रुसी हमलामा पूर्वी युक्रेनमा २१ सर्वसाधारणको मृत्यु
एजेन्सी,
प्रकाशित २०७९ वैशाख २१ बुधबार
244
Shares
फाइल तस्बिर
किभ। रुसको पछिल्लो हमलामा कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ। पूर्वी युक्रेनमा भएका ती हमलामा २७ जना घाइते भएका दोनेत्सका गर्भनरले बताए। पूर्वी युक्रेनमा रुसले आफ्नो सैन्य कारबाही तीव्र पारेको छ। रुसको वायुसेनाले युक्रेनमा ३९ सैन्य केन्द्रमा आक्रमण गरेको रुसी रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले जनाएको छ।
तीमध्ये, दुई कमाण्ड पोस्ट र युक्रेनको सशस्त्र बलको जनशक्ति र सैन्य उपकरणहरूको क्षेत्र रहेको मन्त्रालयका मेजर जनरल इगोर कोनासेन्कोभले बताए।
युक्रेनले रुसलाई मूर्ख बनायो : बाइडेन
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी सेनाले अमेरिकी सैन्य सहायताको सहयोगमा ‘रुसी सेनालाई मूर्ख बनाएको’ बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिभर जेलेन्स्कीले पूर्वी बन्दरगाह सहर मारिओपोलको एउटा कारखानाबाट मुक्त भएका १५६ सर्वसाधारण नागरिक युक्रेन नियन्त्रित सहर जापोरिझिया पुगेको बताएका छन्।
कारखानामा फसेका अन्य व्यक्तिहरूको उद्धारका लागि राष्ट्रसङ्घका महासचिव एन्टोनियाो गुटेरेसले आह्वान गरेका छन्।