arrow

राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै राप्रपा नेताका लागि सुरक्षाकर्मी पुनः खटाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
rpp-meet.jpg

काठमाडौं ।गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूका लागि खटाइएका सुरक्षाकर्मीहरू राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो भन्दै प्रश्न गरेका थिए। सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको थियो।

उक्त प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको र आन्दोलन रोक्ने बित्तिकै पुनः खटाइने स्पष्ट पारे। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा अहिले रहेको भन्दै गणतन्त्र, संघीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजाने बताए। संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा कोही पनि नलाग्न उनले चेतावनी दिए।

मन्त्री लेखकले भने, "अहिले पूर्वराजावादी संस्थाहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल र संस्थाहरूले गरिरहेको घटनाहरूका बारेमा प्रश्न उठेको छ। मेरो आग्रह के हो भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा छौं। यो संविधान हाम्रा पूर्वजहरूले धेरै त्याग, तपस्या, बलिदान, शाहदत दिएर र हजुर हाम्रो पुस्ताले धेरै ठूलो लगानी, मेहनत गरेर हामी यो ठाउँमा पुगेका छौं। यो गणतन्त्रबाट पछि फर्किने, संघीयता, लोकतन्त्रबाट पछि फर्किने, समावेशिताबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजान्छ, यसमा हामी सबै स्पष्ट हुन जरुरी छ। संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा हामी कोही पनि नलागौं। सरकारको धारणा यही हो। गणतन्त्र फाल्न मिल्दैन, हुँदैन, यो संविधान फाल्न मिल्दैन, हुँदैन। त्यसका लागि हुने प्रयत्न निरर्थक छन्, त्यसमा नलागिदिन मेरो सादर अनुरोध छ। सुरक्षाकर्मी फिर्ता गरेको विषय अब हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरूलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो। यी घटनाहरू भएनन् भने सुरक्षा पुनःस्थापित गरिन्छ।"

गृहमन्त्री लेखकले गणतन्त्र र संविधान फाल्न नमिल्ने र फाल्न नहुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ