द्वन्द्वकालमा माइन र विस्फोटनमा परी ६५१ जनाको मृत्यु: गृहमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
1.9k
Shares
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्म माइन र विस्फोटनका घटनामा परी प्रहरी र सर्वसाधारण गरी ६५१ जनाको मृत्यु भएको बताएका छन्। यी घटनामा २ हजार ८९९ जना घाइते भएका छन्।
राष्ट्रिय सभामा सांसद मदनकुमार साहले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले द्वन्द्वपीडितहरूका लागि सरकारले राहत र सहयोगका कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए।
उनका अनुसार, मृतकका हकदारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत प्रदान गरिएको छ। घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति दिइएको छ। यस्तै, १८ वर्षसम्मका टुहुरा बालबालिकाहरूलाई मासिक ५ हजार रुपैयाँका दरले र घाइते तथा अपाङ्गहरूलाई अपाङ्गताको प्रतिशतका आधारमा मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिँदै आएको छ।
गृहमन्त्री लेखकले 'परिपूरण सम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९' अनुसार पनि थप सहयोग प्रदान गरिने बताएका छन्।