arrow

गगनले राजीनामा किन दिने ?

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ चैत १ आइतबार
rajendra-panthi-82-12-1.jpeg

प्रतिनिधि सभाको निर्वाचनको परिणाम भर्खरैमात्र सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणाम धेरैले आँकलन गरेभन्दा भिन्न अप्रत्याशित र अनपेक्षित आएको छ । निर्वाचन परिणाम अनुसार नयाँ र वैकल्पिक भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले करिब दुईतिहाई सिटको संख्या प्राप्त गरेको छ । तीन वर्षअघिमात्र जन्मिएको नयाँ पार्टीले सुनामी मत प्राप्त गर्यो भने स्थापित ठूला र पुराना नेपाली कांग्रेस,नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र मधेसवादी दलहरूले शर्मनाक पराजय भोग्नुपरेको छ । आम जनतामा पुराना पार्टीहरूप्रति अत्यन्तै वितृष्णा,आक्रोश र अविश्वास त थियो तर यो तहको अवस्थामा नै पुर्याउलान् भन्ने अनुमान चाहिँ थिएन । 

अब जनताले दिएको जनादेशलाई स्वीकार्नु बाहेक अरु विकल्प छैन । लोकतन्त्रको सबैभन्दा सौन्दर्य पक्ष भनेको जनताको जनादेशलाई सर्वोपरि मान्नु नै हो । अब पुराना दलले आफ्नो अस्तित्व जोगाई राजनीति गर्नुछ भने आफ्ना कमीकमजोरीलाई आत्मसात् गर्दै जनतासँग माफी माग्नुपर्छ । पुराना पार्टीहरूका केही शीर्ष नेताहरूको दम्भ, अहंकार र घमण्डले यो परिस्थितिको सिर्जना भएको हो । पुराना पार्टीका उम्मेदवारहरूको मतसंख्या हेर्दा पनि लाजमर्दो छ।राजनीतिलाई पूर्ण व्यवसाय बनाउँदा जनताले यो तहको दण्ड दिएका हुन्। पुराना पार्टीहरूले विचार,सिद्धान्त,कर्तव्य र नैतिकता गुमाई गैरजिम्मेवार भएर अति नै गरेको हुनाले अहिले त्यसको परिणाम भोग्नु परेको हो।

पुराना पार्टीहरू निर्वाचनमा यसरी कत्लेआम हुनुमा धेरै कारणहरू छन् । जनता कांग्रेस, एमाले, माओवादी जस्ता दलहरूबाट निकै आक्रोशित थिए । जनता पुरानालाई हेर्दाहेर्दा दृष्टि थकानमा थिए । अहिलेको निर्वाचनलाई गहिरो गरी नियाल्ने हो भने पार्टीकै संगठित वा क्रियाशील सदस्यले आफ्नो उम्मेदवार र पार्टीलाई समेत मत खसालेनन् । यसैले पनि पुराना पार्टीले आम मतदातालाई  मत दिएनन् भनेर गाली गर्ने ठाउँ नै छैन । 

पुराना पार्टीहरूले अहिलेको परिणामलाई सहज रूपमा नस्वीकारी हावा, हुल, जराविहीन, विचार नभएको जेसुकै भने पनि अहिलेको मत विवेकसम्मत हो । यो मत भनेको पुरानाप्रतिको आक्रोशको विष्फोट र अनि रास्वपाप्रतिको आशा र अपेक्षाको सम्मिश्रण हो । पुरानाहरू पटक पटक असफल प्रमाणित भएको हुनाले पनि अहिलेको निर्वाचनमा नयाँ, रवि र बालेनको हावा र हुरी बेस्सरी चलेर त्यसको प्रभाव परेको हो । 

हावा वा हुरी नै आयो भन्दैमा गत निर्वाचनहरूमा जस्तै जनताले आँखा नै चिम्लेर रास्वपालाई मत दिएका भने हैनन् । रास्वपालाई वैकल्पिकका रुपमा आशंका र विश्वासका साथ विवेकसम्मत मत दिएका हुन् । रास्वपाले प्राप्त गरेको यो मत उसको स्थायी मत भने होइन । अहिले रास्वपाले जनताको यो सुनामी मतादेशप्रति संवेदनशील भई जिम्मेवार भएर काम  गर्‍यो भने स्याबासी पाउँछ नत्र भने अहिलेका पुरानाको भन्दा झन् नराम्रो अवस्थामा पुग्ने निश्चित छ । 

जनता देशमा सुशासन र समृद्धिको लागि निकै आतुर छन् । जनतालाई सुशासन, समृद्धि र रोजगारी आजै, अहिल्यै र भर्खरै चाहिएको छ । रास्वपाले जनताका यी आशा, अपेक्षा र आक्रोशलाई सम्बोधन गर्न सकेन भने अहिलेकै मतको भारीले नै थिचिएर उठ्न गाह्रो हुनेछ । अहिले नै पनि सरकार नबनाउँदै रास्वपाभित्र पदका लागि अनेक खेलखण्ड र गुटबन्दी भएको सुनिन्छ । रास्वपाले निर्वाचनअघि बाचा गरेजस्तै पार्टीका वरिष्ठ नेता वालेन्द्र साह बालेनकै नेतृत्वमा योग्यता र क्षमताका आधारमा मन्त्रीमण्डल गठन गरोस् र जनतालाई जतिसक्दो छिटो सुशासन र समृद्धिको अनुभूति दिओस् । 

यस निर्वाचनले नेपालका पुराना पार्टीहरूमध्येको सबैभन्दा पुरानो र ठूलो पार्टी कांग्रेसलाई असह्य धक्का र पीडा दियो । आफूलाई लोकतन्त्रको पर्यायवाची मान्ने कांग्रेस यतिबेला मूर्छित भएको छ । कांग्रेसले यो तहको सजाय पाउला भन्ने धेरैलाई अनुमान नै थिएन । यही पुसको अन्तिममा विशेष महाधिवेशन मार्फत बदल्यौँ कांग्रेस, बदल्छौँ देश भन्ने कांग्रेसको नेतृत्व र नीतिलाई जनताले थाहै पाउन सकेनन् । 

नयाँको हावा र हुरीलाई बदलिएको भनिएको र बलियो भन्ने कांग्रेसले चिर्नै सकेन। जनताले विशेष महाधिवेशनबाट कांग्रेसको फेरिएको टाउको मात्र देखे, त्यसका अन्य अङ्गहरू फेरिएको नदेखेरेर पनि विश्वास गर्न सकेनन् । अहिले कांग्रेसको नेतृत्व र नीति परिवर्तन भए पनि कांग्रेसको प्रदेशदेखि गाउँसम्मको  संगठनमा पुरानै गिरिजादेखि देउवा कांग्रेससम्मको विरासतको राजनीति, प्रभाव, आचरण, शैली, प्रवृत्ति, क्रियाकलाप मेटिएका छैनन् । 

नेपाली कांग्रेसभित्र एकथरी सिद्धान्त र विचार भन्दा पनि दाइ,भाउजूबाट निर्देशित र परिचालित थिए; तिनीहरू चुनावमा निष्क्रिय बसे । अझ कतिपयले त विशेष महाधिवेशनपछिको नेतृत्वलाई हराउनका लागि अन्य दललाई मत मागेका प्रमाणसमेत बाहिरिए । अहिलेको निर्वाचनमा देउवा पक्षले नयाँलाई खुलेर साथ दिएन । नयाँ कांग्रेसले एउटा हातमा अदालतको फाइल र अर्को हातमा घोषणापत्र बोक्नु पर्यो । 

कांग्रेसभित्र आन्तरिक कलह छैन भने पनि पत्याउने अवस्था छैन । नेपाली कांग्रेसले विगत एक दशकदेखि नै सत्ताको लोभमा आफ्नो विचार, सिद्धान्त र संगठनलाई तिलाञ्जली दिई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले  अध्यक्ष केपी शर्मा ओलीको पुच्छर भएर नेपाली समाजप्रति अनुत्तरित भएका कुराहरूलाई जनताले बिर्सेका थिएनन् । ०७९ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुँदासमेत सत्ताको नेतृत्व गर्न सकेन । 

यो पार्टी सत्ताको म्युजिकल चेयरमा सहभागी हुन कहिले माओवादी र कहिले एमालेको पुच्छर बन्यो। कांग्रेस कहिले प्रचण्डको नेतृत्वको सरकारमा त कहिले ओली नेतृत्वको सरकारमा सहभागी भई तिनीहरूहरूले गर्ने सबै किसिमका कुकृत्यहरूको साक्षी बन्यो । पछिल्लो ओली नेतृत्वको सरकारमा सामेल हुँदा सरकारले गरेका हरेक किसिमका बदमासीको साक्षी रह्यो । 

नेपाली काग्रेसको यो चरित्रलाई जनताले पटक्कै मन पराएका थिएनन् । कांग्रेसले आफ्नो पहिचान देखाउन सकेन;काग्रेस कम्युनिस्ट चरित्रभन्दा भिन्न हुनै सकेन । सत्ताको लोभमा कांग्रेस यति कमजोर भयो कि पार्टी सभापति देउवा नभई प्रचण्ड र ओली नै हुन् कि भन्ने अवस्थासम्म पुग्यो । नेपाली कांग्रेस अनायासै रातारात सरकार परिवर्तन हुने खेलमा सहभागी भयो । अहिले बदलिएको भनिएको नेपाली कांग्रेसले यी पछिल्ला घटना बाहेक पुराना धमिजादेखि भुटानी शरणार्थीसम्मका थुप्रै काण्डहरूको भारी पनि बोकिरहेको छ । 

आज कांग्रेस परिवर्तन भयो भन्दैमा जनताले हिजोका कुरा बिर्सिएका छैनन् । त्यसैले पनि कांग्रेसलाई जनताले जुन तहको सजाय दिनुपर्ने थियो, त्यो दिएकै हुन् । वास्तवमा नेपाली कांग्रेसले यति सजाय पाउनुपर्थ्यो,पायो । यो जनताको सजायबाट कांग्रेसले पाठ सिक्नुपर्छ । सत्ताको वरिपरि घुमेर जनताको मन छुन सकिँदैन । राजनीति गर्नुछ र सत्तामा जानुछ भने गाउँ घर, पानी पँधेरामा कांग्रेस पुग्नुपर्छ र जनताको सुख दुःखमा साथ दिनुपर्छ । 

नेपाली कांग्रेसले जबसम्म आफ्ना पुराना र नयाँ सबै किसिमका गल्ती र कमजोरीलाई स्वीकार्दैन र जनतासँग माफी माग्दैन तबसम्म कांग्रेस नयाँ बन्नै सक्दैन र जनताले विश्वास पनि गर्दैनन् । नेपाली कांग्रेसले यी कुराहरूमा निर्मम र गहिरो समीक्षा गरोस् र साँच्चै नयाँ बनोस्।


नेपाली कांग्रेसले निर्वाचनमा शर्मनाक पराजय भोगेपछि एकथरीले नैतिकताका आधारमा सभापति गगनकुमार थापाले राजीनामा दिनुपर्छ भन्ने आवाज निकालेका छन् । गगन थापा स्वयंले पनि राजीनामा दिने मनस्थिति बनाएको भन्ने सुनिन्छ । के कांग्रेस यस्तो अस्वस्थ्य र कमजोर भएको अवस्थामा गगन थापाले राजीनामा दिएर पुन: शेरबहादुर देउवा वा पूर्णबहादुर खड्कालाई फर्काउन खोजेको हो त ? कांग्रेसको अस्तित्व जोगाउने, बचाउने र जीवन्तता दिने नै हो भने अहिले गगन थापाले राजीनामा दिनु हुँदैन । 

अहिलेको निर्वाचन परिणाम आउनुमा गगन थापाको नेतृत्वको दोष छैन । यद्यपि विगतमा गगनको कमजोरी छँदै थिएन भन्ने होइन । निर्वाचनअघि एक माघले जाडो जाँदैन अनि एक हारले केही फरक पर्दैन, बारम्बार अवसर आउँछन् भन्ने सभापति थापा अहिले यति छिटो किन अत्तालिएको वा हतासिएको ?  कांग्रेसले यस्ता चुनावी चोटहरू पहिले पहिले पनि त भोगिरहेकै हो त । 

लोकतन्त्रको सौन्दर्य भनेको निर्वाचन हो । निर्वाचनमा जित र हार त स्वभाविकै  हुन्छन् ।जनताहरू दलप्रति खुशी हुँदा पुरस्कार स्वरुप मतका भारी बर्साउँछ्न् भने बेखुशी हुँदा पराजयका दण्ड दिन्छन् । जनताले दण्ड दिँदा नैतिकताका आधारमा पार्टीको सभापतिले राजीनामा दिने पनि एउटा समय र अवस्था हुन्छ । पार्टी सभापति भएको दुई महिनामै सफल कि असफल भनेर मापन गरिनु हुँदैन । यसरी एउटा चुनावलाई मात्र आधार बनाएर सफल र असफलको मापन खोज्ने हो भने त कोही नेतृत्व पनि सफल हुन सक्दैनन् र पार्टी पनि चल्दैन र बच्दैन ।

नेपालको वर्तमान जटिल,अस्थिर, तरल राजनीतिलाई सम्हाल्न सरकारमै नभए पनि  कांग्रेसको सभापतिका रूपमा गगन थापा नै हुनुपर्छ । अहिलेको जेन-जी पुस्ताको अभिभावक बनेको वर्तमान रास्वपा सरकारलाई बाटो नबिराओस् भनेर सतर्कता गराउनको लागि पनि प्रमुख प्रतिपक्ष पार्टी सभापतिको रूपमा सभापति गगन थापा हुनुपर्छ । कसैले उत्तेजना, आवेग, रीसमा गगन थापाको राजीनामा माग्नु हुँदैन र गगन थापाले पनि हतासमा आएर राजीनामा दिनुहुन्न । 

गगन थापा संसदमा आफू उपस्थित नभए पनि सशक्त प्रतिपक्ष बन्नको लागि आफ्ना सांसदहरूलाई  निर्देशन दिनुपर्छ । सत्ता सरकारको र संसद प्रतिपक्षको हो भनिन्छ, यसरी संसदलाई गरिमामय र अर्थपूर्ण  बनाउन पनि  प्रतिपक्षको महत्त्वपूर्ण भूमिका हुन्छ। 

गगन थापाले अब चुनावको गहन समीक्षा गरी कांग्रेसमा बदलिएका कुरा लिएर जनतासँग जानुपर्छ । यस निर्वाचनबाट धेरै नयाँ परम्पराहरूको थालनी भएका छन् । अब संगठन र सदस्यका आधारमा भोट आउने परम्परा अन्त्य भएको देखिन्छ । पार्टीका कार्यकर्ता जतिबेला पनि मत परिवर्तन गर्न सक्ने अविश्वासिला भएका छन् । मतदाता वा आफ्नै कार्यकर्ताबाट मत पाउन काम, विश्वास र भरोसा दिलाउनुपर्छ । गगन थापाले अहिले विचलित भएका कार्यकर्तालाई सम्हालेर एक मन गराएर अबको नियमित १५ औँ महाधिवेशनको तयारीमा जुट्नुपर्छ । 

१५ औँ  महाधिवेशनबाट पनि गगन थापा सभापति बन्नुपर्छ । यहाँ म गगन थापाको अन्धभक्त भएर उनलाई देवत्वकरण गर्न खोजेको होइन । उनको नेपाली राजनीतिमा ठूलो योगदान छ । उनी एउटा परिपक्व नेता हुन् । गगन थापाले पार्टीलाई बलियो बनाएर आफ्नो परिपक्वता देखाउनुपर्छ । गगन थापाले समयमै १५ औँ महाधिवेशन सम्पन्न गरी फेरि सभापति बनेर आगामी स्थानीय तहको निर्वाचनको लागि तयारीमा लाग्नुपर्छ । 

अहिले हतारमा गगन थापाको नेतृत्वको समीक्षा गर्ने बेला भएको छैन । यस्ता आलाकाँचा कुराले कांग्रेसलाई थप कमजोर र घाइते बनाउँछ । अहिले गगन थापाले कत्ति पनि हतोत्साही नभई चोट लागेको कांग्रेसलाई मल्हमपट्टी लगाई तङ्ग्राई बलियो बनाउनुपर्छ । कांग्रेसलाई स्वच्छ, स्वस्थ्य, सफा,जीवन्त र चलायमान बनाउनुपर्छ । दलहरू बलिया हुँदा लोकतन्त्र बलियो हुन्छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ