arrow

दाङ देउखुरीको स्वर्णिम इतिहास पल्टाउँदा

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ माघ ३ शनिबार
rajendra-panthi-article-03-10-082.jpg

गत ३ जनवरी २०२६ का दिन एकाबिहानै फेसबुक पेज स्क्रोल गर्दैगर्दा प्रिय सहकर्मी मित्र सुवास गौतमले आफ्नै काका पर्ने डा सुदीप गौतमद्वारा लिखित दाङ देउखुरीको स्वर्णिम इतिहास पुस्तक अध्ययन गरेको कुरा पोस्ट गरेका थिए । उनको पोस्ट देखेर मैले पनि यो पुस्तक पढ्न पाऊँ भनी कमेन्ट गरेको थिएँ । सुवासजीले उक्त पुस्तक पढ्न चाहेमा उपलब्ध गराउँछु पनि भने र मैले पढ्ने इच्छा जाहेर गरेँ । 

सुवासजीले म काममै गएको बेलामा ल्याइदिए र मैले यसलाई तीन बसाईमा सरसर्ती पढेँ । करिब चार पाँच महिना पहिले दाङकै सेरोफेरोमामा आधारित रहेको नेत्रलाल अभागी स्मृतिग्रन्थ पढेको हुनाले मलाई दाङको भौगोलिक,राजनीति र सामाजिक वस्तुस्थिति, अवस्था र आन्दोलनका बारेमा थोरै भएपनि स्मृतिहरू ताजै थिए । डा सुदीप गौतमद्वारा लिखित यो पुस्तकबाट दाङको बारेमा थप राजनीतिक घटना र अन्य पक्ष पनि जान्ने सुवर्ण अवसर प्राप्त भयो।

यस पुस्तकमा दाङको मात्र नभएर नेपालको २००७ अघि र पछिको केन्द्रीय राजनीतिक घटनाहरूलाई पनि समेटिएको छ।लेखकले निकै मिहिनेत गरेर यो पुस्तक तयार गरेको देखिन्छ।लेखकले पुस्तकको पृष्ठ ३६५ देखि ३७४ सम्म सन्दर्भ ग्रन्थ सूची र पृष्ठ ३७५ देखि ४३८ सम्म  ४५ वटा परिशिष्टमा आफूले पढेका र प्राप्त गरेका विभिन्न समयमा प्रकाशित पुस्तक,लेख,प्रतिवेदन,दस्तावेज र ऐतिहासिक लिखित सामग्रीहरूलाई हुबहु प्रकाशित गरिदिएका हुनाले पनि पुस्तक थप एउटा प्रामाणिक ऐतिहासिक दस्तावेज बन्न पुगेको छ। यो पुस्तक २०८२ सालमा बी.एन.पुस्तक संसार प्रा.लि काठमाडौँद्वारा प्रकाशित भएको थियो र यसमा जम्माजम्मी ४३८ पृष्ठ संख्या रहेका छन्।

यो पुस्तकका बारेमा केही थोरै समीक्षा गर्दागर्दै मेरो आफ्नो दाङसँगको सम्बन्धलाई थोरै जोड्न मन लाग्यो।मेरो दाङसित परिवार,वंशगत र गोत्रीय दृष्टिकोणले समेत आत्मीय र भावनात्मक सम्बन्ध पनि छ।गुल्मीको धुर्कोट गैराखर्क भनभनेका खहरेखोलेहरूका केही वंशजहरू,धुर्कोटेली पन्थीहरू अनि मेरा आफन्तहरू समेत दाङ र देउखुरी उपत्यकामा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने हुनाले पनि दाङ मेरो अध्ययन र रुचिको विषय पनि रहेको छ।

म भौतिक रुपमा भालुवाङ हुँदै स्वर्गद्वारी र प्युठान जाँदा वा फर्कदा बाटोको रुपमा बाहेक अन्यबेला दाङ जाने संयोग चाहिँ मिलेको छैन। घोराहीको मसिनामा पर्ने ब्रह्मचारी टोल,नयाँ सब्जी मण्डी,रतनपुर,बडहरा,गुलरिया अनि तुलसीपुरका दुधरास,गणेशपुर पार्क त्यस्तै गढवाको बालाखुटी आदिजस्ता  नामसित भने म परिचित छु।म समयसमयमा मित्रहरूसँग भेटघाट र आफन्तसित फोनमा भए पनि आत्मिक र भावनात्मक तरिकाले दाङसित साक्षात्कार भइरहेकै हुन्छु ।

त्यस्तै यो पुस्तकभित्र प्रवेश गर्नुभन्दा पहिले दाङ जिल्लाको बारेमा पनि सामान्य जानकारी दिन उपयुक्त लाग्यो।अहिलेको दाङ जिल्लाभित्र रहेको एउटा प्रसिद्ध उपत्यकाको नाममा जिल्लाको नाम नै दाङ राखिएको छ।नेपालको पश्चिममा पर्ने भित्री तराईको एउटा जिल्ला दाङ हो।दाङ र देउखुरी यस जिल्लाका प्रसिद्ध उपत्यका हुन्। दाङ र देउखुरीको नामकरणको सन्दर्भमा पहाडका मैदानलाई बुझाउने संस्कृतको द्रोण शब्दबाट दाङ र पहिलो बस्ती दवरपुरबाट देवपुरी भन्दाभन्दै देउखुरी भएको हो भन्ने किम्वदन्ती पाइन्छ।दाङ लुम्बिनी प्रदेशमा पर्दछ।दाङ क्षेत्रफलका दृष्टिले नेपालका तराईका जिल्लाहरू मध्ये कैलालीपछिको दोस्रो ठूलो जिल्ला हो ।

दाङका मूल आदिवासी भनेका थारू हुन् । विस.२०१४ सम्म दाङमा थारूहरूको बाहुल्य रहेको थियो । दाङको देउखुरी उपत्यका अन्तर्गत गढवा गाउँपालिका अन्तर्गतको भालुवाङमा लुम्बिनी प्रदेशको राजधानी रहेको छ।यस जिल्लामा दुई उपमहानगरपालिका,एक नगरपालिका र सात गाउँपालिका रहेका छन्।

दाङ जिल्लाको दाङ उपत्यका दक्षिण एशियाकै सबैभन्दा ठूलो उपत्यका पनि हो । दाङमा मुख्य रुपमा बबई र राप्ती नदी रहेका छन्।दाङको पूर्वमा प्युठान,अर्घाखाँची र कपिलवस्तु जिल्ला पश्चिममा सल्यान र बाँके जिल्ला उत्तरमा सल्यान,प्युठान र रोल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेशका बलारामपुर र श्रीवस्ती जिल्ला पर्दछ्न्। विसं.२००८ सालको जेठ ३ गते दाङ औपचारिक रुपमा छुट्टै प्रशासनिक जिल्ला कायम भएको थियोे।यहाँका प्रथम बडाहाकिम अनिरुद्र प्रसाद सिंह भएका थिए ।

एक ऐतिहासिक दस्तावेजका रूपमा रहेको सङ्ग्रहणीय कृति दाङ देउखुरीको स्वर्णिम इतिहासका लेखक डा. सुदीप गौतमको जन्म दाङको हापुरमा पिता शंकर प्रसाद गौतम र माता इन्दिरा गौतमको कोखबाट भएको थियो । राजनीतिक इतिहासमा विद्यावारिधि गरेका सुवेदी महेन्द्र बहुमुखी क्याम्पस दाङमा प्राध्यापनरत छन् ।

कहिले वकील, कहिले राजनीतिशास्त्री र कहिले पत्रकार हुँदै अहिले खासगरी प्राध्यापक पेशा अँगालेका लेखक सुवेदी हजुरबुवा पण्डित शालिग्राम गौतम र कान्छा हजुरबुवा पण्डित टेकनाथ गौतमको वंशानुगत प्रभाव र प्रेरणाबाट लेखन,अध्ययन,अनुसन्धानमा लागेका थिए।सुदीप गौतम भनेको मूलतः दाङको पत्रकारिता र साहित्यका क्षेत्रमा एक सुपरिचित नाम पनि हो। प्रस्तुत कृति सुदीप गौतमको आफ्नै विद्यावारिधि तहको शोधपत्रको सम्पादित अंश र थप खोजमूलक अनुसन्धानात्मक कृति हो।सुदीप गौतमको परेलीमा बाढी(गीत गजल सङ्ग्रह,२०५९) प्रकाशित भएको छ। 

यस पुस्तकको शुरुमा प्राडा शिवकुमार सुवेदीको लामो शुभकामना मन्तव्य रहेको छ।यसमा शिव कुमार सुवेदीले लेखकको खोज र अनुसन्धानलाई निकै प्रशंसा गर्दै दाङ भूमिमा दङालीहरूको सक्रिय प्रयासमा भएका ऐतिहासिक सन्दर्भलाई तत्कालीन प्रमाणहरूको सङ्कलन र विश्लेषण गरी सरल भाषामा प्रस्तुत गरिएको पहिलो कृति भनेका छन्। उनले आफ्नो मन्तव्यमा यो पुस्तक वर्तमानका पाठकलाई मात्र होइन भावी सन्ततिका लागि पनि सङ्ग्रहणीय ऐतिहासिक दस्तावेज हो भनेका छन् । 

डा टीकाराम उदासीको शुभकाममा मन्तव्यमा विश्व र नेपालको इतिहासको लेखन परम्पराको चर्चा गर्दै सुदीप गौतमको चेतना,सामाजिक सरोकार र आफ्नो समाजप्रतिको अनुरागलाई केन्द्रमा राखेर दाङको आधुनिक राजनीतिक इतिहासलाई पाठक सामु ल्याइदिएकोमा बधाई दिएका छन्।त्यस्तै सुन्दर गौतमले सबै पढेलेखेका मानिसहरू लेखक बन्ने रुचि राख्दैनन् र रुचि भएकाहरू सिद्धहस्त लेखक नबन्न सक्छन् तथापि एक अनुसन्धानात्मक कृतिको लेखक बनेर अर्थपूर्ण मानव जीवनका लागि प्रयास गरिनु नै स्वर्णिम सन्दर्भ हो भन्दै शुभकामना दिएका छन् । 

लेखक सुदीप गौतमले प्रसव अनुभूति शीर्षक दिएर यो पुस्तक तयार हुनुको पृष्ठभूमि,वंश र आदरणीय विद्यालयीय शिक्षकको प्रशंसा,आफ्नो इतिहास र राजनीति अध्ययनप्रति रुचिको सन्दर्भ र घटना,श्रीमतीको सहयोग र प्रेरणा,सिमजे विश्वविद्यालयबाट प्राप्त गरिएको विद्यावारिधि उपाधिको सन्दर्भका कुरा उठान गर्दै यो पुस्तक पूर्णता होइन र पूर्ण इतिहास पनि होइन भनेर पाठक समक्ष समीक्षा र समालोचनाको अपेक्षाको आव्हान गरेका छन् ।

यो पुस्तक नौ खण्डमा संरचित छ। खण्ड एकको परिचयमा दाङको अवस्थिति र ऐतिहासिक पृष्ठभूमिका बारेमा चर्चा गरिएको छ।यस खण्डमा दाङका विभिन्न ठाउँहरूमा प्रागऐतिहासिक संस्कृति विकासका प्रमाण भेटिएका र मध्यपाषाणकालीन र नवपाषाणकालीन औजार प्राप्त गरिएको प्रामाणिक तथ्यहरूको चर्चा गरिएको छ । लेखकले प्राप्त भएजतिका ऐतिहासिक प्रमाणलाई प्रस्तुत गरी नेपालको एकीकरणकालीन अवस्था हुनु पूर्वको दाङको राजनीतिक अवस्थालाई चर्चा गरेका छन् । 

खण्ड दुईमा नेपालको एकीकरणकालीन अवस्थाका विभिन्न घटनाहरू र तुलसीपुर राज्य,सल्यान/फलाबाङ् राज्य अनि शेष दाङ देउखुरी इतिहासका विभिन्न घटनाहरूलाई सिलसिलेवार तरिकाले प्रस्तुत गरिएको छ।खण्ड तीनमा नेपालको जनक्रान्तिमा दाङ र वरिपरि जिल्लाको योगदानलाई प्रस्तुत गरिएको छ।

यसमा २००७ सालको जनक्रान्तिको शुरूआत, कोइलावास कब्जा, कोइलावास जनसरकार गठन, देउखुरी कब्जा, दाङ कब्जा,प्युठान कब्जा,सल्यान कब्जा,दाङ प्रान्तीय जनसरकारको गठन र २००७ सालको सरकारमा सहभागिता जस्ता शीर्षकमा विभिन्न घटनाहरूको खोज गरी विवरण प्रस्तुत गरिएको छ।

खण्ड चारमा २००७ सालदेखि २०१५ सम्मको नेपालका राजनीतिक घटनाहरू र त्यसमा दाङ जिल्लामा घटित घटनालाई समेटिएको छ।यसमा २००७ सालको जनक्रान्तिपछिको अवस्था,पहिलो सल्लाहकार सभा,राज्य उन्मूलन आन्दोलन,दाङमा कम्युनिस्ट पार्टीको स्थापना,गणेशमान सिंहको दाङ आगमन, काङ्ग्रेसको राजनीतिक प्रशिक्षण शिविर र बिपीको दाङ आगमन, दोस्रो सल्लाहकार, २०११ सालको काण्ड, भवनाथ घटना, नेपाली काङ्ग्रेसको छैटौँ महाधिवेशन, भद्र अवज्ञा आन्दोलन, तेस्रो सल्लाहकार सभा, पहिलो आम निर्वाचन २०१५ सम्मका विभिन्न राजनीतिक घटनाहरूको चर्चा गरिएको छ ।

खण्ड पाँचमा पहिलो आम निर्वाचन र किसान आन्दोलनको बारेमा चर्चा गरिएको छ।यस खण्डमा नेपालमा सम्पन्न पहिलो आम निर्वाचन र त्यसले दाङमा ल्याएको राजनीतिक परिवर्तनलाई समेटिएको छ। यसमा दाङमा किसान आन्दोलनको पृष्ठभूमि, बेलुवा बन्जारीमा किसानहरूको आन्दोलन कसरी अघि बढ्यो, सरकारको नीति कस्तो रह्यो भन्ने कुराको व्याख्या गरिएको छ। खण्ड छ मा २०१७ सालदेखि २०४६ सम्मको विभिन्न राजनीतिक घटनाहरूलाई समेटिएको छ।

यसमा तेस्रो सशस्त्र आन्दोलन २०२८,२०३६ को विद्यार्थी आन्दोलन,२०४२ सालको सत्याग्रहमा दाङ,२०४६ सालको आन्दोलन र दाङ आदि जस्ता शीर्षकहरूमा नेपालका विभिन्न राजनीतिक घटनाहरूलाई समेटिएको छ।खण्ड सातमा पञ्चायतकालीन निर्वाचनमा दाङको सहभागितालाई उल्लेख गरी  राष्ट्रिय पञ्चायत,जिल्ला पञ्चायत,नगर पञ्चायत र गाउँ पञ्चायत निर्वाचन चर्चा गर्नुका साथै ती निर्वाचनमा निर्वाचित भएका व्यक्तिहरूको विवरण समेत दिइएको छ । पुस्तकको आठौँ खण्डमा २०४८ सालको संसददेखि २०६२ सालको निर्वाचनसम्मको विवरण पाइन्छ ।

यसमा घोराही गोली काण्ड,प्रजातान्त्रिक निर्वाचन,माओवादी सशस्त्र विद्रोह र दाङ,राजदरबार हत्याकाण्ड र राजाको सक्रियता,संसद विघटन र पुनःस्थापना आन्दोलन,बाह्रबुँदे सहमति,लोकतान्त्रिक आन्दोलन प्रारम्भिक चरण र उमेश चन्द्र थापाको सहादत शीर्षकमा विभिन्न ऐतिहासिक घटनाहरू समेटिएका छन्।त्यस्तै अन्तिम खण्डमा लोकतान्त्रिक आन्दोलन र त्यसपछिका निर्वाचनको चर्चा गरिएको छ ।

यसमा १९ दिने जनआन्दोलन पूर्व तयारी, १९ दिने जनआन्दोलनको दैनिकी, शाही सम्बोधन र विघटित प्रतिनिधि सभाको पुनःस्थापना, अन्तरिम व्यवस्थापिका, संविधान सभा निर्वाचन २०६४, थरूहट आन्दोलन, सविधान सभा निर्वाचन २०७०,प्रतिनिधि सभा निर्वाचन २०७४,प्रदेश निर्वाचन २०७४,राष्ट्रिय सभा निर्वाचन २०७४, स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ जस्ता शीर्षकहरूमा  राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनका विवरणहरू प्रस्तुत गरिएको छ।पुस्तकको अन्तिम अध्यायमा समग्र खोज र अध्ययनको उपसंहार र निष्कर्ष प्रस्तुत गर्दै लेखकले दाङको  इतिहास निकै समृद्ध रहेको र यस्तो ऐतिहासिक सामग्री तयार गर्न पाएकोमा गौरवान्वित महशुस गरेका पनि छन्।

डा.सुदीप गौतमले यस पुस्तकको नाम दाङ देउखुरीको स्वर्णिम इतिहास(राजनीतिक घटना) भनेर राखे तापनि यसमा नेपालको केन्द्रीय राजनीतिक इतिहासमा घटित विभिन्न घटनाहरूको इतिहास पनि पढ्न पाइन्छ।दाङ जिल्ला राजनीतिक, भौगोलिक,शैक्षिक,जातीय आदि  लगायतका विभिन्न दृष्टिकोणले एक ऐतिहासिक जिल्ला हो।नेपालका विभिन्न राजनीतिक परिवर्तनका आन्दोलनहरूमा दाङको महत्त्वपूर्ण योगदान रहेको कुरालाई यस पुस्तकमा पढ्न पाइन्छ।२००७ को प्रजातान्त्र प्राप्तिको आन्दोलन,२०१६/२०१७ को आन्दोलन,२०४६ को आन्दोलन र २०६२/६३ को आन्दोलनमा दाङको ठूलो योगदान रहेको देखिन्छ । 

दशवर्षे सशस्त्र युद्धमा दाङले भोगेका अनेकौँ घटनाहरूलाई पनि यस पुस्तकमा समेटिएका छन्।नेपालको सरकारको मन्त्री मण्डलको इतिहासलाई हेर्दा २००७ सालको राणा-काङ्ग्रेसको संयुक्त सरकारमा काङ्ग्रेसको तर्फबाट दाङका २३ वर्षीय भरतमणि शर्मा घिमिरे खाद्य तथा कृषि मन्त्री बनेका थिए भने २०१५ सालको बीपी कोइरालाको सरकारमा दाङकै परशुनारायण चौधरी शिक्षा मन्त्री बनेका थिए भन्ने कुरालाई विभिन्न घटना र सन्दर्भसहित यस पुस्तकमा पढ्न पाइन्छ ।

यसरी दाङमा पहिलेदेखि नै नेपालको राजनीतिमा केन्द्रकै नेतृत्व गर्न सक्ने व्यक्तित्वहरू रहेको कुरा इतिहासबाट जानकारी पाइन्छ।आज पनि नेपालको राजनीतिक,शैक्षिक,प्रशासनिक लगायतका क्षेत्रमा नेतृत्वका दृष्टिकोणले दाङ अगाडि नै देखिन्छ।यो समग्र दङ्गालीहरूको लागि एउटा महत्त्वपूर्ण गौरवको विषय हो।

आज दाङ जिल्लाले चेतना,शिक्षा र विकासको दृष्टिकोणले अन्य जिल्लाको तुलनामा फड्को मारिरहेकै देखिन्छ।तर विभिन्न आन्दोलनमा दङालीहरूको महत्त्वपूर्ण योगदान र नेपालको विभिन्न क्षेत्रमा दाङकै नेतृत्व हुँदाहुँदै पनि आज दाङ बत्तिमुनिको अँध्यारो भएको छ भन्ने पनि सुनिन्छ।

गौतमले दाङको राजनीतक इतिहासमा लुकेर रहेका थुप्रै घटनालाई बाहिर ल्याइदिएर पाठकरूको लागि एउटा महत्त्वपूर्ण गुन लगाएका छन् । वास्तवमा इतिहास भनेको वर्तमानको जग हो । इतिहास खोज्नु भनेको सजिलो काम होइन । उनले यस्तो जटिल काममा पनि हात हाली सकुशल र अत्यन्तै मिहिनेतका साथ पाठकका लागि एउटा पठनीय, खोजमूलक, ऐतिहासिक, सङ्ग्रहणीय पुस्तक उपलब्ध गराएका छन् । आशा छ,लेखकका अन्य यस्तै पुस्तकहरू पनि छिट्टै पढ्न पाइयोस् । अन्त्यमा,लेखक डा.सुदीप गौतमलाई हार्दिक बधाई तथा शुभकामना। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ