arrow

घारखोला जलविद्युत् अयोजनाको भौतिक संरचनाको परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
Gharkhola.jpg

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रर्वद्धक रहेको उक्त आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण सुरु गरिएको हो ।
    
बाँध र डिसेन्डर (पानी थिग्राउने पोखरी) मा पानी हालेर आइतबारदेखि परीक्षण थालिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए । उनका अनुसार आयोजनाको विद्युत् गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ । 

“डिसेन्डर, एप्रोच क्यानल, टनेल, पेनस्टकको क्रमैसँगै परीक्षण हुन्छ,” पौडेलले भने, “भौतिक संरचनाको अवस्था ठिक भए/नभएको पहिचान गर्न पानी हालेर परीक्षण गरिएको हो ।” 

अबको १५ दिनभित्र विद्युतको परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित भौतिक संरचनाको परीक्षणका साथै उपकरण जडान, प्रसारण लाइन र स्वीचार्ड निर्माणलाई अन्तिम रुप दिन लागिएको जनसम्पर्क अधिकृत पौडेलले बताए ।  

अन्नपूर्ण गाउँपालिका-५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ । जनसम्पर्क अधिकृत पौडेलका अनुसार बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर)मा पानी हालिएको हो । 

“डिसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ । बाँध, डिसेन्डर र एप्रोच क्यानलको दोस्रो चरणको परीक्षण गर्न लागिएको छ”, उनले भने ।  

तीन हजार पाँच मिटर लामो सुरुङ पानी बगाएर परीक्षणका लागि तयार भएको छ । अमिलाकाफलमा रहेको आउटलेटदेखि विद्युतगृहसम्म चार सय ८५ मिटर पेनस्टक पाइप जडान भएको छ ।

आउटलेटदेखि विद्युतगृहको दुरी एक हजार दुई सय मिटर र उचाइ चार सय ८५ मिटर छ । पोखरेबगरस्थित गोजेखोल्सीमा पहाड काटेर विद्युतगृहको भवन निर्माण सकिएको छ । 

विद्युतगृहमा टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल तर्फका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको आवासीय इन्जिनियर जोसेप बज्राचार्यले बताए । उनका अनुसार इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इण्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत्गृहमा उपकरण जडानको काम गरिरहेका छन् ।  

सिभिल ठेकेदार साउथ एसियन इन्फास्टक्चरले भौतिक संरचना निर्माण सकेको इन्जिनियर बज्राचार्यले बताए ।

“पोखरेबगरदेखि दुई सय २० केभी क्षमताको दाना सव स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रसारण लाइनको पोल गाड्ने र सवस्टेशनमा सिभिल संरचना बनाएर तार तान्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युत् गृहको नजिकै स्वचार्ड बनाउने काम भइरहेको छ”, उनले भने ।  

विसं २०७४ चैतदेखि सुरु भएको घारखोला विसं २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाइ भएको आयोजनाले जनाएको छ । कूल रू दुई अर्ब ४२ करोडको लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् । 

नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक शेयर लगानी आह्वान गर्ने प्रक्रिया अन्तिमचरणमा पुगेको प्रर्वद्धकले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ