arrow

रूस- युक्रेन प्रतिनिधिमण्डल इस्तानबुलमा, वार्तामा प्रगति भए ट्रम्प पनि जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
russia-ukraine-referendum.jpg

काठमाडौँ । युक्रेनसँग तीन वर्षभन्दा बढी समयसम्म युद्धपछि पहिलो प्रत्यक्ष शान्ति वार्ताका लागि रुसी प्रतिनिधिमण्डल बिहीबार इस्तानबुल आइपुगेको छ । रूसको तर्फबाट राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी भएका छैनन् । 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनलाई वार्तामा व्यक्तिगत रूपमा उपस्थित हुन चुनौती दिएपनि क्रेमलिनले बुधबार अबेर प्रकाशित गरेको मस्कोको वार्ता टोलीको सूचीमा पुटिनलाई समावेश गरिएको थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै अर्थपूर्ण प्रगति भएमा टर्कीको यात्रा गर्ने सम्भावनालाई खुला राखेको बताएका छन् । 

 पुटिनका साथै विदेशमन्त्री सेर्गेइ लाभरोभ वा विदेश नीतिका सहयोगी युरी उशाकोभजस्ता कुनै पनि उच्च कूटनीतिज्ञको अनुपस्थितिले वार्ताको महत्व वा सफलताको सम्भावना कम गर्ने देखिन्छ । 

सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण गरेयता दशौँ हजार मानिसको ज्यान गइसकेको छ ।

अहिले रुसले युक्रेनको भूभागको पाँच भागको एक भाग ओगटेको छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले मस्कोको टोली गम्भीर कामका लागि तयार रहेको बताए । 

युक्रेनका एक अधिकारीले एएफपीलाई बताएअनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई भेटेर र त्यसपछि मात्र वार्ताका लागि आफ्नो दृष्टिकोण तय गर्नेछन् । 

“राष्ट्रपतिले एर्दोगानसँग अङ्कारामा आफ्नो भ्रमण सुरु गर्नुहुनेछ र त्यसपछि मात्र राष्ट्रपतिले अर्को कदमबारे निर्णय गर्नुहुनेछ,” स्रोतले बताएको छ । 

वार्ता भइरहेको हल्ला चलेको इस्तानबुलको डोल्माबाचे प्यालेसमा सयौँ पत्रकार भेला भएका छन्।

ट्रम्पले तीन वर्षदेखि जारी युद्धको शीघ्र अन्त्यका लागि जोड दिँदै आएका छन् तर प्रगति हुन नसकेपछि दुवै पक्षलाई प्रत्यक्ष वार्ता गर्न प्रोत्साहित गरेका छन्। 

राष्ट्रपति ट्रम्पले कतारमा भने, “यदि वार्ता सोचे अनुरूप अघि बढेमा म शुक्रबार टर्कीए जान्छु ।”

नेटोको बैठकमा बोल्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टन प्रगतिका लागि ‘आतुर’ रहेको र युद्धको स्थायी अन्त्यका लागि ‘कुनै पनि संयन्त्र’ माथि विचार गर्न इच्छुक रहेको बताएक छन्। 

युक्रेनमा जारी द्वन्द्व र पारस्परिक चासोका अन्य क्षेत्रीय विषयमा छलफल गर्न रुबियो शुक्रबार इस्तानबुलमा हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

किएभ र युरोपेली नेताहरूले ३० दिनको पूर्ण र निःशर्त युद्धविरामका लागि सहमत हुन दबाब दिएपछि पुटिनले आश्चर्यजनक रूपमा वार्ताका लागि आह्वान गरेका थिए ।
--- 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ