सेभेरोडोनेत्स्कको पतन अर्थात् मारियुपोलपछि रुसको अर्काे ठूलो जित
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
491
Shares
काठमाडौं। पूर्वी युक्रेनी शहर सेभेरोडोनेत्स्कका मेयरले शहरलाई रुसी सेनाले पूर्ण रूपमा कब्जा गरेको बताएका छन् । प्रमुख रणनीतिक सहरमा करिब एक महिना भन्दा लामो समयदेखि लडाइँ जारी रहेको र यसले बलियो युक्रेनी प्रतिरोधलाई समेत झल्काएको उनको भनाइ छ ।
दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो द्धन्द्ध पाँचौं महिनामा प्रवेश गर्दा शनिबार युक्रेनको पश्चिमी, उत्तरी र दक्षिणी भागहरूमा रूसी मिसाइलहरूको वर्षा भएको बताइएको छ ।
युद्धअघि १ लाख भन्दा बढी जनसंख्या भएको तर, अहिले रूसी तोपखानाले भग्नावशेषमा परिणत सेभेरोडोनेत्स्कको पतन गत महिना मारियुपोल बन्दरगाह सहर कब्जा गरेयता मास्कोको सबैभन्दा ठूलो जित हो ।
सेभेरोडोनेत्स्क सहरको पतनले युक्रेनको पूर्वमा यसअघि सुस्त प्रगती हात पारिरहेको मास्कोलाई थप फाइदा पुर्याएको छ । 'शहर अब पूर्ण रुसी कब्जामा छ,' सहरका मेयर ओलेक्जेन्डर स्ट्र्युकले राष्ट्रिय टेलिभिजनमा भनेका छन् । यस्तै उनले सहर पूर्णरुपमा अलग गरिएको बताउँदै यदि कोही पछाडि छुटेको छ भने त्यो अब युक्रेन नियन्त्रित क्षेत्रमा पुग्न नसक्ने समेत बताएका छन् ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले सहरको अजोट रासायनिक प्लान्टलाई प्रतिरोधको अर्को केन्द्रमा परिणत गर्ने युक्रेनी प्रयास असफल भएको बताएका छन् ।
'सफल आक्रामक अपरेसनको परिणाम स्वरूप एलपीआर (लुहान्स्क जनवादी गणतन्त्र)को जनताको मिलिशियाका एकाइहरूले रूसी सेनाको समर्थनमा सेभेरोडोनेत्स्क र बोरिभ्सके शहरहरूलाई पूर्ण रूपमा मुक्त गरेका छन्,' उनले अघि भने ।
रुसले किभ कब्जा गर्न नसकेपछि आफ्नो युद्ध केन्द्र पूर्वी युक्रेन बनाएको छ । त्यहाँ रुसी भाषी र अलगवादीहरुलाई समर्थन गर्दै रुसले त्यहाँबाट युक्रेनी सेनाविरुद्ध आक्रमण जारी राखेको छ । बीबीसीकाे सहयाेगमा