जेलेन्स्की भन्छन् – युक्रेन बिना गरिने निर्णयहरूले शान्ति सम्भव छैन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २४ शनिबार
1.7k
Shares
तस्बिर – फाइल ।
किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा शान्ति स्थापनासम्बन्धी शिखर वार्ता आगामी हप्ता अमेरिकाको अलास्कामा हुन लागेको सन्दर्भमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको सहभागिताविना गरिने कुनै पनि निर्णय प्रभावकारी नहुने धारणा व्यक्त गरेका छन् ।
राष्ट्रपति जेलेन्स्कीले शनिबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भने, “युक्रेनका नागरिकहरूले आफ्नो भूमिमा कुनै पनि किसिमको अतिक्रमण स्वीकार गर्दैनन् । हाम्रो सहभागिता बिना गरिने निर्णयहरू शान्तिप्रति सहयोगी हुने छैनन् ।”
उनले युक्रेन वास्तविक र परिणाममुखी शान्ति प्रक्रिया अपनाउन तयार रहेको स्पष्ट पारे तर यस्तो शान्ति सम्मानजनक र देशको सार्वभौमिकतालाई सम्मान गर्ने किसिमको हुनुपर्ने कुरामा जोड दिए ।
सन् २०२२ को फेब्रुअरीदेखि जारी द्वन्द्वका कारण हजारौँ मानिसहरूले ज्यान गुमाइसकेका छन् भने करोडौँ विस्थापित हुन बाध्य भएका छन् । यस वर्ष रुस र युक्रेनबीच तीन चरणसम्म वार्ता भए पनि ठोस सहमति कायम हुन सकेको छैन ।
राष्ट्रपति पुटिनले हालसम्म युक्रेनी समकक्षीसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्दै आएका छन् । जबकि राष्ट्रपति जेलेन्स्कीले शान्तिका लागि उच्चस्तरीय प्रत्यक्ष संवाद अपरिहार्य रहेको धारणा राख्दै आएका छन् ।
राष्ट्रपति ट्रम्पले शुक्रबार शिखर वार्ता घोषणा गर्दै केही भूभाग आदान–प्रदान हुने सम्भावना संकेत गर्नुभएको भए पनि त्यसको विस्तृत विवरण भने दिएका छैनन् ।
यो शिखर वार्ता साउन ३० गते अलास्कामा हुने तय भएको छ । जसलाई अमेरिकी र रुसी राष्ट्रपतिहरू बीचको महत्वपूर्ण संवादका रूपमा हेरिएको छ ।