म्याग्दीका युवा : सीप सिकेर गाउँमै स्वरोजगार, मनग्य आम्दानी
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
811
Shares
फाइल तस्वीर
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं. २ खान्दुलाका दीर्घबहादुर सापकोटाले घरमै बसीबसी बनाएको चोयाका मुढा (बस्ने साधन) बिक्री गरेर वार्षिक रु डेढ लाखभन्दा बढी आम्दानी गर्छन् ।
ग्रामीण रोजगार कार्यक्रमअन्तर्गत दुई वर्षअघि वडा कार्यालयले आयोजना गरेको १५ दिने मुढा बुनाइ तालिम लिएपछि सापकोटाले चोयाका सामग्री निर्माण गर्न थालेका हुन् । गाउँघरमा पाइने बाँसबाट चोया निकाली उनी मुढा, डोका, डालालगायत सामग्री निर्माण गर्छन् ।
यसैगरी आइपिएम पाठशालाअन्तर्गत दुई महिने कृषि तालिम लिएका मालिका गाउँपालिका वडा नं. ५ देवीस्थानका ३१ वर्षीय जगबहादुर बुढाले गाउँमै तरकारी खेती गरेर मनग्गे आम्दानी गर्दै आएका छन् ।
सापकोटा र बुढा मात्रै होइन पछिल्लो समय कृषि र पशुपालनमा प्राविधिक सीप सिकेपछि म्याग्दीका युवा गाउँमै स्वरोजगार बन्न थालेका छन् । रोजगारीका लागि विदेश जान तयार रहेका र वैदेशिक रोजगारीबाट फर्किएका युवा अहिले घर-गाउँमै व्यावसायिक बन्ने प्रयासमा लागेका हुन् ।
गाई, बाख्रा, बङ्गुुर, कुखुरा र मौरीपालन, बेमौसमी तरकारी खेतीलगायतको तालिम पाएपछि विशेषगरी १६ देखि ३० वर्ष उमेरका युवा कृषिमा आकर्षित भएका हुन् ।
जिल्लाका मालिका, धवलागिरि, मङ्गला, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका युवा अहिले कृषि र पशुपालनमा व्यावसायिक बन्न थालेका हुन् । तालिम मात्र होइन, थोरै मात्रामा ‘बीउ पूँजी’ पाएपछि ती युवालाई खेतीपाती र पशुपालनमा सहयोग पुगेको छ ।
लघुउद्यम विकास समिति, कृषि सहकारी तथा युवा स्वरोजगार लक्षित परियोजनालाई स्थानीय सरकारले साथ दिएपछि युवा लाभान्वित भएका हुन् । जीविकोपार्जनको वैकल्पिक उपायको खोजी र सीप विकासमार्फत स्वरोजगार, उद्यम र स्थानीयस्तरमै जीविकोपार्जनका लागि सहयोग उद्देश्यले कृषिमा युवा परिचालन गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
उद्यमशीलता र व्यावसायिक योजनाबारे युवालाई तालिम दिइएको युवा स्वरोजगार परियोजना संयोजक सन्तबहादुर कार्कीले बताए ।
“कृषि र पशुपालन मात्र होइन, युवालाई सशक्तीकरण, सुरक्षित आप्रवासन, मानव बेचबिखन नियन्त्रण, नेतृत्व विकासलगायतबारे पनि तालिम दिइएको छ”, उनले भने, “युवा भन्नेबित्तिकै व्यवसाय मात्रै गर्छन् भन्ने हुँदैन, युवा चौतर्फी क्षेत्रमा जोडिने भएकाले उनीहरूलाई तालिम, सचेतना र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेका हौँ ।”
यसैगरी धवलागिरि गाउँपालिकाले पनि युवा स्वरोजगारका विभिन्न तालिम सञ्चालन गरेपछि सीप सिकेर व्यवसाय गर्ने युवा युवतीको संख्या बढेको बताइएको छ । धवलागिरि गाउँपालिकामा पशुपालन, जडीबुटी खेती, फलफूललगायत क्षेत्रमा व्यावसायिकरूपमा लाग्ने युवाको संख्या बढ्दै गएको धवलागिरि-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
मङ्गला गाउँपालिकामा प्राविधिक सीप सिकेर व्यावसायिकरूपमा लाग्ने युवाहरूको संख्या सबैभन्दा बढी रहेको छ । यहाँका युवा विशेषगरी कृषि पेसातर्फ आकर्षित भएका गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । बानियाँका अनुसार गाउँपालिकाभित्र विगत तीन वर्षको अवधिमा ५० भन्दा बढी युवा व्यावसायिक कृषि पेसामा लागेका छन् ।