जेन-जी घटनाको प्रतिवेदन अपूर्ण र अप्रमाणित भए पनि न्यायमा पूर्ण विश्वास छ : रमेश लेखक
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
2.1k
Shares
काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन् ।
गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई ‘अपूर्ण र अप्रमाणित’ संज्ञा दिँदै उनले आफूमाथि लगाइएको फौजदारी अभियोग निराधार रहेको दाबी गरेका हुन् ।
उनका अनुसार सोही प्रतिवेदनको आधारमा आफूविरुद्ध फौजदारी अभियोग लगाई नियन्त्रणमा राखिएको थियो । तथापि, अन्ततः अदालतको आदेशपछि आफू रिहा भएको उनले जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु ।’
उनले परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान प्रकट गर्दै आफू कानून पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्तिका रूपमा रहेको उल्लेख गरेका छन् ।
उनले आगामी दिनमा कानूनी तथा राजनीतिक लडाइँ जारी रहने बताए । लेखकले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानून व्यवसायी, न्यायकर्मी, अधिकारकर्मी, विभिन्न राजनीतिक दल तथा नेताहरू, सञ्चारकर्मी र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानूनी लडाईँमा अहोरात्र साथ दिनुहुने कानून व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभचिन्तक साथीहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु । साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म कानून पालना गर्ने र न्यायमा विश्वास गर्दछु । बाकी कानूनी र राजनितीक लडाई जारी रहनेछ’ , उनले थप लेखेका छन् ।