गोडैतामा इलाका प्रशासन कार्यालय स्थापना गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
2.1k
Shares
काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिका ७ मा इलाका प्रशासन कार्यालय स्थापना गर्न गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
संघीय सरकारले गत भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सर्लाहीका पाँच ओटा पालिका क्रमशः गोडैता, विष्णु, बलरा, रामनगर र धनकौलका लागि बलरा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भनिए पनि उक्त स्थान उपयुक्त नहुने निष्कर्षसहित गोडैतामा सार्न आग्रह गरिएको हो ।
पाँचै पालिकाको सेवा सुविधा र सुरक्षाका हिसाबले बलरामा अनुपयुक्त रहेको र भारतको सीमा छेउँमा रहेकाले सुरक्षाको हिसाबले पनि संवेदनशील रहेकाले पाँच ओटै पालिकाको बीच भागमा पर्ने गोडैतामा सबैलाई सहज र उपयुक्त र सुरक्षित सेवा प्रवाह हुने दाबी गरिएको हो ।
सर्लाही क्षेत्र नम्बर ४ कका सांसद विरेन्द्रप्रसाद सिंह, क्षेत्र नम्बर ४ खका सांसद फकिरा महतो, गोडैता नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अन्जना कुशबाहा, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहर राय र धनकौल गाउँपालिकाका अध्यक्ष रामअश्राय साहले उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।