रुस–युक्रेन शान्ति प्रयासमा राष्ट्रसङ्घलाई नेतृत्व लिन ब्राजिलको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
1.4k
Shares
पेरिस । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुस–युक्रेन द्वन्द्व समाधानका लागि संयुक्त राष्ट्रसङ्घलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आह्वान गरेका छन्। उनले समस्याको समाधान खोज्न एक समूह गठन गर्न राष्ट्रसङ्घलाई सुझाव दिएका छन्।
यसै साता फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले द्वन्द्व समाधानका लागि ब्राजिलको ‘अत्यन्त महत्त्वपूर्ण भूमिका’ रहेको बताएपछि लुलाले फ्रान्स भ्रमणका क्रममा पत्रकार सम्मेलनमा आफ्नो धारणा राखेका हुन्। रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता असफल भएपछि तीन वर्षभन्दा बढीको लडाइँमा विराम लगाउनका लागि दोस्रो चरणको प्रत्यक्ष शान्ति वार्ता यसै साता इस्तानबुलमा सुरु भएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई ‘असल मानिस’ को संज्ञा दिँदै लुलाले भने, “संयुक्त राष्ट्रसङ्घ फेरि यस मामिलामा नायक बन्न सक्छ।”
राष्ट्रपति लुलाले संयुक्त राष्ट्रसङ्घका प्रमुखले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी नेता भ्लादिमिर पुटिन दुवैलाई ‘मित्रहरूको एउटा समूहको प्रस्ताव’ गर्नुपर्ने बताए। त्यसपछि ‘उनीहरू आपसमा कुरा गर्नेछन्, आ–आफ्ना सत्य सुन्नेछन् र त्यसपछि विकल्प निर्माण गर्नेछन्’ भन्ने उनको धारणा थियो।
"म जेलेन्स्की र पुटिनसँग वार्ता गर्न युद्धमा संलग्न नभएका देशहरू सम्मिलित एक आयोग गठन गर्न प्रस्ताव गर्दछु," लुलाले थपे।
उनले कुनै पनि पक्षले आफूले चाहेको कुरा शतप्रतिशत नपाउने भए पनि जे सम्भव छ, त्यो प्राप्त गर्न सक्ने बताए। "न त जेलेन्स्कीको पक्षमा शत प्रतिशत अवस्था छ, न त पुटिनको पक्षमा वातावरण छ," उनले स्पष्ट पारे।
अधिकांश युरोपेली देशहरूको विपरीत राष्ट्रपति लुलाले मस्कोसँग मैत्रीपूर्ण सम्बन्ध कायम राखेका छन् र युक्रेन द्वन्द्वप्रति तटस्थ प्रस्तुत हुने प्रयास गरिरहेका छन्।
जुलाईमा रियो दि जेनेरियोमा ब्रिक्स समूहको अर्को शिखर सम्मेलन आयोजना गर्न लागेका राष्ट्रपति लुलाले युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा रुसमा निर्वासित गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गरेको पक्राउ पुर्जीका बावजुद पुटिनलाई बैठकमा आमन्त्रण गरिएको बताए।
यसैबीच, रुसले शनिबार युक्रेनमाथि कब्जामा लिएका सैनिकको ठूलो परिमाणमा आदानप्रदान स्थगित गरेको आरोप लगाएको थियो।