किभ। युक्रेनले मारिओपोलको एजोभस्टाल स्टिल कारखानामा दुई महिनाभन्दा बढी समयदेखि फसेका आफ्ना सयौँ लडाकुलाई बाहिर निकालेको पुष्टि गरेको छ। घाइते ५३ जना सैनिकलाई रुस समर्थित विद्रोहीको कब्जामा रहेको नोभोआजोभस्क सहरमा लगिएको युक्रेनी उपरक्षा मन्त्री हन्ना मलियारल बताइन्।
अरू २११ लाई मानवीय कोरिडोर प्रयोग गरेर विद्रोही नियन्त्रित अर्को सहर ओलेनिभका पठाइएको उनले बताइन। घाइते सैनिकहरूलाई त्यहाँबाट बाहिर निकाल्न रुससँग सम्झौता भएको रुसले यसअघि बताएको थियो।
घेराबन्दी गरिएको कारखाना नि लुकेका युक्रेनी लडाकुहरू बोकेका करिब एक दर्जन बसहरू सोमबार साँझ दक्षिणी बन्दरगाह सहरको विशाल औद्योगिक क्षेत्रबाट बाहिर निस्किएको रोयटर्सले जनाएको छ।
घाइते युक्रेनी सैनिकहरूलाई कारखानाबाट बाहिर निकालिएको भिडियो फुटेज रुसी सञ्चार माध्यमहरूले पनि पोस्ट गरेका छन्।
आफ्ना लडाकुहरू रिहा भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलवार राति युक्रेनी सेना, गुप्तचर निकाय, वार्ताकार टोली, रेडक्रस र राष्ट्रसङ्घका प्रतिनिधिलाई सम्बोधन गरेका थिए।