अन्न निर्यात गर्ने बन्दरगाहमा रुसी आक्रमणको चौतर्फी निन्दा
एजेन्सी,
प्रकाशित २०७९ साउन ८ आइतबार
656
Shares
काठमाडौँ। रुस र युक्रेनले अनाज निर्यातका लागि ब्ल्याक सीका बन्दरगाहहरू पुनः खोल्ने सम्झौतामा हस्ताक्षर गरेको एक दिन पछि रुसले ओडेसा बन्दरगाहमा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी सेनाले जनाएको छ।
शुक्रवार टर्की र संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामा रुस र युक्रेनबीच अनाज निर्यात गर्न दिने सम्झौतामा हस्ताक्षर भएको थियो।
तर, शनिवार “शत्रुले ओडेसा समुद्री व्यापार बन्दरगाहमा कालिब्र क्रूज मिसाइलहरूद्वारा आक्रमण गरे। दुई मिसाइल वायु रक्षा बलले खसालेका थिए। दुईले बन्दरगाहको पूर्वाधारमा चोट पुर्यायो, युक्रेनी सेनाको अपरेशनल कमाण्ड दक्षिणले टेलिग्राममार्फत जानकारी दिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसामा भएको हमलालाई स्पष्ट बर्बरताको रूपमा निन्दा गरेका छन्। यस्तै उनले शुक्रबारको सम्झौता कार्यान्वयन गर्ने विश्वास मास्कोलाई गर्न नसकिनेसमेत बताएका छन्।
रुसले युक्रेनको खाद्यान्न प्रशोधन केन्द्रमा गर्यो मिसाइल आक्रमण
यद्यपि युक्रेनले अनाज निर्यातको तयारी भने जारी राखेको छ। एक सरकारी मन्त्रीले अन्न ढुवानी फेरि सुरु गर्ने प्रक्रिया जारी रहेको बताएका छन्। यस्तै युक्रेनको बन्दरगाहमा उल्लेख्य क्षति समेत नभएको बताइएको छ।
यस्तै अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले पनि युक्रेनी ब्ल्याक सी बन्दरगाह ओडेसामा रुसी मिसाइल आक्रमणले सम्झौताप्रति रुसको प्रतिबद्धताको विश्वसनीयतामा गम्भीर शङ्का उत्पन्न गरेको बताएका छन्।
यस्तै उनले रुसको यो कदमले विश्व बजारमा खाद्यान्न ल्याउन संयुक्त राष्ट्रसङ्घ,टर्की र युक्रेनले गरेको महत्त्वपूर्ण कामलाई कमजोर बनाएको समेत बताएका छन्।