काठमाडौँ । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना युक्रेनी सैनिकको मृत्यु भएको छ भने अरू धेरै घाइते भएका छन्। युक्रेनी अधिकारीहरूले आइतबार यो जानकारी दिएका हुन्, जुन युक्रेनले आफ्ना सैन्य क्षतिबारे दुर्लभ रूपमा सार्वजनिक गरेको स्वीकारोक्ति हो।
किभले आक्रमण कुन स्थानमा भएको हो भन्ने खुलाएको छैन, तर अधिकांश सैनिकहरू आक्रमणको समयमा सुरक्षित आश्रयमा रहेकाले ठूलो क्षतिबाट जोगिएको स्पष्ट पारेको छ।
हालका हप्ताहरूमा युक्रेनी सेनाले तालिममा रहेका सैनिकहरूको सुरक्षामा कमजोरी देखिएको भन्दै छानबिनको मागको सामना गरिरहेको छ। गत महिना सीमा नजिकै तालिम लिइरहेका छ जना सैनिकको रुसी आक्रमणमा मृत्यु भएको थियो, जसलाई एक युक्रेनी विपक्षी नेताले सेनाको नेतृत्वद्वारा गरिएको 'अपराध' को संज्ञा दिएका थिए।
युक्रेनी सेनाले एक विज्ञप्तिमा भनेको छ, "आज, जुन १ मा युक्रेनी सेनाको एक तालिम इकाई अवस्थित स्थानमा मिसाइल आक्रमण भएको छ।" स्थानीय समय अनुसार दिउँसो १२ः५० बजेसम्म कम्तीमा १२ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको पुष्टि भइसकेको छ।
यसबाहेक, आइतबार नै रुसी सेनाले युक्रेनको उत्तरमा रहेको सुमी क्षेत्रमा अर्को गाउँ आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। उक्त क्षेत्रमा मस्कोले नयाँ स्थलआधारित आक्रमण सुरु गर्न सक्ने भन्दै किभले चिन्ता व्यक्त गरेको छ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका अनुसार, रुसले हालका हप्ताहरूमा सुमी क्षेत्रमा कैयौं बस्तीहरू कब्जा गरिसकेको छ र सीमा पारि ५० हजारभन्दा बढी सैनिकहरू परिचालन गरिसकेको छ। सुरक्षा कारणवश सो क्षेत्रका २०० भन्दा बढी गाउँहरूबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्।