रुसी सेनालाई हटाउँदै युक्रेनले सुरक्षित गर्यो आफ्नो राजधानी
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
1.6k
Shares
काठमाडौं । युक्रेनको रक्षा मन्त्रालयले आफ्नो सेनाले रूसी सेनालाई हटाउँदै कीभ क्षेत्रको नियन्त्रण कब्जा गरेको बताएको छ । रुसी सेनाले सो विभिन्न क्षेत्रमा जमिनमुनि विस्फोटक पदार्थ माइन राख्दै सर्वसाधारणकालाई सङ्कट निम्त्याइ रहेका थिए ।
रुसले फेब्रुअरी २४ मा आक्रमण सुरु गरेपछि युक्रेनले राजधानी क्षेत्रको नियन्त्रण दाबी गरेको शनिवार पहिलो पटक हो।
युक्रेनकी उपरक्षा मन्त्री हन्ना मल्यारले फेसबुकमा लेखेकी छिन्,'पूरा कीभ क्षेत्र आक्रमणकारीबाट मुक्त भएको छ ।' यस विषयमा रुसले तत्काल कुनै प्रतिक्रिया भने दिएको छैन ।
कुल मिलाएर, युक्रेनी सेनाले कीभ वरपरका ३० भन्दा बढी सहर र गाउँहरू पुनः आफ्नै कब्जामा लिएका छन् ।
अधिकारीहरूका अनुसार पुनः कब्जा गरिएका सहरहरूले पाँच हप्ताको लडाइँको घाउ बोकेका छन्, जहाँ नष्ट भएका सशस्त्र गाडी, सैन्य गियर र दर्जनौँ शवहरू सडकहरूमा छरिएका थिए ।
राजधानी कीभको उत्तर पश्चिमी सहर बुचामा युक्रेनी सैनिकहरूले नागरिकहरूको शव सडकबाट बाहिर निकाल्न केबल तारको प्रयोग गरेका छन् । रुसी सेनाले शवमा कुनै विस्फोटक पदार्थ राखेको हुनसक्ने आशङ्कामा केबल प्रयोग गरेर शव तानेका हुन् ।
बुचाका मेयर अनातोली फेडोरुकले त्यहाँका अधिकारीहरूले २८० जनालाई सामूहिक चिहानमा गाडेको र पीडितहरूमा महिला र १४ वर्षीय बालकसमेत रहेको बताएका छन्। 'ती सबै मानिसहरूलाई टाउकोको पछाडि गोली हानेर मारिएको थियो,' फेडोरुकले भनेका छन् ।
बुचाको एउटा सडकमा समाचार एजेन्सी एएफपीले कम्तीमा २० शवहरू देखेको रिपोर्ट गरेको थियो, जसमा एउटा शव हात बाँधिएको अवस्थामा थियो। एउटा खुला युक्रेनी राहदानी हवको छेउमा भुईँमा राखिएको थियो, यस्तै अन्य दुई व्यक्तिले आफ्नो माथिल्लो हात वरिपरि सेतो कपडा बाँधेका थिए।
बेलायती विदेश सचिव लिज ट्रसले बुचामा भएको अत्याचारबाट स्तब्ध भएको बताउँदै युक्रेनमा सम्भावित युद्ध अपराधको बारेमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको अनुसन्धानको लागि समर्थन व्यक्त गरेकी छन् ।
रुसले भने सर्वसाधारणलाई निशाना बनाएको र युद्ध अपराधको आरोप अस्वीकार गरेको छ।
रुसले यतिबेला अब, विगत ८ वर्षयतादेखि नै युक्रेनबाट अलग हुन्छौ भनेर युक्रेनी सेनासँग लडिरहेका पृथकतावादीहरू रहेको डोनबास क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहने बताएको छ । अर्थात् सो क्षेत्रमा युक्रेन विरोधी अलगतावादीहरूसँग मिलेर युक्रेनविरुद्ध लड्ने रुसी भनाइ देखिन्छ ।
यद्यपि, रुसी सेनाले अहिलेसम्म युक्रेनको कुनै पनि प्रमुख शहर कब्जा गर्न सकेको छैन र एक किसिमले रुसी सेनाले युक्रेनबाट बाहिर निस्किँदै गर्न खोज्नुले युक्रेनी सेनाको प्रतिरोधलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । तर, पनि रुसले भ्रममा पार्न खोजेर नयाँ रणनीतिले फेरि आक्रमणको स्थिति बलियो बनाउन खोज्ने आशङ्का समेत रहेको छ ।