राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
646
Shares
वीरगञ्ज (पर्सा)। गृहमन्त्री रमेश लेखकले सीमानाकाहरूमा हुने अवैध चोरीपैठारी र निकासी रोक्नका लागि सबै सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन्।
पर्साको जिल्ला प्रशासन कार्यालयमा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, र सुरक्षा संयन्त्रबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए। उनले भने, “एक निकायले अर्काे निकायलाई दोषारोपण गरेर होइन, समन्वयसहित सहकार्य गरेर अघि बढ्नुपर्छ।”
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आर्थिक वर्षमा राजस्व सङ्कलन उत्साहजनक भएको बताएका छन्। उनले चोरी तस्करी नियन्त्रणका लागि सबै निकायले मिलेर काम गर्नुपर्नेमा जोड दिए।
पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले भारतीय नागरिकहरूले नेपालका कम आय भएका नागरिकको नागरिकताको दुरुपयोग गरी फर्म दर्ता गरेर तस्करी गर्ने गरेको बताए। उनले यस्तो प्रवृत्तिलाई रोक्न सबै निकायबीच समन्वय हुन आवश्यक रहेको औँल्याए।
नेपाल प्रहरी मधेस प्रदेशका प्रमुख उमाप्रसाद चतुर्वेदीले भन्सार नाका वरपर गोदाम खोल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताए। यस्तै, पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि समन्वयका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।