र जवाफदेही नेतृत्व हुनुपर्छ।आम मतदातालाई देशमा सुशासन र समृद्धिकै लागि अर्को आन्दोलन/विद्रोह नहोस् भन्नका लागि पनि निकै विचार पुर्याएर र संवेदनशील भएर मतदान गर्नको लागि विनम्र अनुरोध गर्दछु । तपाईंहरूको अहिलेको मतदानले रोजगारीकै लागि प्रवास गएका हामी प्रवासीहरू अर्को पटकको निर्वाचनमा आफ्नो देशमा फर्केर निर्वाचन सहभागी हुन पाइयोस् र परिवारसँगै बसी देशमै पसिना बगाउन पाइयोस्। सम्पूर्ण मतदाताहरूमा स्वच्छ,स्वस्थ र मर्यादित निर्वाचनमार्फत असल र सक्षम प्रतिनिधि चयन गर्नको लागि हार्दिक शुभकामना ।। (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ