अन्न बोकेका थप तीन पानी जहाज युक्रेनी बन्दरगाहबाट छुटे
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
582
Shares
काठमाडौं । शुक्रबार अन्न बोकेका थप तीन पानी जहाज युक्रेनी बन्दरगाहबाट छुटेका छन् । सुरक्षित मार्ग सम्झौता अन्तर्गत रूसको आक्रमण यता पहिलो इनबाउन्ड कार्गोसहित अन्न बोकेका पानी जहाज त्यहाँबाट छुटेका हुन् । कीभले यो सम्झौतालाई अन्नपछि अन्य सामान जस्तै धातुलगायतको निर्यातमा समेत विस्तार गर्न आह्वान गरेको छ ।
पूर्वी युक्रेनमा युद्ध चलिरहेको बेला २२ जुलाईमा भएको यो सम्झौता एउटा दुर्लभ कूटनीतिक सफलता थियो । कीभले पाँच महिनाभन्दा बढी द्वन्द्वपछि आफ्नो चकनाचुर अर्थतन्त्रलाई पुनर्निर्माण गर्ने प्रयासमा अन्न निर्यात गर्न पाएको हो ।
'हामी आशा गर्छौं कि संयुक्त राष्ट्र र टर्कीबाट हाम्रा साझेदारहरूको सुरक्षा ग्यारेन्टीहरू काम गरिरहनेछन् र हाम्रा बन्दरगाहहरूबाट खाद्यान्न निर्यात सबै बजार सहभागीहरूको लागि स्थिर र पूर्वानुमानयोग्य हुनेछ,' युक्रेनी पूर्वाधार मन्त्री ओलेक्जेन्डर कुब्राकोभले जहाजहरू युक्रेनी बन्दरगाहबाट छुटेपछि भनेका छन् ।
यसअघि पहिलो अन्न बोकेको जहाज सोमबार ओडेसा बन्दरगाहबाट छुटेको थियो।
'यो सम्झौता रसदको बारेमा हो, ब्ल्याक सी मार्फत जहाजहरूको आवागमनको बारेमा हो,' युक्रेनी उपअर्थमन्त्री तारास काचकाले फाइनान्सियल टाइम्सलाई भनेका छन्, 'अन्न र फलामको धाउबीच के फरक छ ?'
युक्रेनबाट अनाजको ढुवानी रोकिएको कारणले भोकमरीको प्रकोपको चेतावनी दिएपछि संयुक्त राष्ट्र र टर्कीले मस्को र कीभ बीचको सुरक्षित मार्ग सम्झौतामा मध्यस्थता गरेको थियो ।