ओली र लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
3.5k
Shares
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
दुवै जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले पाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले १० दिन थुनामा राख्न मागसहित इजलास समक्ष निवेदन पेश गरेको भए पनि पाँच दिनमात्र पाएको हो ।
शनिबार बिहानै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो । शनिबार बिहान पक्राउ परेका उनीहरूलाई म्याद थपका लागि प्रहरीले अदालत लगेको थियो ।
ओलीलाई रिहाइ गर्न माग गर्दै देशैभर एमालेका कार्यकर्ता जागेका छन् । उनको रिहाइको माग गर्दा प्रहरीसँग मुठभेड हुँदा झडपसमेत भएको छ ।
गत भदौ २३ र २४ गते भएको 'जेन-जी' आन्दोलनका क्रममा भएको मानवीय क्षतिका बारेमा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनका आधारमा उनीसँगै तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गरिएको हो ।
आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको लापरबाही र हेलचेक्र्याइँका कारण आन्दोलनकारीको मृत्यु भएको निष्कर्ष निकाल्दै उनीहरूमाथि अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।