चैत २४, २०८१ रातिको करिब ११ बजेतिर। सामाजिक सञ्जालमा एकाएक एउटा दु:खद खबर फैलियो-अग्रज पत्रकार भैरव रिसालको निधन भनेर । यस दु:खद खबरले मलाई स्तब्ध बनायो । भैरव रिसाल कुनै खास एक व्यक्ति मात्र नभएर आदर्श र दर्शनहरूको एउटा संस्था वा खम्बा नै थिए । भैरव रिसाल नेपालको सामाजिक, राजनीतिक, साहित्यिक, पत्रकारिता आदि क्षेत्रमा सबैका आदर्शपात्र थिए ।
९७ वर्षको उमेरमा निधन भएका रिसाल नेपाली पत्रकारिता इतिहासकै एक पर्याय मानिएका थिए । भैरव रिसालले वि.सं २०१३ देखि २०८० सम्म प्रत्यक्ष वा परोक्ष रुपमा नेपाली पत्रकारितामा रहेर निष्ठावान पत्रकारका रुपमा महत्त्वपूर्ण योगदान दिएका थिए ।
वरिष्ठ र अग्रज पत्रकार भैरव रिसालको व्यक्तिगत,सामाजिक,व्यावसायिक र पेशागत जीवनका विभिन्न आयाम र इतिहास यत्रतत्र पढ्न पाइन्छ । मलाई लाग्छ नेपाली पत्रकारिताको इतिहासमामा सर्वपरिचित नाम भनेकै भैरव रिसाल नै हुनुपर्छ ।
भैरव रिसाल आफ्नो जिन्दगीको कर्ममा कहिल्यै नथाकेको र कहिल्यै नहारेको अद्भूत व्यक्ति नै थिए । भैरव रिसालमा बच्चाको जस्तो उत्सुकता, किशोरको जस्तो चञ्चलता, युवाको जस्तो ऊर्जा, वयस्क जस्तो बुद्धिमता र प्रौढको जस्तो परिपक्वता थियो ।
रिसालका व्यक्तिगत जीवनका अनेक पाटाका बारेमा विभिन्न पुस्तक, पत्रिका र टेलिभिजन आदिजस्ता माध्यमहरूमा थुप्रै सामग्री र लेखहरू प्रकाशित र प्रसारित भएका छन् । यो आलेख पनि विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित सामग्री र उनी र मेरो व्यक्तिगत भेटघाटका सन्दर्भलाई आधार बनाएर लेखेको छु ।
रिसालले नेपाली पत्रकारितामा लामो समयसम्म काम गरेपनि उनको सामाजिक, राजनीतिक र साहित्यक क्षेत्रमा पनि महत्त्वपूर्ण र ठूलो योगदान रहेको छ। रिसाल आफैँले भने अनुसार अहिलेसम्म इमानले बाँचेको छु,सम्मानले मर्न पाऊँ भन्ने थियो । वास्तवमा सम्मानपूर्वक नै मृत्युवरण गरेका छन् ।
सबैभन्दा पहिले म र भैरव रिसालको भेटको कुरा गरूँ। आजभन्दा दुई दशक पहिले केही महिना भैरव रिसालको निकट रहेर उनका नितान्त निजी जीवन र उनका कृतित्वका बारेमा शोध वा थेसिस लेख्ने मौका मलाई मिलेको थियो । वि.सं.२०६० मा म स्नातकोत्तर तहको दोस्रो वर्षमा अध्ययनरत थिएँ । स्नातकोत्तर तहको दोस्रो वर्षको पाठ्यक्रममा एक सय पूर्णाङ्कको एउटा शोधपत्र लेख्नुपर्ने हुन्थ्यो ।
दोस्रो वर्षको अन्त्यतिर विभागले सूचना पाटीमा विभिन्न शोध शीर्षक निकालेर विद्यार्थीहरू आफ्नो रुचि अनुसार निश्चित समयभित्र शोधपत्र तयार गर्न लगाएको थियो । मेरा सहपाठी साथीहरूले आफ्नो रुचि अनुसार आफ्नो शीर्षक छानी दर्ता गरे । मैले तुलनात्मक रुपमा अलि सजिलो र छिटो सकिने शीर्षक खोजिरहेको थिएँ । मैले त्यहाँ दिइएका शीर्षकहरूमध्ये कुनै स्रष्टाको जीवनी, व्यक्तित्व र कृतित्व खोजिरहेको थिएँ । त्यहाँ भैरव रिसालको नाम पनि थियो ।
त्यसबेला मैले कतै पत्रिकामा भैरव रिसालको नाम देखेजस्तो लाग्यो तर स्रष्टा वा लेखककै रुपमा उनका बारेमा जीवनी, व्यक्तित्व र कुनै कृतिहरू पढेजस्तो लागेन । मेरो सहपाठी मित्र तेजविलास अधिकारीले भक्तपुरतिर बस्ने पत्रकार हुन् कि क्या हो,त्यतिसारो जानकारी त छैन, छिटो सक्न खोजेकै हौ भने धेरै कृतिहरू छैनन् होला,भैरव रिसालकै बारेमा लेख्न नाम दर्ता गराऊ भने ।
मैले पनि साथीको सल्लाह बमोजिम विभागमा भैरव रिसालको जीवनी, व्यक्तित्व र कृतित्वमा शोधप्रस्ताव तयार गर्नको लागि मेरो नाम दर्ता गरेँ । शोधप्रस्ताव तयार गर्न त भैरव रिसाललाई त खोज्नु पर्यो,कसरी होला भन्दैगर्दा तेजविलासजीले नै बाटो बताइ दिए ।
भक्तपुरबाट निस्कने मजदुर पत्रिकामा उनका लेख आउँछन्, मजदुर पत्रिकाको सम्पर्क फोन नम्बर खोजेपछि भैरव रिसालको फोन पनि पत्ता लाग्छ भने । अनि म त्रिविको केन्द्रीय पुस्तकालयमा गएर मजदुर साप्ताहिकको फोन पत्ता लगाएँ । त्यसैदिन बेलुका कोठामा आएर मजदुर पत्रिकामा फोन गरी भैरव रिसालको फोन पनि पत्ता लगाएँ । मेरो मनमा भैरव रिसाल भन्ने व्यक्ति कस्ता होलान्, कृतिहरू के के र कस्ता होलान् भन्ने कौतुहलता, जिज्ञासा र कताकता डर पनि लागेको थियो ।
भैरव रिसाललाई डराईडराई फोन गरेँ । फोन उठ्यो,हेल्लो भन्दै मैले आफ्नो परिचय दिएँ । उता पनि भैरव रिसालले नै फोन उठाउनु भएको थियो । उहाँको पहिलो बोली नै अत्यन्तै परिचित जस्तै लाग्यो । मैले फोन गर्नुको कारण भनेँ, अनि भेट गर्न समय पनि मागेँ । सायद उनले अर्को दिनै बिहान ९ बजेको समय दिए जस्तो लाग्छ । उनको कुरा गराइबाट म अलि हलुँगो भएँ । उनी आफू अनामनगर बस्ने जानकारी दिए । म त्यतिबेला ताहाचल बसे पनि पहिले केही वर्ष मैतीदेवी र घट्टेकुलो बसेको हुनाले अनामनगर बारेमा परिचित थिएँ ।
अर्कोदिन बिहान ९ बजे भेट्ने सल्लाह अनुसार म अनामनगर चोकमा गई फोन गरेँ । एकअर्कामा अपरिचित हुनाले देख्दा बित्तिकै चिन्ने त कुरै भएन । उनले दिएको जानकारी अनुसार गल्लि खोज्दै गएको तपाईं राजेन्द्रजी हो भन्दै होचो कद र हँसमुख भएका भैरव रिसालले आफ्नो परिचय दिए ।
त्यो दिनको घटना मेरो मानसपटलमा अझै ताजै नै छ । उनले घरमा लगे । भर्खरै घरबाट नै रेडियो सगरमाथामा उहिलेका कुरा कार्यक्रम चलाएका रहेछन् । उनकी धर्मपत्नी सुशीला पनि त्यहीँ थिइन् । मैले आफ्नो सबै परिचय र त्यहाँ भेट्नु आउनुको कारण बताएँ । उनले अत्यन्तै खुशी हुँदै आफू पहिले कुनै समय बुटवल र तौलिहवातिर जाँदाका कुराहरूको स्मरण गर्दै सुनाए ।
म उनलाई सम्बोधन गर्दा सर भनेछु तर उनले मलाई आइन्दा दाइ भन्नु है भनेर भने । मैले आश्चर्य मान्दै किन भने ? उनले सर भन्दा मलाई धेरै गरुँङ्गो र भारीबोके जस्तो लाग्छ अनि तपाईं र मेरो सम्बन्धको दूरी टाढा भएजस्तो लाग्छ भने । मलाई आश्चर्य लाग्यो । त्यसपछि हरेकपटक उनलाई दाइ नै भनेर सम्बोधन गरेँ । मेरो हजुरबुवा उमेरको व्यक्तिलाई दाइ भन्दा शुरुमा अलि अफ्ठ्यारो लाग्यो तर बिस्तारै बानी पर्दै गयो।
हामी बीचमा शोध विषयकै बारेमा लामो कुराकानी भयो । उनको जीवनी सर्सती सुनेँ कतिपय टिपोट गरेँ । उहाँका जीवनीका पाटाहरू केही कहालीलाग्दा, केही आश्चर्यलाग्दा, केही दुख:दायी, सङ्घर्षपूर्ण र रमाइला पनि रहेछन् । एकै बसाइँमा सबै सुन्न टिपोट गर्न सकिने थिएनन् । त्यतिबेला उनका पुस्तकाकारका रुपमा दुईवटा कृतिहरू साधुलाई सूली (डायरी,२०५३) र लोग्ने-स्वास्नी र केही मित्रका चिठी(२०५८) प्रकाशित भएका रहेछन्,ती मलाई दिए ।
उनका विभिन्न पत्रिकामा प्रकाशित भएका अधिकांश लेखहरू कटिङ् नै गरेर सङ्ग्रह गरेका रहेछन् । ती बताइ दिए । उनले दिएका दुई पुस्तक लिएर फेरि भेट्ने गरी म बिदा भएको थिएँ । उनका दुई पुस्तकलाई आधार बनाएर शोध प्रस्ताव तयार गरेँ । विभागबाट शोधपत्र लेख्नको लागि शोधप्रस्ताव स्वीकृत पनि भयो । सायद भैरव दाइसँग शोधपत्र तयार गर्ने सिलसिलामा दुईचार पटक उनको घरमा गएको थिएँ ।
२०६१ तिर शोधपत्र लेखेर सकिएपछि एकप्रति उनलाई दिँदा नै उनी र मेरो अन्तिम भेट भए जस्तो लाग्छ । काठमाडौँ जाँदा समय मिलेन, बुटवल फर्किएपछि जहिले पछुतो भइरह्यो । अल्लि वर्ष पछि म विदेश, उनी स्वदेश । अब त भैरव दाइ सधैका लागि टाढा भए । भेट्ने भन्दा भन्दा भेट्नै नपाएर जिन्दगीभरि पछुतै पछुतो हुने भयो । अब भैरव दाइ यो संसारमा त छैनन् तर पनि भैरव दाइले म र हाम्रो समाजलाई धेरै कुरा भनेर र छोडेर गएका छन् । अब त उनका प्रेरणा, पथ प्रदर्शन, मार्ग निर्देशन र दर्शनलाई अनुशरण गर्नु नै उनीसितको भेट हुनेछ ।
अब म यहाँ भैरव रिसालको व्यक्तिगत र अन्य बहुआयामिक पाटालाई संक्षिप्तमा उतार्न चाहन्छु । भैरव रिसालको जन्म वि.सं.१९८५ श्रावण २९ गते भक्तपुरको गुन्डु क्षेत्रमा पर्ने तिथली गाउँमा पिता गोवर्धन रिसाल र माता गणेशकुमारी उपाध्यायको ज्येष्ठ सुपुत्रका रूपमा भएको थियो। भैरव रिसालका जीवनका अनेक किसिममा उतारचढाव र सङ्घर्षका कथाहरू यो सानो लेखमा समेट्न सकिँदैन । भैरव रिसाल होचो कदको,प्रायः सफा चट्ट सुकिलो पोशाक लगाउने,फराकिलो अनुहार भएको, तेजिलो आँखा, जिज्ञासु स्वभाव, हँसिलो मुखका थिए ।
संस्कृत साहित्यमा आचार्यकल्पसम्मको औपचारिक शिक्षा हासिल गरेका रिसालले २००४ मा जयतु संस्कृतम् आन्दोलनको नेतृत्व गरेका थिए । यसबाट थाहा हुन्छ कि उनमा राजनीतिक चेतना र विद्रोहको स्वभाव विद्यार्थी उमेरदेखि नै थियो । पढेर नभएर परेर पत्रकार बनेको बताउने उनले २०१२ सालमा लोकसेवाबाट सेक्सन अफिसरमा उत्तीर्ण गरे पनि कम्युनिष्ट भएकै कारण जागिर पाएका रहेनछन् ।
भैरव रिसाल २००८ सालमा दरखास्तै दिएर कम्युनिष्टको सदस्य बनेका रहेछन् । २०१३ सालमा 'हालखबर' पत्रिकाकामा जागिर र सँगै पत्रकारिता क्षेत्रमा प्रवेश गरेका रिसालले हालखबर पत्रिकामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तर्वार्ता छापेर त्यसैको प्रभावमा महाकवि देवकोटाले रोकिएको तलब पनि पाएका रहेछन् ।
भैरव रिसालसँग नेपाली हाँस्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालको सङ्गतको अनुभव पनि रहेको थियो । भैरव अर्यालसँग करिब डेढ वर्ष एउटै ताउलीमा भात, एउटै डिक्चीमा दाल र एउटै दिउरीमा तरकारी, एउटै खलमा अचार बनाएर खाएको अनुभव भैरव रिसालमा थियो ।
भैरव रिसालले २०२० देखि २०४२ सालसम्म राष्ट्रिय समाचार समितिमा सम्वाददाता हुँदै वरिष्ठ संवाददाताका रूपमा काम गरेका थिए । भैरव रिसालले २०१८ सालमा केन्द्रीय तथ्याङ्क विभागको जनगणनामा २६ महिने अस्थायी सरकारी जनगणना अधिकृतका रूपमा दार्चुलामा जनगणना गराएका थिए । उनलाई जनगणना गर्न कालापानी, लिपुलेक र लिम्पियाधुरा पठाए पनि त्यहाँ कोही मानिस नबसेको कारण गणना गर्ने कुरो भएन भनेर आफैँले बताएका थिए ।
भैरव रिसाललाई २०४३ सालमा राजधानी साप्ताहिकमा समाचार लेखेकै आधारमा १० महिना जेल बस्नु परेको थियो । राजधानी साप्ताहिकमा एसियायी मापदण्ड; मन्त्रीमण्डलको ठगी खाने भाँडो शीर्षकको समाचारमा आर्थिक वर्ष २०४३/०४४ को बजेटबाट नेपाली जनताको जीवनस्तर एसियायी स्तरमा उकास्ने राजाको सपना साकार हुन सक्दैन भन्ने उक्त लेखको निचोड रहेछ । यही लेख लेखेकै आधारमा अनाहकमा जेल बसेकै बेला उनले साधुलाई सूली भन्ने डायरी लेखेका थिए ।
२०४२ सालदेखि २०४७ सालसम्म एकीकृत विकास प्रणाली (आइडीएस) संस्थामा सामाजिक वैज्ञानिकका रूपमा काम गरेका रिसालले राष्ट्रिय आलु विकास कार्यक्रम अन्तर्गत नेपालका इलाम, बैतडी, कास्की, दैलेख, सुनसरी, दोलखा आदि जिल्लामा किसानहरूलाई उन्नत आलु खेतीका साथै इलाममा उन्नत चिया खेती तथा मकै खेती गर्न र दुध उत्पादनका लागि उन्नत नस्लका गोरु,गाई उत्पादन गर्न प्रेरित र प्रशिक्षित गरेका थिए ।
२०४४ सालदेखि वातावरण पत्रकार समूह स्थापना गरेर वातावरण संरक्षण अभियानमा जोडिएका रिसाल दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो नेटवर्क 'सगरमाथा एफएम' का संस्थापक थिए । उनले 'सगरमाथा एफएम' मा सञ्चालन गरेका 'कुरोकन्थो' कार्यक्रम र 'उहिले बाजेका पालामा' कार्यक्रम लोकप्रिय थिए।'
उज्यालो हुम्ला'अभियान सञ्चालन गरेर तत्कालिक अवस्थामा प्रतिव्यक्ति चार हजार रुपैयाँ उठाएर हुम्लाका ५५० घरमा सौर्यबत्ती पुर्याउने लगायतका राष्ट्रिय महत्त्वका सामाजिक सेवा र जागरणका अनुकरणीय कार्यसमेत गरेका थिए ।
भैरव रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुर-२ मा उम्मेदवार बनेका थिए । तर नेपाली कांग्रेसका जगन्नाथ आचार्यसँग १३ सयभन्दा केही बढी मतले पराजित भएका थिए । भैरव रिसालले नेपालको पछिल्लो राजनीतिका सम्बन्धमा राजनीति हराएको राजनीति भयो भन्थे र पत्रकार हुन पत्रकार नै हुनुपर्छ भन्ने उनको आदर्श वाक्य थियो ।
भैरव रिसालले जीवनको अन्त्यतिर मानिसले चाह्यो भने स्वैच्छिक मृत्यु रोज्न पाउनुपर्छ भन्ने एउटा महत्त्वपूर्ण विषय उठाएका थिए । यो विषय अहिले नेपाली समाजमा बहसमा नै रहेको छ । उनका अनुसार जिउले केही गर्न सक्दैन, खाएको पच्दैन, आँखाले देख्दैन र दिसापिसाब आएको थाहा पाउँदैन र थाहा पाए पनि व्यवस्थापन गर्न सक्दैन भने त्यस्तो व्यक्तिले स्वेच्छिक मृत्यु रोज्न पाउनु पर्छ भन्ने थियो ।
जब मान्छेका लागि जीवनभन्दा मृत्यु सहज हुन्छ, त्यतिबेला मृत्यु रोज्न पाउनुपर्छ भन्ने उनको मान्यता थियो । रिसालले देशका नेताले अत्यन्तै ढाँटेकै कारण २०८० साललाई नढाँट्ने वर्ष मनाऔँ भनेर प्रस्ताव राखेका थिए । कुन नेताले मान्ने ? नेताले झन् धेरै पो ढाँटे ।
त्यस्तै उनी अहिलेका वैज्ञानिकहरूले यो ब्रह्माण्डलाई बिगारे भन्नेमा अत्यन्तै चिन्तित थिए । भैरव रिसालले पछिल्लो पुस्ता नयाँ खोजीमा उत्सुकता रहेको तर प्रतिभालाई सही तरिकाले प्रयोग गर्न नसकेको हो कि भन्ने कुरामा सशङ्कित देखिन्थे । भैरव रिसालले मृत्युपछि आफ्नो शरीर शिक्षण प्रयोजनका लागि पाटन अस्पताललाई दान गरेका थिए । त्यसैले उनको मृत शरीरलाई दाहसंस्कार नगरी पाटन अस्पतालमा राखिएको छ । भैरव रिसालकी एक श्रीमती, दुई छोरी र दुई छोराहरू छन् ।
भैरव रिसालद्वारा र उनीसँग सम्बन्धित थुप्रै पुस्तकहरू प्रकाशित भएका छन् । उनका साधुलाई सूली (जेलडायरी,२०५३), लोग्ने-स्वास्नी र केही मित्रका चिठी (२०५८), उहिले बाजेका पालामा (संवाद,२०५७), त्यतिबेलाको पत्रकारिता, (इतिहास, सहलेखन-२०६५), सुशीला-भैरव (जीवनका भोगाइहरू,सहलेखन-२०६६), हात्ती (२०७३), नेपाली साहित्यका तीन तारा (जीवनीपरक समालोचना,२०७६), उहिलेको नेपाल (इतिहास,२०७६), छानिएका रचना (लेखसङ्ग्रह,२०७९), भैरव दाइको जीवन ग्रन्थ(२०७९), भैरव दाइ (आत्मसंस्मरण,२०८०), बितेका कुरा (निबन्ध/डायरी २०८१), भैरव रिसालका छानिएका रचना (दोस्रो भाग,२०८१), कुरोकन्थो (लेखसङ्ग्रह)लगायतका कृतिहरू प्रकाशित भएका छन् ।
उनले थुप्रै पुस्तक र पत्रपत्रिकाको सम्पादनसमेत गरेका थिए । भैरव रिसालको निधनबाट नेपाली पत्रकारिता,भाषा-साहित्य, समाजसेवा, वातावरण, संरक्षण, कृषि, जलविद्युत् आदि क्षेत्रमा अपूरणीय क्षति भएको छ । अन्त्यमा आदरणीय भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली । (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)