काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको वायु प्रदूषणको अवस्था वास्तविक समयमा हेर्न सकिने 'काठमाडौं महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड' सार्वजनिक गरेको छ। विश्व वातावरण दिवसको अवसर पारेर बिहीबार यो ड्यासबोर्ड सञ्चालनमा ल्याइएको हो।
कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सीता राईले जानकारी दिएअनुसार, ड्यासबोर्डमार्फत महानगर क्षेत्रका विभिन्न १८ स्थानमा जडान गरिएका वायु प्रदूषण मापन यन्त्रले देखाएको पीएम२.५ र वायु गुणस्तर सूचकाङ्कको विवरण हेर्न सकिनेछ। यसबाट अहिले कुन ठाउँमा वायुको गुणस्तर कस्तो छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सकिने उनले बताए। प्रमुख राईले यो स्वस्थ सहर निर्माणका लागि महानगरले थालेका महत्वपूर्ण प्रयासमध्ये एक भएको उल्लेख गरे।
वायु गुणस्तरको अवस्थालाई ड्यासबोर्डमा छवटा फरक रङले सङ्केत गरिएको छ, जसले स्वास्थ्य सावधानीबारे जानकारी दिन्छ। हरियो रङले राम्रो वायु गुणस्तरलाई सङ्केत गर्छ भने पहेँलो रङले मध्यम अवस्थालाई जनाउँछ। सुन्तला रङ बालबालिका, ज्येष्ठ नागरिक, फोक्सो र मुटुरोग भएका व्यक्तिजस्ता संवेदनशील वर्गका लागि संवेदनशील अवस्था हो। रातो रङले अस्वस्थ अवस्थालाई सङ्केत गर्छ, जुन सबैका लागि अस्वस्थकर हुन्छ र संवेदनशील वर्गका व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्छ। त्यस्तै, बैजनी रङले सबै व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने सङ्केत गर्छ भने गाढा खैरो रङ जोखिमपूर्ण अवस्था हो, जसमा सबै मानिसको स्वास्थ्यमा गम्भीर असर हुनसक्छ र पहिलेदेखि नै स्वास्थ्य समस्या भएकाहरूलाई बढी जोखिम हुन्छ।
कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले ड्यासबोर्डबाट प्राप्त हुने तथ्याङ्कले सहरी जनस्वास्थ्य समस्या समाधानका लागि नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्न आधार दिने बताए।
वायु गुणस्तर सूचकाङ्कलाई रङ सङ्केतसहितका स्वास्थ्य सावधानी सूचना बोर्डहरू पनि राखिनेछन्। बोर्डमा वायु प्रदूषणसम्बन्धी जनचेतनामूलक भिडियो सन्देश राख्ने ठाउँ पनि छ। यसैगरी, ड्यासबोर्डबाट सवारी साधन प्रदूषण जाँचको प्रगति विवरण पनि हेर्न सकिन्छ। हाल वायु प्रदूषण मापन यन्त्रहरू क्षेत्रपाटी चिकित्सालय, लैनचौर, कलङ्की चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, थापाथली, र महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्क लगायतका स्थानमा जडान गरिएका छन्।