ब्रह्मलुट मच्चाउने अध्यादेश ल्याएको छ - झलनाथ खनाल
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
605
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले व्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको बताएका छन् । उनले दुई तिहाइ बहुमत पाएको बेलामा भूमिसुधार गर्न सकिने आधारहरू रहे पनि त्यसतर्फ जान नसकेको बताए । उनले वैज्ञानिक भूमि सुधार गर्नुपर्नेमा सरकारले अहिले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको जिकिर गरे ।
उनले कृषि क्रान्ति गर्दै कृषिलाई आधुनिकीकरणतर्फ लैजान जरुरी रहेको बताए । उनले किसानले बजार नपाउने समस्याको अन्त्य गर्न जरुरी रहेको बताए । उनले देश संकटउन्मुख रहेको बताए । सम्मानित नेता खनालले भ्रष्टाचार अन्त्य गरी भ्रष्टाचार गर्नै नपर्ने र गर्नै मन नलाग्ने किसिमको समाजवाद निर्माण गर्न जरुरी रहेको बताए । उनले समाजका विकार र विकृतिहरू हटाउँदै जानुपर्ने बताए ।
खनालले भने, ‘हामीले दुई तिहाइ बहुमत पाएको बेलामा भूमिसुधार गर्न सक्थ्यौँ । वैज्ञानिक भूमि सुधार । अब अहिले हेर्नुस् त अध्यादेश ल्याएर व्रह्मलुट मच्चाउने अध्यादेश ल्याएको छ । भूमि सुधार गर्नुको सट्टा । वैज्ञानिक भूमिसुधार गर्नुको सट्टा । यो व्रह्मलुटको अध्यादेश हो । यस प्रकारका काम गर्न पुगिरहेका छौँ । हामी कृषि क्रान्ति गर्न सक्दैनौँ । कृषिलाई आधुनिकीकरण गर्न सकेका छैनौँ । किसानले उत्पादन त वर्षौंदेखि गरिरहेको छ । तर उत्पादन गरेको वस्तुको मूल्य पाइरहेको छैन । उसले बजार पाइरहेको छैन । त्यो कुरा सबै प्राप्त गर्न सकिन्छ । कृषिलाई व्यापक रूपले यान्त्रिकीकरण गर्न सक्छौँ ।’
उनले नेपाली भूभाग विदेशीको कब्जामा रहेको र त्यसलाई फिर्ता ल्याउने कुनै पहल हुन नसकेको बताए । समाजवादको जामा लगाउनेहरू समाजमा धेरै रहेको बताउँदै नाम मात्रैको समाजवादीले समाजवादमा नपुगिने बताए ।