प्राथमिक तहको पुरानो पाठ्यपुस्तकमा एउटा लोक बालकविता थियो-कुखुरी काँ। प्रायः विद्यालयका बालबालिकाहरूलाई त्यो कविता कण्ठस्थ नै हुन्थ्यो र हामीहरू पनि उक्त कविता लय मिलाएर सस्वर वाचन गर्थ्यौँ । उक्त कवितामा विभिन्न वस्तु वा प्राणीलाई खै खै भन्दै प्रश्न गर्दै जाँदा अन्तिममा खै, खोलो ?-सुक्यो भन्ने पङ्ति थियो ।
नेपालको राजनीतिक इतिहासमा आज दश वर्ष सशस्त्र युद्ध गरेर आएको माओवादीको नामले चिनिने कहिले के नाम र कहिले के नाम गरेर अन्तिममा नेकपा (माओवादी केन्द्र) को नाम भएको राजनीतिक पार्टी हराएर, सुकेर वा बिलाएर त्यही बालकवितामा भनेझैँ खै खोलो ? - सुक्यो भन्ने अवस्थामा पुगेको देखिन्छ।
नेकपा (माओवादी) पार्टीले २०५२ साल फागुन १ गतेदेखि प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटो अघि बढौँ भन्ने मूल नाराका साथ जनयुद्धको शुरूआत गर्दै दश वर्षसम्म सशस्त्र युद्ध गर्यो । सशस्त्र युद्धको अन्त्य पश्चात माओवादी पार्टीले पटक पटक सरकारको नेतृत्व पनि गर्यो ।
देशमा त्यति ठूलो युद्ध गरेको पार्टी आज तीस वर्षमा आइपुग्दा त्यसले के के सपना देखाएको थियो र के के पूरा गर्यो र आज त्यो पार्टी कहाँ छ भन्ने कुरालाई सतही रूपमा केवल एउटा भुइँमान्छेको दृष्टिकोणले म चर्चा गर्दैछु।
हुनत यस ब्रह्माण्डमा अजम्बरी भन्ने त केही पनि छैन । सायद सृष्टिको नियम नै होला कुनै जीव, प्राणी, वनस्पति, विचार, आन्दोलन वा अन्य जुनसुकै वस्तुहरूको सधैभरि एकैनासको उचाई वा अस्तित्व रहिरहन्छ भन्ने नै छैन । यस संसारमा कतिपय प्राणी अस्तित्वमा आए र विस्तारै लोप भएर गए। थुप्रै अद्भूत विचार, दर्शन र शासन व्यवस्था आए । केन्द्रमा रहे र विस्तारै हराए ।
कुनै वस्तु, विचार र आन्दोलन हराएर गयो वा लोप भयो भन्दा आश्चर्य मान्नु पर्दैन तर त्यो समाजमा किन वा कसरी आयो, त्यसले के दियो भन्ने कुरा महत्त्वपूर्ण हुन सक्छ। नेपालको राजनीतिक सन्दर्भमा पचासको दशकमा माओवादी विचार वा आन्दोलन यति प्रखर रूपमा देखा पर्यो कि यहाँका मानिसहरू मात्र होइन ढुङ्गा, माटो र वनस्पतिसमेत माओवादीसँग परिचित भए । दश वर्षमा माओवादी र सरकारी पक्षबाट देशले ठूला मानवीय र भौतिक क्षतिहरू बेहोर्नुपरेको थियो ।
माओवादी युद्धले गर्दा नेपाल आर्थिक रूपमा धेरै पछाडि धकेलियो। २०५१ सालमा पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा रहेको तत्कालीन नेकपा (एकता केन्द्र) ले आफ्नो नाम परिवर्तन गरी नेकपा (माओवादी) भन्ने नाम राखेको थियो । त्यही नेकपा(माओवादी) ले २०५२ माघ २२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारसँग आफ्ना ४० बुँदे मागहरू प्रस्तुत गरेको थियो र त्यो पार्टीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्धको शुरूआत गरेको थियो ।
नेकपा (माओवादी) ले दश वर्ष युद्ध गरेपछि २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको रोहवरमा सशस्त्र युद्ध अन्त्य गरी शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो । विभिन्न सार्वजनिक तथ्यांकअनुसार सरकार र माओवादी दुवै पक्षबाट १७ हजार नेपालीले आफ्नो ज्यान गुमाएका थिए भने हजारौँ मानिसहरू अङ्गभङ्ग भएका थिए ।
यस युद्धमा भौतिक सम्पत्तिको क्षतिका बारेमा कुरा गर्दा त खर्बौँका सरकारी र व्यक्तिगत सम्पत्तिहरू क्षति भएका थिए । नेकपा (माओवादी) को सशस्त्र युद्धले देशमा राजनीतिक रूपमा केही उपलब्धि प्राप्त भयो भनिए पनि देशले सामाजिक र आर्थिक रूपमा ठूलो क्षति बेहोर्नु परेको थियो । सशस्त्र युद्धका कारण देशमा के कस्ता भयावह र दर्दनाक घटनाहरू घटेका थिए भन्ने कुरा सम्झिँदा अहिले पनि ज्यान सिरिङ्ग हुन्छ ।
युद्धमा के कस्ता क्षतिहरू भएका थिए भन्ने कुरा सरकारी आयोगबाट प्रकाशित भएका छानबिन प्रतिवेदनहरू, विभिन्न आलेखहरू, कथा, उपन्यास आदि जस्ता साहित्यिक विधाहरू समेतमा पढ्न सकिन्छ । वास्तवमा अहिलेसम्म पनि कतिपयका युद्धका घाउहरू चहर्याइरहेका छन् । खासगरी नेकपा (माओवादी) को युद्धबाट नेपालले कागजमा मात्र संघीयता, समावेशी र गणतन्त्र प्राप्त गर्यो भन्ने लाग्छ । सशस्त्र युद्धबाट प्राप्त भएका संघीयता, समावेशी र गणतन्त्र प्राप्त भएको वर्षैाँ बितिसक्दा देशले उल्लेखनीय रूपमा देखिने गरी केही पाउन सकेको छैन । आज शान्ति सम्झौता भएको २० वर्ष बित्दा नबित्दै सशस्त्र युद्धको नेतृत्व गरेको माओवादी भनिने नेकपा (माओवादी केन्द्र) पार्टी लोप भएर गएको देखिन्छ ।
प्रचण्डको नेतृत्वमा सशस्त्र युद्ध गरेको माओवादी पार्टी शान्ति सम्झौतापछि अहिलेसम्म आउँदा करिब एक दर्जन टुत्राहरूमा विभाजन भएका छन्।अहिले तत्कालीन माओवादी युद्धका प्रमुख कमान्डर प्रचण्डले आफ्नो शक्ति र सामर्थ्य गुमाएर मरिचसरि खुम्चेर विभिन्न कम्युनिष्ट नामधारीका टाउकाहरूसित एकीकरण नेपाली कम्युनिष्ट पार्टी(नेकपा) भन्ने गठन गरी त्यसको संयोजक बनेका छन् । अहिले माओवादी भन्ने पार्टी नै छैन ।
यो पार्टी प्रचण्डको नेतृत्वमा जन्मियो र प्रचण्डले नेतृत्व गर्दागर्दै सकियो भन्दा अवमूल्यन गरेको हुँदैन होला।आज प्रचण्ड कहिँकतै देखिन्छन् तर उनी माओवादी बेगर भएका छन् । अब त दश वर्ष सशस्त्र युद्ध गरेको नेपालको माओवादी भन्ने पार्टी इतिहासको पानामा मात्र सीमित भयो भन्नलाई हिच्किचाउन पर्दैन जस्तो लाग्छ।
माओ र माओवादी भनेका को हुन् ?
हाम्रो छिमेकी मुलुक चीनका कम्युनिष्ट पार्टीका संस्थापक माओ त्से तुङले प्रतिपादन गरेको राजनीतिक विचारधारालाई नै माओवाद भनिन्छ। माओको जन्म २६ डिसेम्बर १८९३ मा चीनको हुनान प्रान्तको सावोसानमा भएको थियो ।
माओ चिनियाँ क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता थिए। सन् १९२१ मा माओ लगायत १२ जनाले नेताले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । माओ चिनियाँ कम्युनिष्ट पार्टीका एक संस्थापक नेता हुन् । चीन माओकै नेतृत्वमा दीर्घकालीन जनयुद्धको बाटो अपनाई स्वतन्त्र भएको थियो । चीनमा सयौँ वर्षदेखि चलिरहेको सामन्ती व्यवस्था सन् १९४९ अक्टोबर १ मा ढलेर जनवादी गणतन्त्र चीनको स्थापना भएको थियो ।
माओवादी युद्धबाट नै अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुक चीन स्वतन्त्र भएको थियो ।खासगरी माक्सवादी र लेनिनवादी विचार धारालाई सैनिक रणनीतिमा जोडिएको सिद्धान्तलाई माओवाद भनिन्छ । चीनमा माओले सन् १९५६ देखि १९७६ सम्म समाजवादी र सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व समेत गरेका थिए।
आज चीनले जुन किसिमको विकास र समृद्धिको फड्को प्राप्त गरेको छ त्यसको पछाडि माओको ठूलो योगदान रहेको देखिन्छ। उनी चीन स्वतन्त्र भएपछिका पहिलो राष्ट्रपति पनि हुन् । माओ सन् १९४९ देखि १९५९ सम्म चीनको राष्ट्रपति भएका थिए। माओ राष्ट्रपति भएपछि पनि बाँचुन्जेल चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता भएर नेतृत्व सम्हालेका थिए । माओको मृत्यु भने ९ सेप्टेम्बर १९७६ मा भएको थियो ।
यसरी माओको विचारधारालाई अवलम्बन गर्नेहरूलाई माओवादी भन्ने गरिन्छ। नेपालमा पनि माओको सिद्धान्तलाई मुख्य आधार मानी प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी) ले दश वर्षे सशस्त्र युद्ध गरेको हुनाले त्यस पार्टीलाई माओवादी पार्टी र त्यो युद्धलाई माओवादी युद्ध भनिएको हो।
नेकपा (माओवादी); हिजो र आज
नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि करिब एक दशकसम्म माओवादी विचारलाई आधार मानी गरिएको सशस्त्र युद्धको बेला नेपाली जनतालाई सुशासन, सामाजिक न्याय, विकास र समृद्धिका लगायतका अनेकौं सपनाहरू बाड्यो।त्यसबेला माओवादीका कुरा सुन्दा स्वर्गीय नेपालको कल्पना गरिएको थियो । त्यतिबेला माओवादीको सरकार आएमा दश वर्षमा नेपाललाई उन्नत राष्ट्र बनाइनेछ भनेर भनिएको थियो ।
२०६३ सालमा सम्झौतापछि शान्ति प्रक्रियामा आएको माओवादीले अहिलेसम्म आउँदा प्रत्यक्ष वा परोक्ष रूपमा कहिँ नै कतै सरकारको नेतृत्व गरिरह्यो । यस समयमा प्रचण्ड राज्यसत्ता प्राप्तिका लागि अत्यन्तै चतुर खेलाडीका रूपमा देखा परे । माओवादीबाटै प्रचण्ड तीन पटक र बाबुराम भट्टराईले एक पटक गरी चार पटक देशका प्रधानमन्त्री भए तर जनयुद्धमा नेपाली जनतालाई बाँडेका सपनाहरू केवल सपनामै सीमित भए ।
अहिले २० वर्षसम्म राज्यसत्ता सम्हालेका प्रचण्डले अरुलाई आरोप लगाएर आफू चोखो बनेर उम्किन खोजिरहेका छन्। त्यस्तो रापताप र उत्साहसहित आएको माओवादी पार्टीले पटक पटक राज्य सत्ताकोको मुख्य साँचो पाउँदासमेत नेपालको विकास र समृद्धिको लागि खासै उल्लेखनीय काम गर्न सकेन ।
नेपालका माओवादी नेताहरू आफ्नो वैचारिक मान्यता र पृष्ठभूमि गुमाई भ्रष्टाचारमा चुर्लुम्म डुबे। आज हजारौँ शहीदहरूका सपनाहरू हावामा उडेका छन्।शान्ति सम्झौता पछि संसदमा सबैभन्दा ठूलो बनेको दल खुम्चदै खुम्चदै जाँदा आज देशभरमा एउटा पनि सुरक्षित संसदीय निर्वाचन क्षेत्र भेटाउने अवस्था छैन।विभिन्न घटनाबाट स्पष्टै हुन्छ कि केके नै गर्छु भनेर जन्मिएको माओवादी पार्टी खासै केही पनि नगरी अन्त्यमा आज कता बिलायो कता।
माओवादीले युद्धका बेला बाल कलाकार,लडाकु,कार्यकर्तालाई पढाइएका र घोकाइएका माक्स,लेनिन,माओ,स्टालिनका दर्शन,विचार र सिद्धान्तलाई आफ्नै नेतृत्वको सरकार हुँदा समेत कार्यान्वयनको गर्न सकेन।नेतृत्व नै दर्शन,विचार,आस्था,निष्ठा,अनुशासनमा अडिग रहन सकेन।नेताहरू सत्ताको चास्नीमा चुर्लुम्म डुबे।माओवादी नेता भन्नेहरूबाटै सिंहदरवारमा मानव तस्कर र एयरपोर्टमा सुनकाण्ड जस्ता थुप्रै भ्रष्टाचारका काण्डैकाण्ड भए ।
सत्ता र कुर्सीकै कारण पार्टी नै टुक्रिदै टुक्रिदै गयो।माओवादीले कार्यकर्ताको मन नै नपढी जवर्जस्त रूपमा नेताका मात्र टाउका मात्र जोडेर पार्टी एकीकरणका नाममा वैचारिक आस्था र सांगठानिक संरचना गुमाउँदै गयो।पार्टीबाट युद्धको नेतृत्व गरेर आएका नेताहरूले नै छोड्दैछोड्दै गए।आज प्रचण्ड मात्र कताकतै झल्याकझुलुक देखिन्छन् तर माओवादी चाहिँ कता हरायो, थाहै छैन ।
आज तीस वर्षको अन्तरालमा आउँदा नेकपा माओवादीको नेतृत्व गरेका नेतृत्वहरूप्रति हजारौं प्रश्नहरू तेर्सिएका छन् । के त्यति ठूलो जनधनको क्षति गराउनु नै मात्र सशस्त्र युद्धको उद्देश्य थियो त?यदि थिएन भने किन प्रचण्डले पटकपटक प्रधानमन्त्री हुँदा समेत उनी आफूले भनेझैँ गरी देशको आमूल परिवर्तनको बाटो समेत तय गर्न सकेनन् ?
नेपालको संविधान र शासनसत्ता प्रचण्ड अनुकूल नै भएको हुँदा समेत प्रचण्डलाई कसले काम गर्न दिएन?सत्ता राजनीतिको हिसाब किताब गर्न खप्पिस देखिएका प्रचण्ड आफ्ना सम्पूर्ण मूल्य, मान्यता, विचार, आस्था बिर्सिएर किन यसरी देशलाई सामाजिक, आर्थिक, राजनीतिक रूपमा झन तरल अवस्थामा पुर्याए ?
आज प्रचण्डले राज्यसत्ताको दुरूपयोग गरी केवल अरुलाई दोष लगाएर उम्कन मिल्छ र ? आज माओवादीका नेताहरूको भोगविलास र ऐसआरामको जीवन देख्दा यिनीहरूलाई कसरी माओवादी भन्न मिल्छ र ?
सिद्धान्त बिना पार्टी बन्न सक्छ र ? यदि सक्दैन भने अब नेकपाका माधव कुमार नेपालदेखि रन्जिता श्रेष्ठसम्मले माओवादीले बोकेको भनिएका मुद्दा र वैचारिक आन्दोलनलाई बोकेर हिड्छ्न् भनेर पत्याउनु पर्ने हो र ? नेपाली जनता कहिलेसम्म अबुझ भएर बाँचिरहने हो र ? के माओवादीले भनेको संघीयता,समावेशी र गणतन्त्रको प्राप्तिको उपलब्धि भनेको आजको नेपालको अवस्था हुनु हो र ?
अझै पनि देशमा प्रचण्डले नेतृत्व गरेको माओवादी भन्ने पार्टी वा आन्दोलन छ भने त्यो कहाँ छ ? अझै पनि प्रचण्डलाई के आधारमा विश्वास गर्ने ? बरु खै,खोलो ? -सुक्यो भने झैँ गरी खै, माओवादी ? - अब इतिहासको पानामा सीमित भयो भन्दा उपयुक्त हुने हो र ? हैन भने कसरी नभन्ने ? (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)