arrow

पूर्वी युरोपमा रूसी हवाई उल्लङ्घन: नाटोद्वारा कडा चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
NATO-country.png

काठमाडौं। पूर्वी युरोपमा रुसद्वारा भइरहेको हवाई क्षेत्रको उल्लङ्घनप्रति नाटोले गम्भीर चिन्ता व्यक्त गर्दै ती कार्यहरू तत्काल रोक्न चेतावनी दिएको छ।

गत हप्ता इस्टोनियाको हवाई क्षेत्रमा एक रूसी लडाकु विमानले १२ मिनेटसम्म अनधिकृत प्रवेश गरेपछि नाटोले आपतकालीन बैठक बोलाएको थियो। बैठकपछि नाटोका ३२ सदस्य राष्ट्रहरूले संयुक्त वक्तव्य जारी गर्दै भने, “रुसले यस्ता खतरनाक र उत्तेजनात्मक गतिविधिको पूर्ण जिम्मेवारी लिनुपर्छ। यस्ता कार्यहरूले दुर्घटना र ज्यानको जोखिम बढाउँछन्, त्यसैले यी कार्यहरू तुरुन्त बन्द गरिनुपर्छ।” नाटोले अन्तर्राष्ट्रिय कानुनअनुसार आवश्यक सबै सैन्य वा गैर-सैन्य उपाय अपनाउन तयार रहेको पनि बताएको छ।

रुसी हवाई उल्लङ्घनपछि नाटोले लडाकु विमान परिचालन गरेको थियो। पोल्याण्डको आकाशमा रूसी ड्रोन देखिएपछि पनि नाटोले ती ड्रोन खसालेको थियो। यस्ता घटनाहरू दोहोरिएपछि नाटोले पोल्याण्ड, रोमानिया, लाट्भिया, लिथुआनिया र फिनल्याण्डजस्ता पूर्वी सीमामा पर्ने राष्ट्रहरूको सुरक्षालाई थप मजबुत बनाउने निर्णय गरेको छ।

नाटोले आफ्नो वक्तव्यमा रुसको गैरजिम्मेवार गतिविधिले युक्रेनप्रति रहेको आफ्नो समर्थन कमजोर नहुने स्पष्ट पारेको छ।

इस्टोनियाले आफ्नो भू-सम्प्रभुतामा खतरा महसुस भएपछि नाटोको संस्थापक सन्धिको धारा ४ अन्तर्गत आपतकालीन परामर्शको माग गरेको थियो। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेयता यो तेस्रोपटक धारा ४ प्रयोग भएको हो।

धारा ५ अनुसार, यदि कुनै सदस्य राष्ट्रमाथि आक्रमण भएमा सबै राष्ट्रले मिलेर उसको रक्षा गर्छन्। यो धारा अहिलेसम्म सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि मात्र एकपटक प्रयोग गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ