काठमाडौँ । दुई सातादेखि काठमाडौँ उपत्यकामा बढेको प्रदूषण घट्न सकेको छैन । वर्षा नहुँदा झनै बढेको वायु प्रदूषणलाई डढेलो र आगलागीले थप बिगारेको छ ।
आईक्यूएयरका अनुसार दुई सातादेखि काठमाडौँ विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको छ । आइतबार बिहान १०ः१९ बजे पनि काठमाडौँ सर्वाधिक प्रदूषित सहरमा शीर्ष स्थानमा रहेको छ ।
काठमाडौँको एयर क्वालिटी इन्डेक्स एक्यूआई २३३ रहेको छ । भारतको दिल्ली २१६ सहित दोस्रो, भियतनामको हनोई १९३ सहित तेस्रो तथा पाकिस्तानको लाहोर १८६ एक्यूआईसहित चौथो स्थानमा छ ।
भारतकै मुम्बई १६२ एक्यूआईसहित पाँचौँ, बंगलादेशको ढाका १४६ एक्यूआईसहित छैटौँ तटथा चीनको सांघाई १४४ एक्यूआईसहित सातौँ स्थानमा छ ।
त्यसैगरी थाइल्याण्डको चियाङ माई १४३ एक्यूआईसहित आठौँ, चीनको वुहान १४२ सहित नवौंँ तथा चीनको चोङक्विङ १४० एक्यूआईसहित दशौँ स्थानमा छ ।
यो विवरणले पनि नेपाल, भारत, चीन, बंगलादेश र पाकिस्तानबाटै शीर्ष आठ स्थान ढाकिएका छन् ।
यो भेकमा निकै नै प्रदूषण देखिएको छ । जसका कारण स्वासप्रश्वासका बिरामीहरु बढेका छन् ।
रुघाखोकीको भाइरल बढेको छ । त्यस्तै आँखाको रोगमा वृद्धि आएको चिकित्सकहरुले बताएका छन् ।
यसलाई न्यूनीकरण गर्नका लागि सरकारले भने कुनै कदम चालेको छैन । अनावश्यक वस्तुहरु नजलाउनसमेत आग्रह गर्न सकेको छैन । सवारी साधनबाट निस्कने प्रदूषण कम गर्न सकेको छैन ।
काठमाडौँ बाहेकका देशका अन्य मुख्य सहर पनि प्रभावित भएका छन् ।