युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउन सकिन्छः गृहमन्त्री लेखक
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २२ मंगलबार
9.6k
Shares
पोखरा । गृहमन्त्री रमेश लेखकले युवालाई खेलकुद र समाजसेवामा जोड्नुपर्नेमा जोड दिएका छन् ।
पोखरा-१ स्थित बुद्ध टोल युवा क्लबद्वारा पोखराको टुँडिखेलमा आयोजित आठौँं वीरेन स्मृति तथा १८औँ बीटी कप सेभेन ‘ए’ साइट फुटबल प्रतियोगिता उद्घाटन गर्दै उनले युवालाई खेलकुद र समाजसेवामा जोड्न सके उनीहरूलाई कुलतबाट बचाउन सकिने बताएका हुन् ।
मन्त्री लेखकले लागुऔषध सेवनका कारण अपराधका घटना बढ्नुको साथै सामाजिक सञ्जालमा समेत विकृति आउने गरेकाले त्यसतर्फ गृह मन्त्रालयको ध्यान गएको बताए ।
“खेलकुदले मानिसलाई स्वस्थ्य, उच्च विचार, बुद्धिमान र अनुशासनमा राख्ने हुँदा खेलकुदमा लाग्न सबैलाई मेरो आग्रह छ, राजनीति गर्ने व्यक्तिलाई पनि खेलकुदमा सहभागी हुन प्रेरित गर्न आवश्यक छ, यसले कुलतबाट जोगिन र असल कार्य गर्न ऊर्जा प्राप्त हुन्छ”, उनले भने ।
पर्यटकीय सहर पोखरामा हुने यस्ता खेलकुदका गतिविधिले यहाँको पर्यटन प्रवर्द्धननमा सहयोग पुग्नुको साथै आर्थिक गतिविधिसमेत बढ्ने भन्दै गृहमन्त्री लेखकले विविधताको धनी देशमा मिलेर बसेका समुदायको आर्थिक अवस्था सुधार गर्नका लागि सरकार लागिपरेको बताए । क्लबले १८ वर्षदेखि निरन्तर यस्ता प्रतियोगिता गर्दै आएको छ ।