ट्याङ्क पाएपछि लडाकु विमान ताक्दै युक्रेनले भन्यो- आणविक हतियार बाहेक नपाउने केही छैन
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
1.7k
Shares
काठमाडौं। युक्रेनले नेटो सहयोगी जर्मनी र संयुक्त राज्य अमेरिकाबाट शक्तिशाली युद्ध ट्याङ्कहरू पाएपछि अब पश्चिमी अमेरिकी एफ-१६ एवं चौथो पुस्ताका लडाकु विमानहरूका लागि पहल गर्ने बताएको छ।
संयुक्त राज्य अमेरिका र जर्मनीले बुधवार कीभका लागि शक्तिशाली ट्याङ्क उपलब्ध गराउने योजना घोषणा गरेपछि युक्रेनले आफ्ना सेनाहरूको लागि ठूलो क्षमता पाएको छ।
'अर्को ठूलो बाधा अब लडाकु विमानहरू हुनेछन्,' रक्षा मन्त्री ओलेक्सी रेज्निकोभलाई सल्लाह दिने युरी साकले भनेका छन्।
'यदि हामीले ती (लडाुक विमान) प्राप्त गर्याैं भने, युद्ध मैदानमा ठूलो सफलता प्राप्त हुनेछ... यो एफ-१६ मात्रै हैन्, हामी चौथो पुस्ताको लडाकु विमान चाहन्छौं,' उनले भनेका छन्।
युक्रेनको वायुसेनासँग ३१ वर्ष अघि स्वतन्त्रता घोषणा गर्नुअघिदेखिका पुरानो सोभियत युगका लडाकु विमानहरूको फ्लीट छ। लडाकु विमानहरू रुसी स्थानहरूमा आक्रमण गर्न र हस्तक्षेप गर्नका लागि प्रयोग गरिन्छ।
पश्चिमी सैन्य सहयोग कीभका लागि महत्त्वपूर्ण छ र युद्धको समयमा यो द्रुत रूपमा विकसित भएको छ। रूसी आक्रमण अघि, युक्रेनलाई घातक सहायता आपूर्ति गर्ने विचार पनि अत्यधिक विवादास्पद थियो, तर अहिले छ्यापछ्याप्ती बढ्दै गएको छ।
'उनीहरूले हामीलाई भारी तोपखाना दिन चाहेनन्, तरपछि दिए। तिनीहरूले हामीलाई हीमार्स प्रणालीहरू दिन चाहेनन्, तरपछि दिए। हामीलाई ट्याङ्क दिन चाहेनन् तर, अहिले ट्याङ्क दिइरहेका छन् । आणविक हतियार बाहेक, हामीले नपाउने केही बाँकी छैन,' युक्रेनी रक्षा मन्त्रीमन्त्रीका सल्लाहकार साकले अघि भनेका छन्।