रुसले रातभर युक्रेनमा गर्यो ड्रोन आक्रमण, चारको मृत्यु हुँदा २० घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
1.7k
Shares
तस्बिर – फाइल ।
किभ । रुसले युक्रेनको राजधानी किभमा गरेको आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले शुक्रबार बताएका छन् । आक्रमणमा २० जना घाइते भएको जनाइएको छ ।
रुसले रातभर युक्रेनमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । “पटक पटक रुसी यूएभी र ब्यालेस्टिक मिसाइलको सिकार भएका किएभका उद्धारकर्ताहरूले सहरबाट प्रतिक्रिया दिइरहेको छन्,” युक्रेनको आपतकालीन सेवाले टेलिग्राममार्फत दिएको जानकारीमा उल्लेख छ ।
किभका नगर प्रमख भिटाली क्लिट्स्कोले राजधानीमा भएको घटनाको पुष्टि गर्दै घाइते मध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको बताए ।
आक्रमणका कारण आवासीय भवन, पूर्वाधारलगायत संरचना क्षतिग्रस्त भएका छन् भने ठाउँठाउँमा आगलागी भएको छ ।
युक्रेनको राष्ट्रिय रेलवे सञ्चालकले रेल सेवा ढिलाइ हुने चेतावनी दिँदै आक्रमणले किएभ क्षेत्रमा रेल मार्गहरू क्षतिग्रस्त भएको उल्लेख गरेको छ ।
पश्चिमी युक्रेनको लुत्स्क सहर र टेर्नोपिल क्षेत्रमा पनि थुप्रै आक्रमणहरू भएका छन् ।
“आज, शत्रुले हाम्रो क्षेत्रमा अहिलेसम्मको सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । त्यहाँ धेरै आक्रमणहरू भएका छन्,” टेर्नोपिलका क्षेत्रीय सैन्य प्रशासन प्रमुख व्याचेस्लाव नेगोडाले भने ।
आगलागी नियन्त्रण तथा क्षति र अन्य परिणामहरूको मूल्याङ्कन गर्न थालेको र लुत्स्कमा भएको आक्रमणमा पाँच जना घाइते भएको उनले बताए ।
धेरै निजी घरहरू र शैक्षिक संस्थाहरू क्षतिग्रस्त भएको सहरका नगरप्रमुख इगोर पोलिस्चुकले टेलिग्राममार्फत जानकारी गराएका छन् ।
पश्चिमी सहर खमेल्नेत्स्कीमा भवन र सवारी साधन पनि क्षतिग्रस्त भएको पनि उक्त क्षेत्रका गभर्नरले बताए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा किएभले हालै गरेको ड्रोन आक्रमणको बदला लिने वाचा गरेका छन् ।
यसैबीच पश्चिमी तुला क्षेत्रमा रुसमा भएको युक्रेनी हमलामा तिन जना घाइते भएका छन् ।
रुसी हवाई रक्षा बलले मस्कोलाई लक्षित गरेको ड्रोनलाई गोली हानेर खसालेको किभका नगरप्रमुखले बताए ।