देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक छ – गृहमन्त्री लेखक
सुनिल आउजी,
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
778
Shares
धनगढी । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् ।
मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले पहिलो आवश्यकता शान्ति स्थापना गराउनु भएपनि संगै अनुशासित पनि बन्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘सबैभन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो, तर सुरक्षासँगै अनुशासन पनि कायम गराउन जरुरी छ । गृहमन्त्री लेखकले मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचनलाई निश्पक्ष र शान्तीपुर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।
गृहमन्त्री लेखकले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो ।
उनले लोकतन्त्र मर्यादित ब्यवस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उल्लेख गरे ।
गृहमन्त्री लेखकले सीमानाकामा हुने राजस्व चुहावट, लागुऔषध नियन्त्रण, आत्महत्या, विपद, सवारी दुर्घटना जस्ता बिषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए । उनले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिदै भने, ‘तपाईहरुले काम गरिराख्नु भएको छ तर यत्तिले पुग्दैन थप क्रियासिलता र सकृयता भएर काम गर्नुस, सबै समस्या समाधान हुन्छन् ।’
उनले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सिमित नभई सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका विषयमा गम्भीर समीक्षा गरि आगामी योजना बनाउने बताए ।
कार्यक्रममा गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा सुरु भएको सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका प्रमुख वसन्त कुवँर, शसस्त्र प्रहरी प्रमुख राजु अर्याल,राष्ट्रिय अनुसन्धान विभाग प्रमुख लगायत सुदूरपश्चिमका सुरक्षा निकाय प्रमुख, नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतको सहभागीता रहेको छ ।