arrow

खनालकाे दाबी - एमसीसी राष्ट्रिय हित, संविधान र भू-राजनीतिक सन्तुलनविरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
jhalanath-khanal-kathmandu.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता नेपालको राष्ट्रिय हित, संविधान र भू-राजनीतिक सन्तुलनविरुद्ध भएको दाबी गरेका छन् । 

काठमाडौँमा आयोजित दोस्रो काठमाडौँ संवाद शृंखलामा उनले एमसीसी सम्झौताको प्रक्रिया र मर्मप्रति गहिरो असन्तोष व्यक्त गर्दै यसलाई राष्ट्रिय घात र शर्मनाक नाटकको संज्ञा दिए ।

खनालले एमसीसी सम्झौता अमेरिकाको दक्षिण एसिया रणनीतिअन्तर्गत तयार पारिएको उल्लेख गर्दै यसले नेपालका छिमेकी मुलुकहरु-चीन र भारतसँगको सम्बन्धमा दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिए ।

उनले सम्झौताप्रति सर्वसाधारण, बुद्धिजीवी, विद्यार्थी र देशभक्त युवाहरुले तीव्र विरोध जनाउँदा समेत प्रमुख राजनीतिक दलहरुले जनमत बेवास्ता गर्दै संसदबाट जबर्जस्ती अनुमोदन गराएको आरोप लगाए ।

‘संसदमा हुलहुज्जत, नाराबाजी र कोलाहलबीच कुनै सुनुवाइ नभएको अवस्थामा एमसीसी पारित भयो,’ खनालले भने, ‘यो नेपालको लोकतान्त्रिक इतिहासमा एउटा कालो पानाको रूपमा रहनेछ ।’

खनालले सम्झौतामा नेपाल सरकारलाई कार्यान्वयन प्रक्रियाबाट पूर्णरूपमा अलग राखिएको, एमसीसी र एमसीए नेपाललाई अत्यधिक अधिकार दिइएको र यी निकायहरुले नेपाल सरकारभन्दा माथि रहने व्यवस्थाले संविधानको उल्लंघन गरेको बताए ।

‘नेपालको कार्यपालिका अधिकारलाई विदेशी सम्झौतामार्फत संकुचित पार्नु संविधानको धज्जी उडाउनु हो,’ उनले भने ।

उनले एमसीसी अन्तर्गतको परियोजनाले भारतलाई नेपालको विद्युत बजारमा एकाधिकार दिन खोजेको र यसले चीनसँग भविष्यमा बन्ने सम्भावित रेलमार्ग योजनासमेत प्रभावित पार्न सक्ने सम्भावना रहेको बताए ।

उनले प्रश्न गर्दै भने, ‘एमसीसीले उपयोग गर्ने जमीनमा अर्को पूर्वाधार बन्न नपाउने शर्त किन ?  के यो चीन-नेपाल रेलमार्ग अवरुद्ध गर्न हो ?’

यस्तै, उनले अमेरिकी नीतिको अस्थिरता र नेपालप्रतिको अस्वाभाविक चासोलाई पनि शंकास्पद माने ।

‘एमसीसी अन्य देशमा रोकिएको बेला नेपालमा मात्र पुनः सुरू गरिनु के सन्देश दिन खोजिएको हो?’ उनले अमेरिका र नेपालको सम्बन्धलाई सन्तुलित, पारदर्शी र नेपाल केन्द्रित राख्न आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ