arrow

नेपालको शैक्षिक विकासमा ठाइँला पण्डितको योगदान

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ साउन ३१ शनिबार
rajendra-panthi-82-4-30.jpg

ऋषिराम उपाध्याय पन्थीको जन्म गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वार्ड न. ६ अन्तर्गत  धुर्कोट रजस्थल पण्डित टोलामा वि.स.१९५२ आषाढ शुक्ल पञ्चमी तिथिका दिन पिता श्रीकृष्ण (किशन ?) उपाध्याय पन्थी र माता यदुकुमारी पन्थीका ठाँहिला छोराको रुपमा भएको हो । उनी दाजुभाइमा ठाइँला हुनाले ठाइँला पण्डित भनेर पनि परिचित थिए । 

ऋषिरामका ७ भाइहरू र ३ दिदीबहिनीहरू थिए भने उनका ५ भाइ छोराहरू र १ छोरीहरू क्रमशः युवराज,गुणनिधि, प्रेमप्रसाद,खेमराज,छविलाल र रामप्यारी हुन्। ऋषिरामकी श्रीमतीको नाम बागमती पन्थी हो । ऋषिराम उपाध्याय पन्थीको स्वर्गारोहण विस.२०२९ सालको  कार्तिकमा भएको थियो ।

पण्डित ऋषिराम पन्थी असल, सदाचारी,सात्विक,सादा जीवन र उच्च विचार बोकेका र जीवनभर हिन्दु धर्म,संस्कार, अध्यात्म,राष्ट्रिय चेतना र शिक्षाको उन्नयनमा समर्पित थिए। उनको योगदानले समाजमा दीर्घकालीन परिवर्तन ल्याएको छ । उनको यही योगदानकै कदर गर्दै नेपाल सरकारले हालै उनको तस्बिर अङ्कित हुलाक टिकट सार्वजनिक गरेको छ । नेपालको शैक्षिक विकासमा गुल्मी जिल्लाबाट यति ठूलो उच्च सम्मान पाउने पहिलो व्यक्ति ऋषिराम पन्थी नै हुन् । गुल्मीको धुर्कोट गाउँपालिकामा स्थानीय पाठ्यक्रममा स्व.ऋषिराम उपाध्याय पन्थीको जीवनी र योगदानलाई समावेश गरिएको छ।

ऋषिरामका हजुरबुवा माधवप्रसाद उपाध्याय पन्थी शास्त्रार्थमा पारङ्त थिए र उनी तत्कालीन बाइसे चौबीसे राजा(मल्ल)का बडागुरुज्यू भएर त्यस अवस्थाको राजपाठ,शासन सञ्चालन सहभागी भएका थिए भनिन्छ । ऋषिराम पन्थीले आफ्नै पिता र पितृव्यबाट घरमै संस्कार र संस्कृतको प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए । उनले घरैबाट दैनिक पाञ्चायन देवताको पूजा पद्धति,नित्यकर्म,वेद,चण्डी,रुद्री,गीता आदि सिकेको र पढेको देखिन्छ।ऋषिरामले पण्डित हेमनाथ घिमिरेको सान्निध्यमा शिक्षादीक्षा प्राप्त गरेका थिए।हेमनाथ घिमिरे  बनारसबाट व्याकरणमा आचार्य र वेदान्तमा पोष्टाचार्य गरेका नेपालका पुराना विद्वानहरू मध्ये एक हुन् । हेमनाथ घिमिरे विभिन्न सरकारी पाठशाला शिक्षक भई काठमाडौँ रानीपोखरी संस्कृत पाठशालाको प्रधानाध्यापक भएकै अवस्थामा सेवा निवृत्त भएका थिए । हेमनाथ घिमिरेको जन्मस्थान धुर्कोटको लुङ्खर्कमा भएको थियो । ऋषिराम पन्थी र हेमराज घिमिरेको जन्मगाउँ एउटै हो ।

ऋषिरामको घरको वातावरण धार्मिक,आध्यात्मिक र सांस्कारिक रहेकोले प्रारम्भिक संस्कृत शिक्षा घरबाटै प्राप्त गरी वाराणसी गएर संस्कृतको औपचारिक शिक्षा र अनि काठमाडौँको तीनधारा संस्कृत पाठशालाबाट मध्यमासम्मको अध्ययन गरेका थिए । ऋषिराम उपाध्याय पन्थीले १९७१ तिर बाग्लुङको सदरमुकाममा संस्कृत पाठशालाको स्थापना गरी ९ वर्ष  सरकारी प्रधानाध्यापक भई शिक्षण गरेका थिए । 

बाग्लुङमा रहँदा उनले के कस्तो योगदान दिएका थिए भन्ने कुरा खोजको विषय नै रहेका छन्। उनले १९८१ सालमा आफ्नै जन्मस्थान गुल्मीको धुर्कोट वस्तुको हटियामा सरकारी शिक्षकका रुपमा कार्य गर्ने गरी संस्कृत पाठशालाको स्थापना गरेका थिए । उनले यस पाठशालामा २०१२ सम्म अध्यापन गरेका थिए।ऋषिरामले आफ्नो जीवन पूर्णरुपमा शिक्षा क्षेत्रको विकास र विस्तारमा गुल्मी र बाग्लुङमा खर्च गरेका थिए । 

उनी  ६० वर्षे उमेर हदका कारण सेवा निवृत्त भएका थिए। उनले स्थापना  गरेको यही पाठशाला नै पश्चिम गुल्मीको पहिलो सरकारी पाठशाला थियो । यसभन्दा पहिले नै गुल्मी जिल्लाकै पहिलो संस्कृत पाठशालाका रुपमा रिडीमा ऋषिरामकै जेठो दाजु ढुण्डीराज उपाध्याय पन्थीले १९५९(१९६९?)रिडी संस्कृत पाठशालाको स्थापना गरेका थिए । रिडीको संस्कृत पाठशालाको स्थापना र विकासमा ढुण्डीराज र उनका दुई छोराहरू उमानाथ र भोजराजको अविस्मरणीय योगदान रहेको छ । यही रिडी संस्कृत पाठशाला पछि २०१६ मा रिडी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका रुपमा स्तर वृद्धि भएको थियो ।

यसरी दुई दाजुभाइले गुल्मीको पूर्व  र पश्चिममा संस्कृत पाठशाला स्थापना गरी शिक्षाको ज्योति फैलाउन महत्त्वपूर्ण योगदान दिएका थिए । ऋषिरामले आफ्नै दाजुकै प्रेरणाबाट पनि आफ्नै गाउँमा शिक्षाको ज्योति फैलाउनु पर्छ भनी पाठशाला स्थापना गरेको देखिन्छ । उनले स्थापना गरेको धुर्कोटको भाषा पाठशाला २०१५ सालसम्म यथावत् नै चलिरह्यो।उक्त भाषा पाठशाला २०१५ साल चैत्र १५ गतेदेखि हिमालय मिडिल स्कुलको नाममा आधुनिक शिक्षा प्रारम्भ गरी सञ्चालन गरेको पाइन्छ र पछि माध्यमिक र उच्च माध्यमिक विद्यालयको रुपमा सञ्चालित छ।गुल्मीको पहिलो एसएलसी दिने विद्यालय पनि यही हो । 

यस विद्यालयका पहिलो एसएलसी उत्तीर्ण विद्यार्थी यसै विद्यालयका पूर्व प्रधानाध्यापक स्वर्गीय नरेन्द्रदेव शर्मा भण्डारी हुन्। ऋषिराम उपाध्याय पन्थीले जग बसालेको यस विद्यालयले विभिन्न उतारचढाव पार गर्दै आजसम्म हजारौं विद्यार्थीहरूलाई औपचारिक शिक्षा प्रदान गराएर शिक्षाको ज्योति फैलाईरहेको छ। ऋषिरामका भानिज प्राध्यापक डाक्टर दुर्गाप्रसाद अर्याल अनि हिमालय उच्च माविका पूर्व प्रधानाध्यापक खिमानन्द शर्मा पन्थीका अनुसार ऋषिरामले तत्कालीन समयमा औपचारिक शिक्षा प्रारम्भ नभएको बेलामा पनि आफ्नो गाउँठाउँमा पनि औपचारिक शिक्षाको शुरूआत गर्नुपर्छ भनेर शैक्षिक अभियन्ताको रुपमा सक्रिय रुपमा लागेको हुनाले गुल्मी पश्चिममा शिक्षाको ज्योति फैलिएको थियो । 

उनले स्थापना गरेको उक्त पाठशालामा शिष्यहरूलाई संस्कृत व्याकरण र कर्मकाण्डी विद्या पढाउँथे । ऋषिराम आफ्नो घरमा पनि दैनिक रुपमा पूजापाठ,हवन,नित्य श्राध्द र तर्पण गर्दथे । ऋषिराम मात्र नभएर आफ्नै वंशका सबैजसो दाजुभाइहरू हिन्दूधर्म संस्कार अनि संस्कृतको भाषा र साहित्यमा विद्वान हुनाले गाउँको नाम नै पण्डित टोला रहेको थियो । अहिले पनि उक्त ठाउँलाई पण्डित टोला भन्ने गरिन्छ।यो गाउँ गुल्मी जिल्लाको ऐतिहासिक ठाउँ धुर्कोटको कोटसँगै जोडिएको छ ।

अब ऋषिराम उपाध्याय पन्थीको समयको नेपालको शैक्षिक अवस्था चर्चा गरौँ । ऋषिराम पन्थीको समयमा आजजस्तै नेपालका गाउँगाउँमा विद्यालयहरू थिएनन् । नेपालका केही जिल्लाहरूमा सरकारी विद्यालयहरूको स्थापना २००७ प्रजातन्त्रको आगमनपछि मात्र भएको हो।गाउँमा विद्यालय नहुँदा इच्छुक विद्यार्थी अध्ययन गर्न भारतको बनारस जानुपर्थ्यो । जिल्लाबाट दुईचार जना  बनारस गएर संस्कृत भाषामा साक्षर बनी वेद,व्याकरण,दर्शन आदि पढ्थे र गाउँमा फर्की दलाने र गुरुकुल पाठशाला सञ्चालन गरी शिक्षा प्रदान गर्ने प्रचलन थियो । नेपालमा अहिलेको औपचारिक शिक्षा प्रणाली शुरु हुनु पूर्व पृष्ठभूमिमा गुरुकुल शिक्षा प्रणालीको धेरै लामो इतिहास छ ।

नेपालमा लिच्छविकालमा राजकीय भाषा संस्कृत नै थियो ।लिच्छविकाललाई संस्कृतका लागि त स्वर्णकाल नै मानिन्छ। त्यतिबेलाका सबै अभिलेखहरू संस्कृत भाषामा छन् । मल्लकालमा प्रताप मल्ल,जगज्जय मल्ल आदिले संस्कृत भाषाका ग्रन्थहरू लेखेका थिए । आधुनिक नेपालको इतिहासमा पनि पृथ्वीनारायण शाह र गीर्वाणयुद्धका लेखहरू पनि संस्कृत भाषामै पाइन्छन् । गुरुलाई असाध्यै सम्मान गर्ने प्रचलन थियो । नेपालको शैक्षिक परम्परालाई हेर्दा अहिलेको शिक्षक, विद्यार्थी र विद्यालयको प्रारम्भ नै गुरुकुल शिक्षा हो अथवा त्यसैका विकसित रुप नै अहिलेका विद्यालय र विश्वविद्यालय हुन् ।

नेपालमा औपचारिक वा अङ्ग्रेजी शिक्षाको शुरूवात १९१० मा जङ्गबहादुर राणाले बेलायत भ्रमण गरी फर्केपछि थापाथली दरवारको दाखचोकको भुइँतलामा प्रारम्भिक अङ्ग्रेजी स्कूलको स्थापना भएको थियो । नेपालको शैक्षिक परम्पराको इतिहासमा पहिलो गुरुकुल शिक्षा मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय हो भनिएको छ।यो गुरुकुल शिक्षालयको स्थापना १७५१(?) सालमा भएको हो भनिन्छ । यसै विद्यालयमा बालागुरु षडानन्दले पढेका थिए भनिन्छ । १९३४ सालमा भोजपुरको दिङ्लामा बालागुरु षडानन्दले सरकारी स्तरमा पहिलो संस्कृत पाठशाला स्थापना गरेका थिए। त्यस्तै १९३४ मा सरकारीस्तरमा  रानीपोखरी संस्कृत पाठशालाको स्थापना भएको थियो । यसैगरी १९५७ मा देव शम्शेरका पालामा उपत्यकाभित्र र उपत्यकाबाहिर ११८ वटा भाषा पाठशाला खोलिएका थिए। तर ती भाषा पाठशालाहरू लामो समय चल्न पाएनन्।१९७२ सालमा उपत्यका बाहिर खोलिएको पहिलो अङ्ग्रेजी विद्यालय सिराहाको चन्द्र मिडिल स्कुल थियो। नेपालमा आधुनिक शिक्षाको विकास  र विस्तार २००७  पछि मात्र भएको देखिन्छ।

नेपालमा आधुनिक शिक्षाको पृष्ठभूमि भनेका दलाने, गुरुकुल र भाषा पाठशाला नै हुन् । गुरुशिष्य वा गुरुकुल परम्परा वैदिक कालदेखि चल्दै आएको सनातन परम्परा हो । गुरुले शिष्यलाई शिक्षा दिने मात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नुपर्ने नियमको ज्ञान बाँड्ने प्रचलन पनि सदीयौंदेखि चलिआएको एक विशिष्ट परम्परा हो । 

नेपालमा औपचारिक वा अनौपचारिक रुपमा कहिँकतै यो परम्परा अझै चलिरहेको छ । पौराणिक प्रसङ्गमा उल्लेख गरिए अनुसार पनि भगवान् राम, श्रीकृष्ण, बुद्ध लगायत सबैले यहीँ गुरु परम्परामा रहेरै शिक्षा ग्रहण गरेको कुरा शास्त्रमा उल्लेख गरेको पाइन्छ । घरमा नबसी गुरुका अधीनमा रहेर ब्रह्मचर्यपूर्वक त्याग एवं तपस्यायुक्त जीवन यापन गर्दै विद्या आर्जन गर्नु परम्परागत गुरुकुल शिक्षा प्रणालीको प्रमुख उद्देश्य हुन् । गुरुकुलहरूमा वेद,दर्शन,उपनिषद्,व्याकरण आदि आर्ष ग्रन्थहरू पढाइन्थ्यो र पढाइन्छ। 

प्राचीन गुरुकुलमा पढाइको समय तालिका सूर्योदयदेखि लिएर सूर्यास्तसम्म हुन्थ्यो।सूर्यास्तको समयपछि शिक्षार्थीहरू सन्ध्या,अग्निहोत्र आदि कार्य सम्पन्न गरी रात्रिको भोजनपश्चात् विश्राम गर्थे।यही र यस्तै परम्परामा ऋषिराम पन्थीले आफूले प्रारम्भिक र अनौपचारिक  शिक्षा प्राप्त गरेको र शिष्यहरूलाई पनि यही तरिकाले शिक्षा  प्रदान गरेको देखिन्छ।तत्कालीन समयमा सर्वसाधारणलाई शिक्षा भनेकै के हो र यसको महत्त्व के हुन्छ भन्ने बारेमा थाहा नै नभएको समयमा अन्धकारमा एउटा धिपधिपे बत्ती बनेर ऋषिराम धुर्कोटमा देखा परेका थिए।त्यही धिपधिपे बत्तीको प्रकाशको सहारामा थुप्रै बत्तीहरू बल्दै गए। 

उनकै अथक प्रयास र योगदानकै कारण सर्वसाधारणको लागि संस्कृत पाठशाला खोलियो।सर्वसाधारणहरू शिक्षित र चेतनशील हुने मौका पाए।धुर्कोटको वस्तु शिक्षाको केन्द्र बन्नको लागि ऋषिराम पन्थीको अविस्मरणीय योगदान रहेको थियो । ऋषिरामले स्थापना गरेको उक्त पाठशालामा गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठानलगायतका जिल्लाका विद्यार्थीहरू पढ्न आउँथे । 

ऋषिरामले एउटा गाउँलाई मात्र नभएर धेरै गाउँमा शिक्षाको ज्योति फैलाएका थिए।  ऋषिरामको प्रभावमा विस्तारै गाउँहरूमा विद्यालयहरू खोलिएका थिए।नेपालमा अनौपचारिक वा औपचारिक शिक्षाको विकास र विस्तारको लागि ऋषिराम पन्थीको महत्त्वपूर्ण योगदान रहेको छ।उनले जग बसालेको विद्यालयहरूबाट शिक्षा आर्जन गरी आज विद्यार्थीहरू विश्वभरी फैलिएका छन् । 

आज पं ऋषिराम पन्थी मृत्युपर्यन्त पनि बाँचिरहेका छन् । पन्थी वंशका एक ऐतिहासिक व्यक्तित्व आदरणीय पण्डित स्वर्गीय ऋषिराम उपाध्याय पन्थीप्रति भावपूर्ण श्रद्धासुमन । (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ