arrow

मृत्युबोध, ठूलीआमा र पश्चातापका आँसु 

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०८२ फागुन २३ शनिबार
rajendra-panthi-23-11-082.jpg.jpeg

घरपरिवारका कुनै सदस्य वा आफन्तलाई गुमाउँदा जन्म,मृत्यु र जीवन भन्ने कुराहरू मस्तिष्कमा अलि बढी नै खेलिरहेका हुन्छन्।जन्म र मृत्यु भन्ने कुराहरू शाश्वत र प्राकृतिक नियमका कुराहरू हुन् भन्ने थाहा हुँदाहुँदै पनि मृत्युदेखि असाध्यै डर लाग्छ। सायद मृत्युका बारेमा बोध गर्न नसक्दा अलि बढी नै शोक र पीडा भएको हो कि?जन्म र मृत्युका बारेमा सामान्य जान्न र बुझ्न त सकिएला तर व्यवहारिक रुपमा बोध गर्न अत्यन्तै गाह्रो हुँदो रहेछ।मान्छे जुन दिन यो धर्तीमा जन्म लिएको हुन्छ, त्यसैदिन नै मृत्यु पनि लिएर आएको हुन्छ भन्ने कुरा बोध गर्न नसक्दा यसले पीडा दिएको हो कि जस्तो लाग्छ।यो मृत्यु यति भयभीत छ कि हामीहरू शब्दको उच्चारण गर्नसम्म डराउछौँ।

मानिस बोलचालमा सहजै रुपमा यो जिन्दगी भनेको दुईदिनको घामछाँया वा पानीको फोका हो जस्तो भन्ला तर वास्तविक जीवनमा परिआउँदा स्वीकार्न अत्यन्तै गाह्रो हुन्छ।मान्छेको मनमा उत्पन्न हुने माया,मोह,प्रेम,तृष्णा,अहंकार आदिले मृत्युलाई बोध गर्न कठिन बनाएका हुन्छन्।भागवत गीताको दोस्रो अध्यायको सत्ताइसौँ श्लोकमा जन्म र मृत्युका सम्बन्धमा यस्तो भनिएको छ-

जातस्य हि ध्रुवो मृत्युुध्रुर्वं जन्म मृतस्य च।
तस्मादपरिहार्येर्थे न त्वं शोचितुमर्हसि।

अर्थात जसको जन्म हुन्छ,उसको मृत्यु निश्चित छ।यसरी टार्न नसकिने कुरामा शोक गर्नु उचित होइन भनेको छ।भागवत गीतामा शरीर नष्ट भएपनि आत्मा नष्ट हुँदैन,आत्मा नित्य र शाश्वत हुन्छ,मानिसले पुराना लुगा फालेर नयाँ लगाएजस्तै आत्माले पुरानो शरीर त्यागेर नयाँ शरीर धारण गर्छ भनेको छ।सायद यही कुरा बोध गर्न नसक्दा हामी मृत्युदेखि डराएका हुन्छौँ।मृत्युलाई बोध गर्न मनलाई शून्यमा लैजानुपर्छ।विभिन्न शास्त्रहरूमा मनलाई स्थिर वा शून्य बनाउन जप,तप,ध्यान,योग नै गर्नुपर्छ भनिएको छ।गीताको दोस्रो अध्यायको एघारौँ श्लोकमा यस्तो भनिएको छ-

अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादांश्च भाषसे।
गतासूनगतागतासूश्च नानुशोचन्ति पण्डिता:।।

अर्थात् जो मानिसले मृत्युको बोध गरेको हुन्छ त्यसले मृत्युमा शोक गर्दैन किनकि उसले शरीर नष्ट भए पनि आत्मा नष्ट हुँदैन भनेर बुझेको हुन्छ। महाभारतमा युधिष्ठिरले आश्चर्य भनेको के हो भन्ने एक यक्षप्रश्नको उत्तरमा अरु मरेर गएको देखेर पनि आफूलाई अजम्बरी ठान्ने मान्छेहरूको मूर्खता यो संसारको सबैभन्दा आश्चर्य हो भनेका छन्।वास्तवमा यो संसारमा कुनैपनि जीव जन्मेपछ अनिवार्य मर्नुपर्छ भन्ने बोध हुनसक्यो भने जीवनको मूल्य बुझ्न र जीवनलाई सार्थकतातिर डोर्‍याउन सजिलो हुने देखिन्छ।

कवि शिरोमणि लेखनाथ पौड्यालको कालमहिमा कवितामा मृत्युको बारेमा यस्तो भनिएको छ-

भाका,भूल,दया,क्षमा र ममता,सन्तोष जान्दैन त्यो।
इन्द्रै बिन्ति गरून् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो।। 

माथिको श्लोकमा मृत्यु शाश्वत सत्य हो।यो प्राकृतिक नियम हो।मृत्युको अगाडि जति बिन्ति गरेपनि यसले  सुन्दैन भनिएको छ।जब मृत्युको समय आउँछ तब रोक्नै सकिन्न भने किन शोक गरी मानसिक पीडा भोगिरहने भन्ने भाव यस मार्फत दिइएको छ।


गीतकार कृष्णहरि बराल,संगीतकार सुरेश गैरे र प्रेम परियारको स्वरमा रहेको निकै लोकप्रिय गीतमा पनि मृत्युको वास्तविकतालाई  यसरी स्विकारिएको  छ- 

मर्ने कसैलाई रहर हुँदैन,तर नमरेको प्रहर हुँदैन।
भागेर जाउँ,कुन ठाउँ जाउँ,मान्छे नमर्ने शहर हुँदैन।

यस गीतमा मानिस कसैलाई  पनि मर्ने रहर हुँदैन।तर आज हरेक प्रहरमा मान्छे मरिरहेको हुन्छ।विश्वको जुनसुकै विकसित वा अविकसित मुलुकमा पुगेपनि मृत्युले छोड्नै सक्दैन।मृत्यु प्राकृतिक नियम र सत्य हो।

विज्ञानले भने जन्म र मृत्युलाई जैविक प्रक्रियाको रुपमा व्याख्या गरेको छ।आमाको डिम्ब र बुवाको शुक्रकीट मिलेर एउटा नयाँ कोशिका बन्छ।यही कोशिका विभाजित हुँदै अर्बौ कोशिका बनेर मानव शरीर तयार हुन्छ।शरीरमा रासायनिक प्रतिक्रियाले हामीलाई जिवित राख्छ।जबसम्म शरीरका अङ्गहरूले ऊर्जा उत्पन्न गर्छन् तवसम्म जीवित रहन्छ।जब मुटुको धड्कन रोकिन्छ  र श्वासप्रश्वास बन्द हुन्छ अनि मानिसको मृत्यु हुन्छ भनेर विज्ञानले बताउँछ।

आज यी जीवन,जन्म र मृत्यु के रहेछन् भनेर खोज्न र जान्न भर्खरै  आफ्नै परिवारभित्र घटेको एउटा दु:खद घटना र चिन्ताको औषधि के होला भन्ने कुराले नै यो आलेख तयार गर्न उत्प्रेरित गराएको हो।विभिन्न दर्शनलाई हेर्दा वा पढ्दा मृत्यु भनेको के हो भन्ने कुरा जान्ने र मृत्युका बारेमा बोध गर्न सकियो भने मृत्यु भन्नेले अलि कम पीडा दिन्छ कि जस्तो लाग्यो।हाम्रो मायाजालले गर्दा मृत्यु डरलाग्दो र कहालीलाग्दो भएको रहेछ।मान्छेले मृत्युका बारेमा बुझ्न सक्यो भने जीवन भोगाइ पनि अत्यन्तै सरल र रसिलो हुन्छ भनेर विद्वानहरूले बताएका पनि छन्।बुद्धले जो बुद्धिमानी छ ऊ मृत्युको भयदेखि डराउँदैन र मृत्युको चेतनाले हरेक पललाई अनमोल बनाउँछ भनेका छन्।शास्त्रहरूमा मृत्युबोधले अनावश्यक मोह र अहंकार घटाउँछ र मृत्युलाई नबुझी जीवनको पूर्णता बुझ्न सकिँदैन भनिएको छ।मृत्युबोध गर्न सकियो भने वर्तमान समय र जीवनको महत्त्वलाई झन बुझ्न सकिन्छ भनेर शास्त्रहरूमा बताइएको छ।जसले अहंकार त्याग्न सक्छ उसले मृत्युसँग डराउन पर्दैन भनेर कविरले भनेका छन्।

अहिलेको यो प्रविधिको विकासले गर्दा मानिसले कुनै पनि सुखद वा दु:खद खबर यति छिटो थाहा पाउन सक्छ कि कुनै पनि घटना वा दुर्घटना घटेको क्षणभरमा विश्वभरि फैलिन्छ।कहिलेकाहीँ सामाजिक सन्जाल फेसबुक,युट्यब,टिकटक आदि स्क्रोल गर्दा झसल्यास्स,पत्याउनै गाह्रो,हृदय विदारक घटनाहरू सुन्नु र देख्नु पर्ने पनि।हुन्छ।अहिलेको यो अत्याधुनिक प्रविधिको यस्तो हाते डिभाइसको प्रयोगले गर्दा कहिलेकाहीँ आफन्तका दु:खद घटनाहरू एक्कासि सुन्दा वा देख्दा रक्तचाप बढ्ने,मुटुको धड्कन बढ्ने,तीव्र भावनात्मक तनाव हुने र  हृदयघातसम्म हुने घटना हुन सक्छन्।एक्कासि कहिँकतै कल्पना पनि गर्न नसक्ने कुनै दु:खद खबर सुन्दा सपनाजस्तो पनि लाग्छ।यस्ता घटनाहरूलाई सामाजिक संजालमा पोस्ट गर्ने बेलामा निकै संवेदनशील हुनुपर्ने देखिन्छ।  

अब आफ्नै घरमै घटेको भर्खरैको दु:खद मृत्युको कुरा गरौँ।हाम्रो पुर्ख्यौँली घरको नाम खहरेखोला हो।खहरेखोला भन्ने घर गुल्मी जिल्लाको मदाने-७ गैराखर्कको गाउँमा पर्दछ।अहिले यो घरका सदस्यहरू बसाइँसराइ गरी बुटवल,दाङ,काठमाडौँतिर बसोबास गरेका छौँ।यही परिवारमा फागुन ११ मा एउटा दु:खद घटना घटेको थियोे।म देशबाहिर भएकोले घटना घटेको अर्को दिन थाहा पाएँ। फागुन १२ मा फेसबुक स्क्रोल गर्दैगर्दा भाइबुहारी रीतालाई ट्याग गरी ठूलीआमालाई श्रद्धाञ्जली दिइएको तस्बिर पोस्ट गरिएको थियोे।ठूलीआमाको स्वास्थ अवस्थाका बारेमा दैनिकजसो म अवगत त थिएँ।तर एक्कासि तस्बिर देख्दा शोक र पीडा बेस्सरी  दियो।सायद आफू देश बाहिर भएर हो कि के हो यस्तो आफन्तको मृत्युको घटनाले अलि बेस्सरी नै हृदय छुन्छ।आफन्तले पाएको विभिन्न पीडामा आफूले सक्दो सहयोग गर्न सकिनँ,देख्न पाइनँ,भेट्न पाइनँ,बोल्न पाइनँ भन्ने कुराले अलि बढी पिरलो र चिन्तित बनाउँछ।ठूलीआमालाई हामी सम्बोधन गर्दा वा परिवारमा कुराकानी गर्दा चुँधारे ठूलीआमा भन्थ्यौँ।उहाँको माइतीघर प्युठानको चुँधारा भएकोले चुँधारे भनिएको हो।

अहिले यो शोकको घडीमा आफ्नो अभिभावक ठूलीआमालाई गुमाउँदै गर्दा उहाँसँगका विगतका स्मरणहरू मानसपटलमा झल्झल्ति आइरहेका छन्।उहाँका संघर्ष र प्रेरणाका कथाहरू धेरै छन्।१२ वर्षको उमेरमा विवाह गरेर माइतीघरभन्दा धेरै टाढा अर्कैको घरलाई आफ्नो बनाएर बिताइएका ती दिनहरू पक्कै पनि कठिन र संघर्षपूर्ण थिए भनेर सहजै अनुमान गर्न सकिन्छ।उहाँको जीवन भोगाइलाई हेर्दा  कठिनताको पारपछि सरलता,सहजता र सौन्दर्य पनि आउँछन् भनेर देख्न सकिन्छ।सायद जीवन भनेको यस्तै सुखदुख वा उकालीओराली नै पनि हुन्।जीवनको अन्त्यतिर रोगले अलि बढी नै च्यापेर दु:ख पाउनु भयो।

आज भन्दा तीनवर्ष पहिले उहाँसितको पछिल्लो भेटमा उहाँले भन्नुभएको एउटा कुराले आज उहाँलाई गुमाउँदै गर्दा मेरो  मस्तिष्कको गहिराईमा निकै नै छोइरहेकै छ। उहाँले त्यो बेला रुँदै भन्नुभएको थियो -बाबू !ठूलोबुबा बितेको यति समय भयो,आज प्रविधिको यति सहजता छ,सबैका हातहातमा मोबाइल छन् तर तिमीले एक आखर ठूलीआमा!हजुरलाई कस्तो छ भनेर फोन गरिन्यौ नि।त्यसबेला म बोल्न सकेको थिइनँ।मेरा र उहाँका आँखाबाट बरबर्ती आँसु आएका थिएँ।ठूलीआमा!मैले जीवनमा ठूलो गल्ती गरेँ,मलाई माफ दिनुस् भनेर पश्चातापको महशुस गरेको थिएँ। ठूलीआमाका ती बोली र आँसुमा आशा,माया,स्नेह,आशिर्वाद थिए भने मेरा आँसुमा आदर, सम्मान, गल्ती, कमजोरी, पश्चाताप थिए । आज विगतका ती कुराहरू स्मरण गर्दैगर्दा फेरि पनि मैले मेरा अभिभावक,आफन्त र शुभचिन्तकसित माफ माग्न चाहन्छु। 

अभिभावकले आफ्ना सन्ततिबाट के कुराको आशा राखेका हुँदा रहेछन् र सन्ततिका पनि के कस्ता कमजोरी हुँदा रहेछन् भन्ने कुरा मेरै घटनाबाट थाहा पाएँ।आफ्ना अभिभावक,आफन्त र शुभचिन्तकसँग भेट गर्ने वा फोन गर्ने भन्ने चाहना त कसको नहोला र ? एकअर्कामा हार्दिकता,संवेदना र मायाप्रेम हुँदाहुँदै पनि कतिपय अवस्थामा व्यक्तिको स्वभाव,परिस्थिति,समयले,भौगोलिक दूरताले गर्दा पनि सम्बन्ध टाढा हुँदो रहेछ । हामीहरूबीच एकआपसमा जोडिने र बाँधिने कुरा भौतिक रुपमा मात्र नभए आत्मिक पनि हुन् । आज प्रविधिको सहजताले संसार एक घर हुन पुगेको छ। भौतिक रुपमा भेटघाट हुन नसके पनि माया, प्रेम, सद्भाव, संवेदना, हार्दिकताहरू साट्न सकिन्छ । आज विज्ञानका पछाडि अलि धेरै दौड्दा हामी मानवीय संवेदनाका धेरै कुराहरू गुमाउँदै गएका छौँ । यसले गर्दा आज मान्छे निरश, एक्लो अनि निर्जीव वस्तुजस्तो हुँदै गएको देखिन्छ । म पनि यही समाज र युगकै मान्छे हुनाले यसबाट अछुतो हुने कुरै भएन ।

आज ठूलीआमा गुमाउँदाको शोकको घडीमा यी विभिन्न स्मरणहरू मानसपलटमा आइरहेका हुन् । अब ठूलीआमा यो संसारमा हुनुहुन्न । तर ठूलीआमा भनेर बोलाउँदा है,बा ! भनेर दिएको प्रतिउत्तर कानमा गुन्जिरहेकै छन् । ठूलीआमाको जन्म विसं.२००८ साल माघ १ गते प्यूठान जिल्लाको चुँधारामा भएको थियो । उहाँको पिताको नाम भक्तिराम पोखरेल र माताको नाम हेरम्बा  पोखरेल थियो । ठूलीआमाको नाम उमादेवी हो । उहाँ परिवारको जेठो सन्तान हुनुहुन्थ्यो । 

उहाँका पाँचजना भाइहरू र एक बहिनी हुनुहुन्छ।उहाँको विवाह २०१६ सालमा गुल्मी धुर्कोट भनभने खहरेखोलाका हाम्रो पूज्यनीय ठूलोबुवा गोपाल प्रसाद पन्थीसँग भएको थियो । ठूलीआमालाई २०४३ सालमा आँखामा समस्या हुनाले उहाँले एउटा आँखाको दृष्टि गुमाउनु भएको थियो । एउटा आँखाको दृष्टि गुमाएपछि ठूलीआमाको दैनिकी केही जटिल बन्यो ।

ठूलोबुबा अत्यन्तै मेहनती र जाँगरिलो हुनाले घरायसी काममा ठूलीआमालाई निकै सहयोग गर्नुहुन्थ्यो । उहाँहरू २०५८ मा गुल्मीबाट बसाइँसराइ गरी कपिलवस्तु जिल्लाको तौलिहवामा आउनुभयो । ठूलीआमा एक त आँखाको कमजोरी अनि विस्तारै स्वासप्रश्वासमा समस्या देखापर्दै गयो । उहाँहरू पछिल्लो करिब एक दशकदेखि नै काठमाडौँ बसाइँ सर्नु भएको थियो । ठूलोबुवा गोपाल प्रसाद पन्थीको निधन २०७७ माघ २३ गते भएको थियो । उहाँहरूका दुई छोराहरू तीर्थ पन्थी र रमेश पन्थी हुनुहुन्छ।

अन्त्यमा,जीवन भोगाइका अनेक पाठहरू सिकाई यस संसारमा नफर्किने गरी स्वर्गलोकमा महाप्रस्थान गर्नुभएकी प्यारी ठूलीआमालाई भावपूर्ण श्रद्धाञ्जली। हजुरको आशिर्वाद पाइरहूँ।ॐ शान्ति:शान्ति:शान्ति:।। 
   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ