देशमा अहिले राजनीतिक,सामाजिक,आर्थिक,कूटनीतिक आदि विभिन्न दृष्टिकोणले अत्यन्तै अस्थिर,जटिल र तरल परिस्थिति सिर्जना भएको बेलामा पनि नेपाली कांग्रेसजस्तो जिम्मेवार भन्ने पार्टीले तमासा देखाइरहेको छ । फागुन २१ गतेको लागि देश निर्वाचनतिर होमिँदा कांग्रेस आन्तरिक कलहमा रुमलिएको छ । सबै दलहरूलाई चुनाव लागिरहेको छ तर नेपाली कांग्रेसमा जुँघाको लडाइँले गर्दा आन्तरिक द्वन्द्व चलेको छ ।
नेपाली कांग्रेसको पुरानो पुस्ता खासगरी संस्थापन पक्ष पुरानै शैलीमा नै यति जब्बर,दम्भी,अहंकारी र जबर्जस्ती भइरहेको कि नयाँ नीति,पुस्ता र अनुहारलाई कुनै हालतमा पनि स्वीकार्ने पक्षमा देखिँदैन । भर्खरै सरकारले नवपुस्ताको आक्रोशलाई नसुन्दा देशमा भदौ २३ र २४ गते कति ठूलो क्षति बेहोर्नुपर्यो भन्ने कुराबाट संस्थापनले अझै पनि चेत प्राप्त गर्न नसकेको देखिन्छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाई संख्याको धक्कु लगाउँदा भागाभागको परिस्थिति आएको थियो भन्ने कुरालाई समेत खासगरी गणितको बलमा नेपाली कांग्रेसको संस्थापन पक्षले अझै पनि नजरअन्दाज गरिरहेको देखिन्छ । अब गणितको बलले मात्र पार्टी सञ्चालन गर्न हुन्न भन्ने कुरालाई संस्थापन पक्षले बुझ्न जरुरी छ ।
कांग्रेस अब केवल बीपी,गणेशमान र कृष्णप्रसादकालीन कुरा गरेरमात्र चल्दैन । कांग्रेसले पटक पटक सात,सत्र र छत्तीसका कुरा गरेरमात्र जनतालाई भुलाइरहेको छ । अब कांग्रेसले अहिले,आज र भोलिका कुरा गर्नुपर्छ । आज कांग्रेसले आफू पुरानो हुँ भन्दाभन्दै पछिल्लो चरणमा त कम्युनिष्टको टेकोमा विचार गुमाउँदै जाँदा नेपालको पछिल्लो एउटा राजनीतिक शक्ति रास्वपासितको प्रतिस्पर्धामा पराजय नै भोग्नुपर्ने अवस्थामा पुग्ने होकि जस्तो देखिन्छ ।
बीपीको आदर्श पालना गर्नुपर्छ भन्ने कांग्रेसले पछिल्लो केही वर्षदेखि व्यवहार र कार्यान्वयन तहमा कम्युनिष्टका आडमा पार्टी चलाउँदा पार्टी जीवन्त,विश्वासिलो, भरोसायोग्य र खास कांग्रेस बन्न सकेको छैन । अहिले वैचारिक,सांगठनिक र संख्यात्मक रूपमा कांग्रेस निकै कमजोर भएको देखिन्छ । कांग्रेसले वैचारिक मान्यता गुमाउँदै गएर अब त आफ्ना कार्यकर्तालाई नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा समेत मतदान गर्न बाध्य पार्न खोजेको पो देखिन्छ।
नेपाली कांग्रेस जस्तो गौरवशाली इतिहास बनाएको पार्टीले पटकपटक आफ्ना कार्यकर्तालाई आफ्नो पार्टी भन्दा भिन्न दललाई मतदान गर्न लगाएर आफ्नो वैचारिक अस्तित्व गुमाउँदै गएको हो । नेपाली कांग्रेस करिब आठ दशक इतिहास बनाएको नेपालको पुरानो राजनीतिक दल हो।कांग्रेसले आफूलाई लोकतन्त्र वा प्रजातन्त्रको पर्याय मान्दै आएको छ ।
नेपाली कांग्रेसभित्र वैचारिक,सांगठानिक बहस र मतभेद भन्दा पनि केवल गुटगत भागबण्डाको द्वन्द्व चलिरहन्छ । कांग्रेसमा जहिले पनि व्यक्ति केन्द्रित राजनीतिको हावी छ ।
बीपी जस्ता आदर्श र वैचारिक व्यक्तित्वको अनुयायी ठान्ने कांग्रेसले आज देशका बारेमा चिन्ता,चिन्तन र बहस गरेर यस्तो निर्णयमा पुग्यो भन्ने कहिल्यै सुनिन्न । अहिले त कांग्रेसको संस्थापनमा केवल कोसँग गठबन्धन गरेर प्राविधिक रुपमा कति धेरै सांसद संख्या बनाउने भन्नेमा मात्र ध्यान गएको देखिन्छ । वास्तवमा जतिबेला देशमा केही अप्ठ्यारोमा पर्छ त्यतिबेला नै कांग्रेसमा गम्भीर मतभेदहरू देखापर्छन् र कांग्रेस फुट्छ कि भन्ने अवस्थामा समेत पुग्छ ।
कांग्रेस फुट्दैन तर आन्तरिक कलहको निकास नदिई क्षणिक साम्य पारिरहेको हुन्छ । यसले कांग्रेसभित्रका घाउहरू बेलाबेलामा चहर्याइरहेका हुन्छन् । यद्यपि नेपाली कांग्रेसले २०१० र २०५८ मा दुइटा राम्रै विभाजन भोगेको छ । नेपालका कम्युनिष्टहरूको तुलनामा कांग्रेसमा कार्यकर्ताहरूलाई आफ्ना अभिव्यक्ति राख्न धेरै लचकता छ।प्रायः कांग्रेसीहरू एकापसमा सम्बोधन गर्दा दाइभाइ र दिदीबहिनी भनेर अत्यन्तै निकटता र आत्मीयता देखाएका पनि हुन्छन् । र, पनि गुट र उपगुटको जालोले नेपाली कांग्रेस पार्टी नराम्ररी फसिरहेको छ ।
कांग्रेसमा आफूलाई जिम्मेवार भन्ने नेताहरूले नै यो पार्टी कसरी चलेको थाहै छैन भन्छन् । चलनचल्तीको भाषामा कांग्रेसलाई पशुपतिनाथले चलाएको पार्टी हो पनि भन्ने गरिन्छ । कांग्रेसभित्र एकापसमा टिप्पणी,आलोचना,आरोप,खण्डन गर्न अत्यन्तै छुट,खुला,स्वतन्त्रता र सहजता नै छ । एकअर्कालाई बेस्सरी गाली गर्दासमेत कांग्रेस चलेकै हुन्छ। वास्तवमा कांग्रेस यसरी चल्नुको प्रमुख कारण भनेको जनतामा रहेको ऐतिहासिक विश्वास र बीपी प्रतिपादित विचार नै हो । आज कांग्रेसको विकल्पमा अर्को दायाँवादी राजनीतिक शक्ति नहुनाले पनि कांग्रेसीहरू छुट्टिन वा फुट्न सकेका छैनन् ।
अब त्यही पुरानै विश्वास र विचारले मात्र कांग्रेस अडिने र चल्ने अवस्थामा छैन । आज कांग्रेसका केही जिम्मेवार कार्यकर्ताहरू वैकल्पिक भनिने शक्तितिर जोडिँदै गएका पनि देखिन्छन् । कांग्रेस भित्रको उकुसमुकुसबाट निस्कने एउटा वैकल्पिक शक्ति रास्वपा बनिरहेको पनि देखिन्छ।यस्तो बेला कांग्रेस परिस्कृत हुन सकेन भने सांगठानिक रुपमा ठूलो क्षति बेहोर्नुपर्ने देखिन्छ।
अहिले नेपालको यस्तो जटिल राजनीतिक अवस्थामा नेपाली कांग्रेस नियमित वा विशेष महाधिवेशनको अल्झनमा परेर कतै फुटको अवस्थामा पुग्ने त होइन भन्ने जस्तो देखिन्छ । नेपाली कांग्रेसभित्र यस्ता अप्ठ्यारा समय समयमै देखिरहने हुनाले अहिलेको घटनाले कांग्रेस फुट्ला नै भन्न सकिन्न । यद्यपि अहिलेको लडाइँ पुस्तागत द्वन्द्व हुनाले पुरानाले जिद्दी गरी नयाँको माग र अस्तित्वलाई स्वीकार्न सकेनन् भने फुट्न पनि नसक्ला भन्न सकिन्न ।
कांग्रेसमा अहिले विधानत ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दा संस्थापन पक्षले अनेक बहानाबाजी गरेर आगामी वैशाखमा १५ औँ नियमित महाधिवेशन नै गर्ने भनेर विशेष महाधिवेशनलाई पन्छ्याउने प्रयत्न गरिरहेको छ ।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई सम्बोधन नगरेपछि महामन्त्रीद्वयकै अगुवाइमा विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते दोस्रो विशेष महाधिवेशन गर्दैछन् । यसरी नेपाली कांग्रेस यतिबेला मूलतः दुई खेमामा विभक्त भएको छ । कांग्रेसका संस्थापनइतर पक्षले भदौ २३ र २४ को जेन-जी आन्दोलन/विद्रोहलाई सम्बोधन नगरी नयाँ नीति र नेतृत्व बिना निर्वाचनमा जान नसकिने बताइरहेका छन् ।
हुन पनि कांग्रेस अहिलेको भिन्न परिस्थितिमा जबर्जस्त पुरानै ढर्राले निर्वाचनमा जाँदा खासै सफलता हासिल गर्न नसक्ने नै देखिन्छ । अझै पनि पुरानो मान्यता र पुरानै अनुहारहरू शेरबहादुर,कृष्ण सिटौला, पूर्णबहादुर,प्रकाशमान,विमलेन्द्र आदिलाई बोकेर कांग्रेस सफल र जीवन्त हुँदैन । वास्तवमा कांग्रेसी कार्यकर्ताहरू पनि यी पुराना र बारम्बार दोहोरिएका पात्रलाई हेर्दाहेर्दै दृष्टिथकान भएका छन् ।
वर्षौँदेखि एउटै असक्षम पात्रलाई हेर्दाहेर्दै जनतासमेत वाक्कदिक्क र थकित भएका छन् । जनता र कांग्रेसी कार्यकर्ताको यो असन्तुष्टि र आक्रोशलाई कांग्रेसको संस्थापन पक्षले निर्वाचनअघि सम्बोधन गर्न हिच्किराइरहेको छ । वास्तवमा भदौ २३ र २४ को आन्दोलन/विद्रोह र विध्वंशबाट कांग्रेसले धेरै शिक्षा ग्रहण गर्नुपर्थ्यो तर अझै ग्रहण गर्न सकेको देखिँदैन ।
भदौ २४ मा क्षतिको दृष्टिकोणले पार्टीगत रूपमा सबैभन्दा ठूलो क्षति कांग्रेसलाई पर्दासमेत संस्थापन पक्षले आफ्ना कमजोरीलाई स्वीकार्न सकेको छैन । कांग्रेसका नेताहरूका घरमा जलेका पैसाका खातैखात देखिँदासमेत त्यो के हो भनेर सम्बन्धित व्यक्तिलाई कांग्रेसले औपचारिक रूपमा सोध्न सकेको छैन ।
देशमा भ्रष्टाचारका काण्डैकाण्ड घटित भइरहँदा कांग्रेसका नेताहरूका घरमा जलेका पैसाको खातैखात र थुप्रो देखिँदा नेपाली जनतामा कांग्रेसप्रति हेर्ने दृष्टिकोण थप नकारात्मक भएको छ । सभापति देउवाले बाहिर प्रशस्त प्रमाणहरू देखिँदासमेत एआईले बनाएका हुन् भन्दा विश्वास गर्न सकिने आधार नै छैन ।
आज पार्टी सभापति नै ठूलो प्रश्न र शंकाको घेरामा उभिएका छन् । भर्खरै यतिठूलो विद्रोह हुँदा पुरानै नेतृत्वलाई बोकेर जनतामाझ जान सकिँदैन भन्ने संस्थापन इतर पक्षको माग वा आक्रोश पनि स्वभाविकै देखिन्छ । नव कांग्रेसी पुस्ताहरूले आफ्ना हजुरबुबा पुस्तालाई सत्कार र आदर गर्दागर्दै पनि ती पुस्ताहरू अत्यन्तै दम्भी,अहंकारी र घमण्डी बनेका देखिन्छन् ।
पुरानो पुस्ताले पछिल्लो दोस्रो वा तेस्रो पुस्तालाई स्वीकार्न नसक्नु उनीहरूको अहंकार र दम्भ नै हो । पुरानो हजुरबुबा पुस्ता अहिलेको २१ औँ शताब्दीको समाज,युग,विचार र प्रविधिसित परिचित हुनै नसकेको देखिन्छ । आफूलाई कांग्रेसका खास अनुयायी भन्नेहरू गणितको बलमा कुनै एउटा अँध्यारो कोठामा बसेर नेपाली कांग्रेसलाई विचारविहीन,अत्यन्तै जड र सङ्कुचित बनाएका छन् । वास्तवमा बीपीको अन्त्यपछि नेपाली कांग्रेसमा विचारको बहस हुनै नसकेको देखिन्छ ।
करिब चार दशकदेखि नेपाली कांग्रेसले बीपी, सुवर्ण शम्शेर, गणेशमान र किसुनजीको नाममात्र भजाएर बाँचिरहेको छ । आजको समसामयिक युगमा कांग्रेसको विचार र यात्रा के हो भन्ने नै स्पष्ट छैन । कांग्रेस जस्तो जिम्मेवार र पुरानो पार्टीमा अबको नेपाली कांग्रेस अनि देश कस्तो बनाउनु पर्छ भन्ने बहस हुन नसक्नु अत्यन्तै लाजमर्दो कुरा हो। यसका लागि नै दोस्रो विशेष महाधिवेशन अहम् हुन सक्छ ।
नेपाली कांग्रेसभित्रको पुरानो रोग वा जबर्जस्तलाई १४ औँ महाधिवेशनमा भित्रिएका नयाँ महामन्त्रीहरूले समेत तोड्न सकेनन् । उनीहरूले गरेको अथक प्रयासलाई संस्थापनले स्वीकारन् नसक्नु दुर्भाग्य हो । वास्तवमा कांग्रेसमा १४ औँ महाधिवेशनमा थुप्रै नयाँ अनुहार भित्रिदासमेत कांग्रेसमा नयाँपन देखिएन । नयाँहरूले प्रयत्न गरे तर सफल हुन सकेनन् ।
महामन्त्रीद्वयले महाधिवेशन गरेको चार वर्ष बितिसक्दा १५ औँ महाधिवेशनको तयारीको लागि गरिने नयाँ सदस्यता नवीकरण गर्ने र त्यसलाई व्यवस्थापन गर्ने जस्ता सांगठानिक काम गर्न गरेको प्रयत्नलाईसमेत संस्थापनले असफल बनाउन भरमग्दूर प्रयास गरिरहेकै छ । नयाँले नेतृत्व सम्हाल्दासमेत विभिन्न स्वादमा अल्मलिएर कतिपय कुराहरूमा चिप्लिरहेका पनि देखिए ।
केवल गणितलाई मात्र दोष लगाएर महामन्त्रीद्वय उम्किने छुट छैन । कांग्रेसका महामन्त्रीहरू कांग्रेसका महामन्त्री बन्न सकेनन्,कहिले कुनै गुटको नेता र कहिले कांग्रेसभित्रकै विद्रोही जस्ता भए भन्ने आरोप छ । कांग्रेसको महामन्त्री जस्तो जिम्मेवार पदमा बसेर सबै कांग्रेसलाई एक गराउनु पर्नेमा त्यो नगराई थप भाउजू कांग्रेस,गगन कांग्रेस, शेखर कांग्रेस,चन्द्र कांग्रेस,सुनिल कांग्रेस जस्ता गुटहरू विकास भएका देखिन्छन् ।
जे होस् नेपाली कांग्रेसले १४ औँ महाधिवेशनबाट प्राप्त गरेका युवा भनिएका महामन्त्रीहरू राजनीतिक र सांगठानिक रुपमा अब्बल हुन चाहिँ सकेनन् । यिनलाई काम गर्न दिइएन वा काम गर्न सकेनन् त्यो समयले बताउला । काम गर्न दिइएन भन्ने प्रश्नमा महामन्त्रीलाई समेत काम गर्न अवरोध छ भने काम कसले गर्ने हो त भन्ने महत्त्वपूर्ण सवाल उठ्छ ।
महामन्त्रीद्वयले आफ्ना कार्यकर्ता र नेपाली जनताका अगाडि यी विभिन्न प्रश्नको चित्तबुझ्दो उत्तर दिनुपर्छ । गगन थापाले अघिल्लो निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्छ भनेका थिए तर उनी गणितकै कारण फेल भएका भने हुन् ।
संस्थापन वा शेरबहादुरलाई जति दोष लगाए पनि नेकपा माओवादी र नेकपा एमालेको सत्ता सहकार्यमा महामन्त्रीद्वय कतै बिकेका वा चुकेका हुन् कि जस्ता देखिन्छन् । नयाँ भन्नेहरूले आफ्नो अपरिपक्वता र कमीकमजोरीलाई स्वीकार्नै पर्छ। व्यक्तिको अनुहार मात्र नयाँ भएर वा सञ्चारीय र सन्जालीय लोकप्रिय छ भनेर पार्टीको नेतृत्व सम्हाल्न सकिँदैन । नेतृत्वमा बसेर काम गर्नको लागि विचार र सिद्धान्तमा अडान,विश्वासयोग्य,अनुशासन, त्याग,जिम्मेवारबोध,परिपक्वता,आलोचना सहने सामर्थ्य आदि जस्ता चारित्रिक गुणहरू हुनुपर्छ।
नेपाली कांग्रेसले आफूलाई जतिसुकै लोकतान्त्रिक पार्टी भनेपनि पार्टीभित्र आन्तरिक लोकतन्त्र र पारदर्शिता छैन । आज नेपाली कांग्रेस केही सीमित पात्रहरूको कब्जामा पुगेको छ,जसलाई अहिले सात भाइ भन्ने पनि गरिन्छ । कांग्रेसका यी सातभाइहरूले अरुको अस्तित्वलाई स्वीकार्न सकेका छैनन् । पार्टी फुटको संघारमा पुगेको अहिलेको अवस्थामा अझै पनि सातभाइले नवपुस्ताको मागलाई जतिसक्दो चाँडो सम्बोधन गरी नेतृत्व हस्तान्तरण गर्न सकेनन् भने पार्टीले क्षति बेहोर्ने निश्चित छ ।
अहिलेको यो जटिल परिस्थितिमा संस्थापन पक्षले यदि,वा,तर,तापनि भन्ने अवस्था नै छैन । नेपाली कांग्रेसलाई विधि अनुसार चलाउने हो भने संस्थापन पक्षले आफ्नो विधानलाई नै उल्लंघन गरी जबर्जस्त गर्नु हुँदैन । कांग्रेसको विधानमा धारा १७(२)अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गर्न सक्नेछन् भन्ने कुरालाई ५४.५८ प्रतिशतले हस्ताक्षर गरेर बुझाउँदासमेत अटेर गरिनु विधानको ठाडै उल्लंघन हो ।
नेपाली कांग्रेसको संस्थापन पक्षले यो छोटो समयमा अत्यन्तै जिम्मेवार र संवेदनशील भएर केन्द्रीय समितिले नै स्वामित्व लिएर विशेष महाधिवेशन गरेर देशमा पछिल्लो चरणमा देखा परेको असहज अवस्थालाई आत्मसात् गरी नयाँ नीति र नेतृत्वसहित आगामी निर्वाचनमा सहभागी हुनुपर्छ । यतिबेला नेपाली कांग्रेसलाई एक घण्टा पनि पर्खिने समय छैन ।
कांग्रेसको संस्थापन पक्षले यस्तो जटिल परिस्थितिमा पनि महाधिवेशन प्रतिनिधि,नवपुस्ताको माग,आवाज र आक्रोशलाई सम्बोधन गर्न सकेन भने अन्तत पुराना भनिने जति मात्र अलग्गै बस्ने परिस्थिति सिर्जना नहोला भन्न सकिन्न ।
कांग्रेसजस्तो पुरानो र जिम्मेवार पार्टी भएर देश दुखेको बेलामा यस्तो तमासा नेदेखाओस् । नयाँले पुरानालाई सम्मान र आदर गरोस् भने पुरानाले नयाँको अस्तित्व र आवाजलाई पनि सुनोस् अनि कांग्रेस एक बनोस् । नेपाली कांग्रेसलाई शुभकामना। (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)